कावासोती । महाभारत पर्वतशृङ्खला अवस्थित देवचुली डाँडाको शिखरमा स्थापित श्री शिरथान कुवाँरवर्ती (तीन कन्या माई) को दर्शन तथा पूजा-अर्चनाका लागि नवलपुरमा हरेक वर्ष झैँ यस वर्ष पनि चैत्र पूर्णिमाको अवसरमा तीनदिने धार्मिक यात्रा आयोजना हुने भएको छ।
परापुर्वकाल देखि थारू र मगर समुदायले आस्थाका साथ पूज्दै आएका तीन कन्या माईको दर्शन, पूजा तथा आशीर्वाद प्राप्तिका लागि आयोजना गरिएको धार्मिक यात्रा आगामी चैत १७ गतेबाट शुभारम्भ हुने शिरथान कुमारवर्ती माई (देवी) गुठी व्यवस्थापन जिल्ला समितिका अध्यक्ष चेतनारायण चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार यात्रा तीन दिनसम्म सञ्चालन हुनेछ। पहिलो दिन चैत १७ गते बिहान रजहरस्थित शिखरबासनी माई देवीथानबाट यात्रा सुरु भई साँझ कीर्तिपुरमा बास बसिनेछ। दोस्रो दिन चैत १८ गते यात्रुहरू इनरछति भन्ने ठाउँको खोलामा बास बस्ने कार्यक्रम रहेको छ। अन्तिम दिन चैत १९ गते, अर्थात् पूर्णिमाको दिन बिहान श्री शिरथान कुवाँरवर्ती (तीन कन्या देवी) माईको पुजा आराधना गरिनेछ।
उक्त पूर्णिमाकै दिन तराईका विभिन्न स्थानमा स्थापित देवीका शक्ति पीठहरूमा पनि विशेष पूजा-अर्चना हुने परम्परा रहेको छ। कुनै कारणवश तीन कन्या माईको दर्शन गर्न नसकेमा ती शक्ति पीठहरूमा गएर पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।
यस अवसरमा पूजा हुने प्रमुख देवीथानहरूमा जमराण थान (कुढौली), गिडवान थान (कुशनहरी), मालपुर देवी थान (मालपुर), सिक्रौली महादेव थान (सिख्रौली), शिखरबासनी थान (रजहर), भगवती देवी/राम सिंह राज थान (साड), डणवार देवी थान (डाँणा), मणवार थान (मदनपुर), जमुहिनिया भार थान (कोलकट्टास) तथा मनिखम्बा डाँडा जोर (सर्दी) रहेका छन्।
स्थानीयवासी तथा श्रद्धालुहरूका लागि यो धार्मिक यात्रा आस्था, परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा लिइन्छ।
Facebook Comment