भासिएको गिरुबारी खोलाको पुल वर्षा अगाडीनै बन्ने

NAWALPUR TIMES

भासिएको गिरुबारी खोलाको पुल वर्षा अगाडीनै बन्ने

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारामा सोमबार राति ओभरलोड सवारीका कारण भासिएको गिरुबारी खोलाको पुल वर्षाअघि नै मर्मत गरिने भएको छ।

सडक विभागले स्थलगत अनुगमन गरेर पुल मर्मतका लागि १५ दिन लाग्ने भएकाले तत्कालै काम सुरु गरेर वर्षाअघि नै यातायात सञ्चालनको तयारी गरेको हो।

चोरमाराबाट भित्री सडक मार्ग प्रयोग गरेर अहिले यातायात सञ्चालन भए पनि वर्षा सुरु भएपछि खोलाको सतह बढ्ने भएकाले यातायात सञ्चालन गर्न नसकिने देखिएपछि मर्मतको काम तत्काल अगाडि बढाउने तयारी भएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको पुल महाशाखाका प्रमुख ललिजन खनालले महाशाखाका प्राविधिक टोलीले पुल भासिएको दिनमै स्थलगत अनुगमन गरेर मर्मतको योजना बनाएको जानकारी दिएका छन्।

उनले भने, ‘पुल मर्मत तत्कालै सुरु गर्ने योजना रहेको छ। वर्षा अघि नै मर्मत गरेर यातायात सञ्चालन हुनेछ। तर पुल मर्मतले मात्र समस्या समाधान हुँदैन, सबैभन्दा पहिले ओभरलोड सवारीलाई नियमन गर्नुपर्ने देखिएको छ। ओभरलोडका कारण पुलहरूमा क्षति पुग्दै आएको छ।’

नवलपुरको मध्यबिन्दु नगरपालिका–७ चोरमारास्थित गिरुबारी खोलामा रहेको पुल सोमबार राति म.प्र. ०३ क ३१६३ नम्बरको १८ चक्के टेलरले सिमेन्टका लागि कच्चा पदार्थ ढुवानी गर्ने क्रममा क्षति पुगेको थियो।

पुल भासिएको स्थानमा डाइभर्सन निर्माण गर्न नमिलेकाले चोरमाराबाट उत्तर तथा दक्षिणतर्फ रहेको भित्री सडक प्रयोग गरेर डाइभर्सन बनाइएको छ।

बुटवलतर्फ जाने सवारीसाधनलाई चोरमारा बजारबाट १ किलोमिटर उत्तरतर्फ सञ्चालन गरिएको छ भने नारायणगढतर्फ आउने सवारीसाधनलाई चोरमारा बजारबाट दक्षिणतर्फ रानीटार हुँदै करिब ५ किलोमिटर भित्री सडक पार गरेर राजमार्गमा ल्याइने व्यवस्था मिलाइएको छ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology