एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज सेन्टरको २२औँ वार्षिकोत्सव कावासोतीमा सामाजिक कार्य गर्दै मनाइयो

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन २४ गते १०:१९
एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज सेन्टरको २२औँ वार्षिकोत्सव कावासोतीमा सामाजिक कार्य गर्दै मनाइयो

कावासोती, २४  साउन —
विदेश अध्ययन र भिसा परामर्श सेवामा सक्रिय एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज सेन्टरले आफ्नो २२औँ वार्षिकोत्सव देशभर विविध सामाजिक र जनचेतनामूलक कार्यक्रमसहित मनाएको छ। यसै क्रममा कावासोती शाखाले शनिबार सडक सुरक्षा र विद्यार्थी सुरक्षामा जोड दिने उद्देश्यसहित विभिन्न सामाजिक कार्य सम्पन्न गरेको हो।

वार्षिकोत्सवको अवसरमा कावासोती शाखाले सार्वजनिक बस तथा अन्य यातायात साधनमा सडक सुरक्षा सम्बन्धी सन्देशयुक्त स्टिकर टाँस्ने, विद्यालय अगाडि स्पष्ट देखिने गरी जेब्रा क्रस निर्माण गर्ने, र स्थानीय बासिन्दा तथा विद्यार्थीहरूलाई सडक प्रयोगमा सतर्कता अपनाउन अभिप्रेरित गर्ने अभियान सञ्चालन गरेको शाखा म्यानेजर कृष्ण भुसालले जानकारी दिए।

Messenger creation C0459F43 8587 4DF0 A89D 485517E0457F
उनका अनुसार, “विदेशमा अध्ययनको सपना देख्ने विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा दिने मात्र होइन, हामीले हाम्रो समुदायमा पनि योगदान पुर्‍याउनुपर्छ भन्ने मान्यता राख्छौं। सडक सुरक्षा र विद्यार्थीहरूको विद्यालय–घर यात्रामा सुरक्षा सुनिश्चित गर्न यो कार्यले प्रत्यक्ष लाभ पुग्नेछ भन्ने हाम्रो विश्वास हो।”

ब्यवसाय बिकास निर्देशक प्रिन्स राज दवाडीले संस्थाले स्थापना भएदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको स्मरण गर्दै भने, “हामी केवल व्यवसायिक लक्ष्यका लागि मात्र होइन, सामाजिक उत्तरदायित्व पूरा गर्न पनि यहाँ छौं। आजको कार्यक्रमले सडक सुरक्षा, विशेषगरी विद्यालय वरिपरिको क्षेत्रमा विद्यार्थीहरूको सुरक्षामा प्रत्यक्ष योगदान पुर्‍याउनेछ। आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने हाम्रो योजना छ।”

कावासोती नगरपालिका–३ का वडा अध्यक्ष डोरमान गिरिले यस्तो जनचेतनामूलक कार्यको प्रशंसा गर्दै भने, “आज निर्माण गरिएको जेब्रा क्रस र टाँसिएका स्टिकरहरूले चालक, यात्री र विद्यार्थी सबैलाई सचेत गराउनेछ। यसले हाम्रो नगरलाई अझ सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। निजी क्षेत्रको यस्तो सहयोगले नगरपालिकाको योजनालाई पनि बल मिल्छ।”

वडा नं. २ का वडा अध्यक्ष शिव पाण्डेले विद्यालय क्षेत्रको सुरक्षामा जेब्रा क्रसको आवश्यकता उच्च रहेको उल्लेख गर्दै भने, “विद्यार्थीहरू सडक काट्दा हुने जोखिम कम गर्न जेब्रा क्रस अति आवश्यक छ। नगरपालिका र निजी संस्थाबीचको सहकार्यले मात्र सुरक्षित वातावरण निर्माण गर्न सकिन्छ। एक्स्पर्ट एजुकेसनको यो पहल प्रशंसनीय छ, र यसलाई अन्य संस्थाले पनि अनुकरण गर्नुपर्छ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जाराले सडक दुर्घटनाको मुख्य कारण लापरवाही र चेतनाको कमी रहेको बताउँदै भने, “सडक सुरक्षा जनचेतना फैलाउन प्रहरी मात्रले पर्याप्त हुँदैन। यस्ता अभियानमा निजी क्षेत्रको सहभागिता आवश्यक छ। एक्स्पर्ट एजुकेसनले गरेको आजको कार्यक्रम उदाहरणीय छ। यसले सडक प्रयोगकर्तामा सतर्कता र जिम्मेवारीको भावना जगाउनेछ।”

कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी, शिक्षक, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। सहभागीहरूले सडक सुरक्षा र सामाजिक उत्तरदायित्वका अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित : २०८२ साउन २४ गते १०:१९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI