सन्चालनमा आएन झोलुङ्गे पुल, वाल्मीकि आश्रम पुग्न अझै पनि भारतकै बाटो

सन्जय भट्टराई
प्रकाशित : २०८२ भदौ १८ गते १९:४१
सन्चालनमा आएन झोलुङ्गे पुल, वाल्मीकि आश्रम पुग्न अझै पनि भारतकै बाटो

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि नवलपुरको त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै पनि हटेको छैन ।

त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्नका लागि दुई वर्षमा निर्माण सक्नेगरी २०७० सालको असार ३० गते सम्झौता गरिए पनि नौ वर्षपछि २०७९ को साउनमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको थियो । झोलुङ्गे पुल बनेको तीन वर्ष बितिसक्दा समेत पुल सन्चालनमा आउन सकेको छैन । यो पुल सन्चालनमा न आउदाँ वर्षौं देखि वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता अझै हटन सकेको छैन ।

पुलको निर्माण मात्रै होइन पुल देखि वाल्मीकि आश्रम सम्म पुग्ने पैदल मार्ग समेत निर्माण सम्पन्न भएको छ । तर वाल्मीकि आश्रम चितवन राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले पुल बाट निकुञ्ज भित्रको बाटो हुदै वाल्मीकि आश्रम सम्म पुग्ने बाटो प्रयोग गर्ने अनुमती चितवन राष्ट्रिय निकुञ्जले नदिएकाले पुल सन्चालनमा आउन नसकेको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ का अध्यक्ष नुरेन्द्र शाहले बताए । “पुलको निर्माण सम्पन्न भएको ३ वर्ष भयो, अघिल्लो आर्थिक वर्षमा बाग्मती प्रदेशको सहयोगमा पदमार्गको स्तरोन्नति, पदमार्गमा रेलिङ र सिढी समेत बन्यो तर बाटो प्रयोग गर्ने अनुमती निकुञ्जबाट नपाउदा पुल सन्चालनमा आउन सकेको छैन”, शाहले भने । निकुञ्जको आग्रह अनुसार पुलको त्रिवेणी तर्फको प्रवेश द्वारमा निकुञ्ज कर्मचारी र नेपाली सेनाका लागि सुरक्षा चौकी राख्न भवन समेत तयार भै सकेको अध्यक्ष शाहले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले उक्त भुभाग निकुञ्जको कोर एरियामा पर्ने भएकाले पुल र पदमार्गको प्रयोगको सम्बन्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणको विभागले नै अनुमती दिनु पर्ने बताउछ्न । “पुल निर्माण सम्पन्न भएको तथा पदमार्ग बनेको जानकारी आएको छ, निकुञ्ज, नेपाली सेना र अन्य सरोकारवाला सहित अनुगमन गरेर छिट्टै नै विभागमा सिफारिस गर्छौ”, पन्तले भने ।

पुल हुँदै वाल्मीकि आश्रम पुग्ने करिब ३ किलोमीटर लामो बाटो निकुञ्जको कोर एरियामा पर्ने तथा यो क्षेत्र भारतको वाल्मीकि टाईगर रिजर्भ सँग जोडिएकाले यात्रुहरुको सुरक्षाको विषय पनि महत्त्वपूर्ण भएको पन्तले बताए । “पुलको प्रवेश बिन्दुमा नेपाली सेनाको चेक पोईन्ट राख्ने लगाएतका अन्य सुरक्षा सम्बन्धि कामहरु पनि सम्पन्न गर्नु पर्ने हुन्छ”, पन्तले भने, “बाटो प्रयोग गर्ने यात्रुको सुरक्षा सँगसँगै मानविय व्यवहारले वन्यजन्तुलाई असरलाई पुग्न नदिन आवश्यक मापदण्ड बनाउनु पर्ने हुन्छ ।”

नारायणी नदीपारि वाल्मीकि आश्रम र वारि प्रसिद्ध धार्मिकस्थल त्रिवेणीधाम रहेको छ । दुई धार्मिकस्थललाई जोड्ने महत्त्वपूर्ण मानिएको पुल सञ्चालनमा आउने हो भने पर्यटकको थप आगमन बढ्ने त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्दे्रश्वर भुसालले बताए । पुल सञ्चालनमा आए वाल्मीकि आश्रम आउने पर्यटक सहजै त्रिवेणीधाम र त्रिवेणीधाममा आएका पर्यटक सहजै वाल्मीकि आश्रम पुग्न सक्ने उनको भनाइ छ  । दुवै धार्मिक क्षेत्रको विकासका लागि झोलुङ्गे पुलले सहयोग पुर्याउने भएकाले यसको सञ्चालनमा सरोकारवाला पक्षले जोड दिनुपर्ने उनको भनाइ छ ।

वाल्मीकिले संस्कृत रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मे हुर्केको विश्वास गरिने चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेका छन् । बाटोमा पर्ने वाल्मीकि टाइगर रिजर्भ वनपोस्टमा टिकट नै काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई सहजै आश्रममा पुग्न कठिन हुने गरेको छ ।

प्रकाशित : २०८२ भदौ १८ गते १९:४१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI