स्ववियु निर्वाचनमा विद्यार्थीको जिम्मेवारी

रमेश बस्ताकोटी
प्रकाशित : २०८१ चैत ३ गते १७:५१
स्ववियु निर्वाचनमा विद्यार्थीको जिम्मेवारी

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति तोकिएको छ। अन्य कुनै उथलपुथल नभए तोकिएको मितिमा अधिकांश क्याम्पसमा स्ववियुको निर्वाचन हुने निश्चित छ। निर्वाचनका लागि देशभरका अधिकांश क्याम्पसले तालिका समेत प्रकाशन गरिसकेका छन्। यस्तो अवस्थामा स्ववियु निर्वाचनको इतिहास, महत्व, उद्देश्य र यसका प्रभावका बारेमा विद्यार्थीले बुझ्न आवश्यक छ। जुन निर्वाचनमा हामी भाग लिन जाँदै छौं, त्यसका बारेमा केही नबुझी अन्धाधुन्द रूपमा निर्वाचनमा होमिनु पक्कै राम्रो हुँदैन।

स्ववियुको इतिहास : नेपालमा विद्यार्थीहरूको शैक्षिक र सामाजिक जीवनमा महत्वपूर्ण स्थान राख्ने एक महत्वपूर्ण प्रक्रिया हो स्ववियु निर्वाचन। जसमा सहभागी हुनुअघि विद्यार्थीले यसको इतिहासबारे जान्न आवश्यक छ। नेपालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सबैभन्दा पहिले २०१८ सालमा भएको थियो। त्रिभुवन विश्वविद्यालयमा भएको यो निर्वाचनबाट नवराज सुवेदी सभापतिमा र दमननाथ ढुंगाना उपसभापतिमा निर्वाचित भएका थिए। तर, सभापतिमा निर्वाचित भएका सुवेदी तत्कालीन राजा महेन्द्रले २०१७ सालमा गरेको ‘कु’ को समर्थन गर्दै राजाको पक्षमा वकालत गर्न थाले। त्यसपछि उनलाई विद्यार्थी आन्दोलनमा साथ नदिएको र निर्दलीय व्यवस्थामा प्रवेश गरेको भन्दै विशेष साधारणसभाबाट हटाइयो। उपसभापति ढुंगानालाई सभापति बनाइयो।

त्यतिबेला विद्यार्थीहरूले गरेको निरन्तरको संघर्षपछि तत्कालीन राजा महेन्द्रले विद्यार्थीको हकहितका लागि काम गर्न विश्वविद्यालयमा स्ववियु खोल्न अनुमति दिएका थिए। आवरणमा विद्यार्थी हकहितका लागि काम गर्ने भनिए पनि स्ववियु र तिनका नेताहरूको काम निर्दलीय पञ्चायती व्यवस्थाको विरोध नै थियो। साथै, त्यसबारेमा विद्यार्थीहरूलाई सुसुचित गर्ने नै थियो। २०१८ सालपछि २०२०, २०२१, २०२३, २०२४, २०२५ र २०२७, २०२८ र २०२९ सालमा स्ववियु निर्वाचन भयो। २०३० सालमा स्ववियुमाथि प्रतिबन्ध लगाइयो। त्यसपछि एकैपटक २०३६ सालमा भएको जनमत संग्रहको घोषणासँगै स्ववियुमाथिको प्रतिबन्ध फुकुवा भयो।

जनमत संग्रहपछि २०३६ सालमा त्रिविमा स्ववियु निर्वाचन भयो। फेरि विद्यार्थीले निर्वाधरूपमा विश्वविद्यालय तथा कलेजहरूमा स्वतन्त्र रूपमा आफ्ना गतिविधि गर्न थाले। प्रत्येक २-२ वर्षमा स्ववियु निर्वाचन गर्नेगरी ऐन संशोधन भयो। सोही आधारमा हरेक २-२ वर्षमा स्ववियु निर्वाचन हुन थाल्यो। २०३६ पछि २०४०, २०४१, २०४३, २०४५ सालमा स्ववियु निर्वाचन भयो। त्यसपछि ४ वर्षपछि २०४९ सालमा मात्र निर्वाचन भयो। अनि २०५१, २०५३, २०५५, २०५७, २०६०, २०६२ र २०६५ सालमा निर्वाचन भयो। २०६५ सालपछि आठ वर्ष स्ववियु निर्वाचन हुन सकेन। एकैपटक २०७३ सालमा स्ववियु निर्वाचन भयो। तर, केही सीमित कलेजहरूमा मात्र स्ववियु निर्वाचन भयो। ६ वर्षको अन्तरालपछि २०७९ मा निर्वाचन भयो। स्ववियु गर्विलो इतिहास बोकेको संस्था हो। यसले ठूलाठूला राजनीतिक परिवर्तनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। विद्यार्थी हकहित र अधिकार स्थापित गर्न स्ववियु निरन्तर लडेको इतिहास छ।

स्ववियु निर्वाचनको महत्व : स्ववियुको निर्वाचन विद्यार्थीका लागि महत्वपूर्ण छ। यसको सदुपयोग गर्न सक्ने हो भने उनीहरूको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। जसले विद्यार्थीलाई लोकतान्त्रिक प्रक्रियामा समावेश गर्छ, जसबाट विश्वविद्यालय र क्याम्पस तहबाटै लोतान्त्रिक अभ्यास गर्न विद्यार्थी अभ्यस्त हुन्छन्। अहिलेका विद्यार्थी भनेकै भोलिका यो मुलुक हाँक्ने नेता हुन्। लोकतान्त्रिक अभ्यासमा अभ्यस्त गर्दै लैजाँदा यसले भोलिको समृद्ध र लोकतान्त्रिक मुलुक बनाउन, देश विकासको खाका तयार गर्न र देशलाई एउटा लोकतान्त्रिक अभ्यासबाट अगाडि बढाउन सहयोग पुग्छ। यसकारण पनि यसको महत्व निकै छ। त्यसैले स्ववियु निर्वाचन लोकतान्त्रिक अभ्यासको आधारस्तम्भ हो।

नेतृत्व क्षमता र हाम्रा नेताहरूमा नेतृत्व गर्न सक्ने क्षमता नै भएन भनेर गुनासो गरिरहेका हुन्छौं। तर, वास्तवमा स्ववियु निर्वाचनले भोलिका देश हाँक्ने भविष्यका नेताहरूमा नेतृत्व क्षमता विकास गर्न निकै सहयोग गरेको हुन्छ। क्याम्पस तहदेखि नै लोकतान्त्रिक विधिबाट निर्वाचनमा भाग लिइरहँदा त्यसले उनीहरूमा नेतृत्व क्षमताको विकास पनि गर्दै लैजान्छ।

यसले तिनको आर्थिक, सामाजिक, शैक्षिक एवं राजनीतिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। भोलिका दिनमा सफल बन्न सहयोग पुर्‍याउने कुरामा पनि दुईमत छैन। स्ववियुको निर्वाचनले विद्यार्थीमा सामाजिक तथा शैक्षिक जिम्मेवारीको समेत बोध गराउँछ। म नेतृत्वकर्ता हुँ र मैले सामाजिक र शैक्षिक जिम्मेवारी पनि सँगसँगै अगाडि बढाउनु पर्छ भन्ने भावना विद्यार्थीहरूमा आउनुपर्छ। त्यो भनेको सम्वृद्ध समाज निर्माणका लागि टेवा पुग्नु हो। अनिमात्र देश सम्वृद्ध बनाउन सहयोग पुग्छ। स्ववियु निर्वाचन नेतृत्व पैदा गर्ने नर्सरी पनि हो। यति धेरै महत्व बोकेको स्ववियु निर्वाचनलाई हामीले ख्यालख्यालमा लिनुहुँदैन। यसको भरपुर उपयोग गर्नुपर्छ। यदि यसको महत्वलाई नबुझी यसको दुरुपयोग गरियो भने यसले दिने परिणाम नकारात्मक आउन सक्छ। विद्यार्थीले यो क्षणमा यो कुराको निकै गम्भीरताका साथ ख्याल गर्न जरुरी छ।

स्ववियु निर्वाचनका सकारात्मक पक्ष : कतिपयले स्ववियु विद्यार्थीलाई बिगार्ने संस्था बन्दै गएको भनेर यसको कडा आलोचना पनि गरेको सुनिन्छ। अझ त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा छोराछोरी पढाउँदा राजनीतिमा लाग्छन् र बिग्रन्छन् भन्ने सोच कतिपय अभिभावकमा पाइन्छ। यसले स्ववियुप्रति केही नकारात्मक सोचहरू विकास नभएका होइनन् तर स्ववियुका कतिपय सकारात्मक पाटाहरू छन्, जसलाई हामी कम चर्चा गर्छौं।

स्ववियु निर्वाचनले विद्यार्थीलाई नेतृत्व गर्ने अवसर दिन्छ, नेतृत्वको अभ्यास गराउँछ र नेतृत्व विकासमा सहयोग पुर्‍याउँछ। जसका कारण भविष्यमा विद्यार्थीहरूको व्यक्तिगत र सामाजिक जीवनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। स्ववियु निर्वाचनले विद्यार्थीमा राजनीतिक चेतको विकास गर्न सहयोग पुर्‍याउँछ। राजनीतिक चेतना भएका सवल विद्यार्थी भोलिका यो देश हाँक्ने नेता बन्दा त्यसको समग्र फाइदा देशलाई हुन्छ। लोकतन्त्रप्रतिको विद्यार्थीहरूको बुझाइ, आफ्नो अधिकारप्रतिको बुझाइलाई परिष्कृत बनाउन स्ववियु क्याम्पस तहको सहयोगी संस्था हो। स्ववियु सामूहिक रूपमा काम गर्ने संस्था हो।

स्ववियुले विद्यार्थीमा सामूहिकताको भावना जागृत गराउन पनि महत्वपूर्ण भूमिका खेल्छ। यसले विद्यार्थीहरूलाई एकताबद्ध गर्दै आफ्नो हकहित र अधिकार प्राप्तिका लागि बोल्न सिकाउँछ। स्ववियुले कलेज प्रशासन र विद्यार्थीबीच पुलको काम गर्छ। जसले प्राध्यापक, कलेज प्रशासन र विद्यार्थीबीच सुमधुर सम्बन्ध राखिराख्छ। शिक्षा प्रणालीमा हुने विविध विकृतिबारे स्ववियुले बोल्ने गर्छ, जसका कारण शिक्षा प्रणालीलाई सुधार गर्न स्ववियुले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।

स्ववियु निर्वाचनका नकारात्मक पक्ष : स्ववियु आफैंमा विद्यार्थीका लागि निकै उपयोगी संस्था हो तर हाम्रा कतिपय क्रियाकलापका कारण स्ववियु निर्वाचन कहिलेकाँही बदनाम हुनजान्छ। यस्ता कुरालाई ध्यानमा राखेर सचेत विद्यार्थीहरूले यस्ता कमजोरी हटाउन लागि पर्नु आजको आवश्यकता हो। स्ववियु राजनीतिक हस्तक्षेपमुक्त हुन्छ भनियो भने त्यो हाँस्यास्पद हुन्छ। किनभने अहिले विभिन्न राजनीतिक दलका भ्रातृसंस्थाहरूले स्ववियु निर्वाचनमा भाग लिन्छन्। स्ववियुको सुरुआतदेखि नै यो अभ्यास हुँदै आएको छ। तर, पनि यसलाई राजनीतिक दलहरूबाट कमभन्दा कम हस्तक्षेप हुने अवस्था सिर्जना गर्नु स्वयं विद्यार्थीकै दायित्व हो।

कहिलेकाहीँ स्ववियु निर्वाचनमा राजनीतिक दलहरूको बढी हस्तक्षेप हुन्छ, जसले चुनावलाई प्रभावित गर्न सक्छ। दलहरू बढी नै हस्तक्षेपकारी बन्दै गए भने यसले स्ववियुको गरिमा, महत्व र उद्देश्यलाई ओझेलमा पार्छ। जसकारण स्ववियुको निर्वाचन नै प्रभावित हुने र बदनाम हुने स्थिति पैदा हुन्छ। यसबाट जुनसुकै दलमा आबद्ध भए पनि विद्यार्थीहरू नै सचेत भएर स्ववियुको गरिमा जोगाउन लागिपर्ने हो। विद्यार्थी संगठनहरूले यो बेलामा दलभन्दा पनि विद्यार्थीको भावना बुझेर अघि बढ्न आवश्यक हुन्छ। त्यसो गर्न सकियो भने विद्यार्थी आन्दोलनबाट प्राप्त यो उपलब्धि जोगाउन सकिन्छ।

विद्यार्थी संगठनहरू दलकै बोलीमा बोली मिलाउन थाल्ने हो भने यो उपलब्धि गुम्न सक्छ। माउपार्टीहरूबाट हस्तक्षेप हैन, सहजीकरणका लागि आह्वान विद्यार्थीसँग संगठनले गर्न आवश्यक छ। स्ववियु निर्वाचन हिंसात्मक र खर्चिलो पनि बन्दै गएको छ। यस्ता नकारात्मक पाटाहरूलाई चिर्दै अघि बढ्ने दायित्व विद्यार्थीहरूकै हो। क्याम्पसहरूमा हुने झडपले संस्थाकै गरिमालाई ओझेल पार्ने हो। निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र धाँदलीरहित बनाएर सफल पार्ने दायित्व पनि विद्यार्थीकै हो। आफ्नो अधिकारको प्रयोग गर्दा अरू कसैको अधिकार हनन नगर्ने कि ? स्ववियुको त्यो गर्विलो इतिहासको साख जोगाउने जिम्मेवारी वर्तमानका विद्यार्थीहरूकै हो। सबैले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने असम्भव केही पनि छैन। तसर्थ आगामी स्ववियु निर्वाचनलाई मर्यादत बनाउँदै सफल पारौं।

प्रकाशित : २०८१ चैत ३ गते १७:५१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI