३० घण्टाअघिदेखि राजमार्ग ठप्प हुँदा दाउन्नेमा ७७ किलोमिटरसम्म सवारीको लाम,आयोजना निर्देशक नै दाउन्नेको जाममा फसे

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार ५ गते १०:०९
३० घण्टाअघिदेखि राजमार्ग ठप्प हुँदा दाउन्नेमा ७७ किलोमिटरसम्म सवारीको लाम,आयोजना निर्देशक नै दाउन्नेको जाममा फसे

कावासोती । निर्माणाधीन बुटवल-नारायणगढ सडक हेर्ने आयोजनाका निर्देशक इन्जिनियर चुडाराज ढकाल आफै जाममा फसेका छन् ।

दाउन्नेमा भइरहेको कामको स्थलगत निरीक्षणमा बुधबार आएका उनी बर्दघाटको जाममा फसेका हुन् । ‘कावासोतीतिर आउनै सकिएन,’ ढकालले टेलिफोनमा भने, ‘आज राजमार्ग हेर्दै कावासोती-नारायणढ आउने कार्यक्रम तय भएको थियो । यति लामो जाममा सम्भव देखिएन ।’

पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने सडकको हिलोमा फसेका गाडी निकाल्न नसक्दा राजमार्गमा ७७ किलोमिटरसम्म सवारीको लाम लागेको छ । दाउन्नेमा ३० घण्टाअघिदेखि राजमार्ग ठप्प छ ।

दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी ३० घण्टादेखि निकाल्न सकिएको छैन । बुधबार साँझ राजमार्ग सुकेर एक्कैछिन एकतर्फी यातायात सञ्चालन भए पनि राति साढे ८ बजे परेको वर्षाका कारण फेरि हिलाम्य सडकमा गाडी फस्दा राजमार्ग अवरुद्ध भएको हो ।

विनयी खोलाको डाइभर्सन सडकमा बुधबार साँझ करिब २ घण्टा यातायात सञ्चालन हुन दिएर प्रहरीले रोकिदिएको छ ।

पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले बिहीबार बिहान सार्वजनिक सूचना जारी गरेर दाउन्नेमा राजमार्गको अवस्था खराब भएका कारण अन्य राजमार्गबाट आउजाउ गर्न अनुरोध गरिएको बताए ।

प्रकाशित : २०८२ असार ५ गते १०:०९

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI