हिलोमा गाडी फसेपछि महेन्द्र राजमार्ग अवरुद्ध, हिजै बनाएको डाइभर्सन पनि बगायो

NAWALPUR TIMES

हिलोमा गाडी फसेपछि महेन्द्र राजमार्ग अवरुद्ध, हिजै बनाएको डाइभर्सन पनि बगायो

कावासोती । मंगलबार रातभर परेको वर्षापछि हिलाम्य भएर दाउन्नेमा राजमार्ग अवरुद्ध भएको छ । देशकै लाइफलाइन मानिने महेन्द्र राजमार्गको यो खण्डमा सामान्य वर्षा हुँदा पनि यात्रुले सास्ती व्यहोरिरहेका छन् ।

ईलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिरभन्दा पूर्वतर्फका तीनवटा निर्माणधीन कल्भर्ट नजिकमा मालबहाक गाडी फसेर गएरातिदेखि नै राजमार्ग अवरुद्ध छ ।

मंगलबार राति १ बजेबाट रोकिएका मालबहाक गाडी भने अहिलेसम्म गन्तव्यतर्फ जान सकेका छैनन् । साना गाडी सञ्चालन गर्न खोजिए पनि हिलोका कारण समस्या भइरहेको उनले बताए ।

राजमार्गमा हिलैहिलो भएका कारण गाडीहरु निस्कनै नसकेको तिमिल्सिनाले बताए । ‘हिलोका कारण उकालो( बुटवलतर्फ ) गाडी जान नसक्ने भएका कारण पश्चिमबाट पूर्व जाने गाडीका लागि रुट मिलाउँदै छु,’ उनले भने ।

१४ किलोमिटर खण्ड पर्ने दाउन्नेमा राजमार्ग निर्माणको जिम्मा लिएको ठेकेदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले समयमै काम नगर्दा राजमार्गमा बनाइएका खाल्डाहरु अहिले समस्या बनेका छन् । राजमार्ग फराकिलो पार्ने ठेक्का पाएको कम्पनीले दाउन्नेमा तीव्र गतिमा काम नगर्दा वर्षाको समयमा गाडीहरु फस्ने गरेका छन् ।

 

डाइभर्सन बगायो

६ महिनाअघि दुम्कीवासस्थित बिनयी खोलाको फलामे पुल भाँच्चिएका कारण निर्माण गरिएको डाइभर्सन सडक गएराति फेरि बगाएको छ । गत ३ साताको अवधिमा डाइभर्सन बगाएको यो चौथो पटक हो ।‘हिजो साँझ डाइभर्सन निर्माण गरिएको हो, रातिको बाढीले फेरि बगायो,’ प्रहरी निरीक्षक तिमिल्सिनाले भने, ‘खोलामा बाढी आउनासाथ कच्चि सडक बगाइहाल्छ ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology