नवलपुरको दुर्गम क्षेत्रमा नेपाल टेलिकमकाे सेवा विस्तार, स्थानीयवासी हर्षित

NAWALPUR TIMES

नवलपुरको दुर्गम क्षेत्रमा नेपाल टेलिकमकाे सेवा विस्तार, स्थानीयवासी हर्षित

कावासोती । नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ५ का विभिन्न दुर्गम बस्तीहरूमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्।

लामो समयदेखि मोबाइल तथा इन्टरनेट सेवाबाट वञ्चित रहेका लाले, बाह्रबिसे, चिडिया, तिनदुमै, खाप्चा, खुम्बारी, कुसुण्डे, सपाङ्दी, गौरीझोक देउराली तथा साविक धुर्कोट क्षेत्रका बासिन्दाहरू अब आधुनिक सञ्चार सुविधाबाट लाभान्वित हुने भएका हुन

लामो प्रतीक्षा पछि स्थानीयवासीले दुरसञ्चार सेवाको सहज पहुँच पाउने भएका छन्। दूरसञ्चार सेवा अभावका कारण दैनिक जीवनमा विभिन्न कठिनाइ झेल्दै आएका यहाँका बासिन्दाले अब भने सहज रूपमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन्।

स्थानीय दीपक जिसीका अनुसार, सञ्चार सेवाको अभावले विद्यार्थी, व्यवसायी, स्वास्थ्यकर्मी तथा सरकारी निकायलाई ठूलो समस्या थियो। “अब भने केही सहज हुने भयो,” उनले खुशी व्यक्त गर्दै भने।

अब भने, नयाँ टावर सञ्चालनमा आएसँगै यस क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क सहज रूपमा उपलब्ध हुने भएको छ। सञ्चार सुविधाको विस्तारले विशेष गरी स्वास्थ्य आपत्कालीन सेवा, विपद् व्यवस्थापन तथा सरकारी सेवा प्रवाहमा सहजता आउने विश्वास स्थानियले गरेका छन ।

नवलपुर-२ का सांसद विष्णुकुमार कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा आधारभूत सुविधा विस्तारलाई प्राथमिकता दिँदै सडक, बिजुली, खानेपानी जस्ता पूर्वाधार विकासलाई अघि बढाइरहेकाे बताए । “सबै नागरिकलाई सञ्चार सुविधामा पहुँच पुर्याउने मेरो प्रतिबद्धता छ। अब यहाँका जनताले सहज रूपमा मोबाइल तथा इन्टरनेट सुविधा उपयोग गर्न सक्नेछन्, जसले जनजीवनमा सकारात्मक प्रभाव पार्नेछ,” उनले भने।

संसद कार्कीका अनुसार आगामी दिनमा प्रविधि र सेवा विस्तार गर्दै फोरजी तथा उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराइनेछ। साथै, ‘स्मार्ट गाउँ’ को अवधारणा अनुरूप सूचना प्रविधिको उपयोग गर्दै समग्र विकासलाई तीव्रता दिने योजनासमेत रहेको उनले  सुनाए ।

स्थानीयवासीले लामो प्रतीक्षापछि सञ्चार सुविधामा भएको प्रगतिले  आफ्नो जीवनमा नयाँ सम्भावना र अवसरको ढोका खोल्ने विश्वास व्यक्त गरेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology