नवलपुर, मंसिर ८ —
“उद्योग, व्यापार, कृषि र पर्यटनको समृद्धि, समृद्ध र सुसंस्कृत नगरको उदय” भन्ने मूल नारासहित देवचुली महोत्सव–२०८२ पुस २५ गतेदेखि माघ ९ गतेसम्म देवचुली नगरपालिका–१५, प्रगतिनगरमा आयोजना हुने भएको छ।
महोत्सवको औपचारिक उद्घाटनअघि आज आयोजक संस्थाले पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रमको उद्देश्य, तयारी अवस्था र अपेक्षाबारे जानकारी दिएको हो। देवचुली उद्योग वाणिज्य संघको आयोजनामा तथा देवचुली नगरपालिका, नवलपुरको मुख्य सहयोगमा सञ्चालन हुने महोत्सवको प्रमुख प्रायोजक देबचुली मल्टिप्लेक्स प्रालि रहेको छ।
पत्रकार सम्मेलनमा बोल्दै देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुषालले महोत्सवबाट करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको बताए। साथै महोत्सवले स्थानीय अर्थतन्त्रलाई ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरे।
महोत्सवका मुख्य उद्देश्यआयोजकका अनुसार यो महोत्सव केवल मनोरञ्जनका लागि मात्र नभई निम्न उद्देश्यका साथ आयोजना गरिएको होःस्थानीय कृषि उत्पादनको बजारीकरण ,साना तथा घरेलु उद्योगको प्रवर्द्धन, पर्यटन क्षेत्रको प्रचार–प्रसार, स्थानीय सीप, कला र संस्कृतिको जगेर्ना, युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्ने, यसले देवचुली क्षेत्रको पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
कृषि तथा पशुपन्छीसम्बन्धी सामग्री, हस्तकला र घरेलु उद्योगका उत्पादन, लत्ताकपडा र फेशन,हस्तकला र घरेलु उद्योगका उत्पादन, विभिन्न खानाका परिकार, मेसिनरी तथा अटोमोबाइल सामग्री, बैंक, बीमा र सहकारी सेवा लगाएतका १५० वटा स्टल रहने अध्यक्ष भुसालले बताए ।
साथै महाेत्सबमा सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, परम्परागत लोक नृत्य र गीत–संगीत, विद्यालयस्तरीय नृत्य तथा गायन प्रतियोगिता
हुने आयाेजकले बताएकाे छ ।
आयोजकका अनुसार महोत्सव अवधिभर १ लाख देखि एकलाख ५० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ। यसले स्थानीय व्यापार–व्यवसाय प्रवर्द्धन हुनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ।
सुरक्षाका लागि प्रहरी, स्वयंसेवक र निजी सुरक्षा गार्ड परिचालन गरिनेछ भने ट्राफिक व्यवस्थापन, स्वास्थ्य शिविर, दमकल र सरसफाइको विशेष व्यवस्था मिलाइएको आयाेजककाे भनाई छ
प्रकाशित : २०८२ मंसिर ८ गते १६:३०
Facebook Comment