मध्यवर्तीका उपभोक्ता समितिको पदावधि साउन १४ बाट सकिदै, निर्वाचनको तयारीमा निकुञ्ज

सन्जय भट्टराई
प्रकाशित : २०८२ साउन १० गते २०:५७
मध्यवर्तीका उपभोक्ता समितिको पदावधि साउन १४ बाट सकिदै, निर्वाचनको तयारीमा निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय

कावासोती । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गतका उपभोक्ता समितिहरुको पदावधि यहि साउन १४ गते बाट सकिदै छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका २२ वटा उपभोक्ता समितिहरुको पदावधि साउन १४ मा सकिने भए सँगै निकुञ्जले समितिमा नयाँ नेतृत्व चयन साउन महिना भित्रै सम्पन्न गर्ने जनाएको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तका अनुसार साउन महिना भित्र सबै उपभोक्ता समिती चयन हुने छन । सबै उपभोक्ता समितिमा साउन महिना भित्रै नयाँ नेतृत्व चयनकाका लागि प्रक्रिया अगाडी बढिसकेको डा.पन्तले बताए ।

यता नवलपुरमा पर्ने मध्यवर्ती क्षेत्र अन्तर्गतका ८ वटा उपभोक्ता समितिहरुले पनि नयाँ नेतृत्व चयन प्रक्रियालाई अगाडी बढाएका छ्न । यहाँको अमलटारी उपभोक्ता समिति र नन्दभाउजु उपभोक्ता समितिले निर्वाचनको मिति समेत प्रस्ताव  गरिसकेका छ्न । अमलटारीमा साउन १६ र नन्दभाउजुमा साउन १७ लाई निर्वाचनको मिति निकुञ्जलाई प्रस्तावित गरिएको छ ।

त्यसै गरि यहाँको शिखौली, लामिचौर, शिशवार, गोसाईबाबा, दाउन्ने देविमा ईलाका निर्वाचनको अगाडी सम्पन्न गर्नु पर्ने समूह गठनको काम अन्तिम चरणमा पुगेको जनाएको छन । शिख्रौली उपभोक्ता समितिमा एउटा ईलाका पुरै बाकी रहेको र अन्य उपभोक्ता समितीमा ईलाका गठनलाई आवश्यक बहुमत पुगेको छ । लामिचौर, शिशवार, गोसाईबाबा, दाउन्ने देवि उपभोक्ता समितिमा समिति चयन अगाडी सम्पन्न गरिने ईलाका निर्वाचनको लागी गणपुरक संख्या पुगेको भए पनि सबै समुहबाट प्रतिनिधित्व गराउनका लागि निर्वाचनको मिति तोकिसकिएको छैन ।

त्रिवेणी उपभोक्ता समितिमा भने एउटा पनि समूह गठन भएको छैन । जम्मा ४६ वटा समुह रहेको यो उपभोक्ता समितिले शनिबार देखि समुह गठनको कामलाई अगाडिको बढाउने तयारी गरिएको त्रिवेणी उपभोक्ता समितिका अध्यक्ष धिरज थापाले बताए ।

मध्यवर्ती क्षेत्र अन्तर्गतका उपभोक्ता समितिहरु चयन गर्नका लागि तीन चरणमा निर्वाचन प्रक्रिया सन्चालन गर्नु पर्ने हुन्छ । एउटा उपभोक्ता समितिलाई ९ वटा ईलाकामा विभाजन गरिएको छ । हरेक ईलाकामा घरधुरीको आधारमा महिला र पुरुष समूह गठन गरिन्छ । ईलाका भरका महिला र पुरुष समुहले ईलाका प्रतिनिधि चयन गर्छ्न । ईलाका प्रतिनिधि चयन पछि ९ जना ईलाका सदस्यहरु बिचमा निर्वाचन भएर उपभोक्ता समिति गठन गरिन्छ । ईलाका प्रतिनिधि र समिति चयन एकै दिन सम्पन्न हुन्छ्न ।

यस पटकको मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिको निर्वाचनलाई स्थानीयस्तर मा समेत निकै महत्त्वका हेरिएको छ । निकुञ्ज ऐन, निकुञ्ज नियमावली र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावलीले स्थानीय विकासमा अवरोध र अप्ठ्यारो पारेको, मध्यवर्तीका जनताको जनजिविकामा ऐन कानुन र नियमावलीले समस्या सृजना गरेको भन्दै मध्यवर्ती खारेजीको मुद्दा चर्किएको बेला हुन निर्वाचन हुन लागेको हो ।

मध्यवर्ती क्षेत्रमा यतिबेला संरक्षण सँगसँगै चितवन राष्ट्रिय निकुञ्ज र यो सँग जोडिएका ऐन, कानुन र नियमावली संशोधनको मुद्दालाई बोक्ने नेतृत्व आउनु पर्ने कुरामा समुह गठन देखि आम नागरिकले जोड दिदै आएका छ्न ।

प्रकाशित : २०८२ साउन १० गते २०:५७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI