२०६२/६३ सालमा ज्ञानेन्द्र शाहको निरङ्कुश प्रत्यक्ष शासनविरुद्ध नेपाली जनताले गरेको २० दिन लामो ऐतिहासिक आन्दोलन अझै पनि हाम्रो सामु ताजा छ। उति बेला १९ जना सहिदको बलिदानले लोकतन्त्र, अधिकार र गणतन्त्रको बाटो खोल्यो। उनीहरूको बलिदान र रगतले देशमा जनताको शासन सम्भव बनायो। त्यो क्रान्तिले सन्देश दिएको थियो “जनताको आवाज भन्दा ठूलो शक्ति कुनै हुँदैन।”
तर विडम्बना के छ भने, सहिदको रगतबाट जन्मिएको यही गणतन्त्रमा आज फेरि अर्को रगत बगाइयो। त्यो पनि राज्यको दमनकै कारण। जहाँ २० दिनमा १९ जना सहिद चढेका थिए, त्यही गणतन्त्रका ठेकेदारहरूले १ दिनमै २० जना विद्यार्थीलाई कफनमा ढाकिदिए। अझै सयौं भर्भराउँदा युवा अस्पतालको सैयामा मृत्यु सङ्ग लडिरहेका छन । यो केवल संयोग होइन, यो त विडम्बनाको चरम र राजनीतिक पतनको नाङ्गो प्रमाण हो।

गणतन्त्र ल्याउने नाममा जनताको रगत प्रयोग गर्ने, तर गणतन्त्र टिकाउने नाममा जनताको आवाज दमन गर्ने, यही प्रवृत्तिले आजको शासक वर्गलाई निर्दयी बनाएको छ। परिणाम स्वरुप उनिहरु रगतको आहालमा डुबुल्की मार्न अभ्यस्त भएका छन । लोकतन्त्रका नाममा सत्तामा पुगेका नेताहरू सत्तामोह, भ्रष्टाचार र कुर्सीको खेलमा मात्र लिप्त भए। जनजीवन, युवाको भविष्य र नागरिकको आकांक्षा उनिहरुको लागि कहिल्यै प्राथमिकतामा परेन । परोस पनि कसरी उनिहरु मात्र आफ्नो कुकृत्य र काण्ड लुकाउन अनि छिपाउन मात्र केन्द्रित छन । आफू र आफ्नाको सुरक्षा नै उनिहरुका लागि अहम विषय बन्न पुग्यो ।
क्षम्य नै नहुने राज्यको बर्बरता देखेपछि
१. सहिदको रगतले ल्याएको व्यवस्था के फेरि रगतले नै रक्षा गर्नुपर्ने हो?
२. लोकतन्त्रका नाममा शासन गर्नेहरूले किन जनतामाथि गोलि प्रहार गर्छन्? लोकतन्त्र लोकलाइ रुवाउने तन्त्र कहिले हुन पुग्यो ?
३. सहिदका सपना, नागरिकका आकांक्षा र जनताको विश्वासलाई बारम्बार किन धोका दिइन्छ?
यो अवस्था केवल व्यवस्था र नेताको असफलता मात्र होइन, हाम्रो सामूहिक स्मृतिमा गरिएको घात पनि हो। सहिदको रगतलाई सम्झने हो भने, गणतन्त्रलाई केवल कुर्सी र ठेक्कापट्टाको खेल बन्न दिइनु हुँदैन। यो देशमा फेरि रगत बग्न नपरोस् भन्ने हो भने, शासक वर्गले सहिदका सपनालाई आत्मसात गर्नैपर्छ। खासगरी सहिदका रगतको मर्म बुझ्नैपर्छ वा भनौं राज्यको गोलिले सहिदका सपनालाई भ्वाङ पारिरहे अन्तिमपटक निर्णायक ढङ्गले सडक तात्नैपर्छ । घरी घरी यसो पनि लाग्थ्यो त्यो अन्तिमपटकको सुरुवात आजै थियो तर धेरै भर्भराउँदा युवाको लागि अन्तिम दिन पो बन्न पुग्यो ।

गणतन्त्रको साँचो मूल्य भनेको जनताको सुरक्षा, न्याय र अधिकार सुनिश्चित गर्नु हो। तर जब गणतन्त्रकै नाममा विद्यार्थी मर्छन्, जब नागरिक अभिभावक बिहिन बन्न पुग्छन,जब सहिदका सपना कुहिन्छन्, त्यसलाई गणतन्त्र होइन, जनताको विश्वासमाथि गरिएको धोका भन्नुपर्छ। धोका मात्र किन यो त सिधा सिधा बिश्वास माथी गरिएको खुलमखुल्ला बलात्कार हो ।
अब समय आएको छ –
१. सहिद र नयाँ सहिद बनेका युवाको बलिदानलाई बेकार बनाउन नदिने।
२. गणतन्त्रलाई केवल नाम मात्रको होइन, जनताको हितमा काम गर्ने व्यवस्था बनाउने।
अन्तिममा : सहिदको रगतले जन्मिएको गणतन्त्र फेरि रगतले नै लज्जित नहोस्।
प्रकाशित : २०८२ भदौ २३ गते २१:०९
Facebook Comment