कावासोती । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा बिस्तारै एमालेकरण भइरहेको बताएका छन् । नेपाल प्रेस युनियनका जिल्ला शाखा सभापतिहरूको भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले केन्द्रदेखि वडासम्म सत्तारुढ दलको संयन्त्र बनाएर शासन गर्ने प्रयास भइरहेको र त्यसले कालान्तरमा एमालेकरण हुने दाबी गरे ।
डा।कोइरालाले भने- महान्यायाधिवक्ताको क्रियाकलाप हेर्ने हो भने अधिकारको दुरुपयोग भइरहेको छ भन्नेमा दुई मत छैन । कता कता मलाई चिन्ता लागेको छ लोकतन्त्र अप्ठेरोमा परेको छ । संयन्त्रले सरकार चलाउने कम्युनिस्ट देशमा मात्र हुन्छ,तर अहिले यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकेको छ । अब वडामा बाँकी छ । वडामा पनि संयन्त्र बनाएर चलाउने दुष्प्रयास उहाँहरूले गर्न खोजिरहनुभएको छ । बिस्तारै नथाहा पाउने किसिमले एमालेकरण भइरहेको छ भन्ने मलाई लागिरहेको छ ।
डा।कोइरालाले सुशासन,स्थायित्व र विकासका लागि आफ्नो समेत पहलमा कांग्रेस एमालेको सरकार बनेको तर अहिले यसले लोकतन्त्रलाई अप्ठेरो पारिरहेको आरोप समेत लगाए । कोइरालाले संसदमा सरकारले पेश गरेको सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित भए अभिव्यक्ति स्वतन्त्रमा आघात पुग्ने समेत बताए ।
कोइरालाले भने- मैले पहल गरेर बनेको सरकार जसरी चल्दैछ,संसद् छलेर अध्यादेश ल्याउने जमर्को गरिराखेको छ,त्यसले लोकतन्त्रलाई अप्ठेरोमा पारिरहेको छ । सुशासन दिन्छ भनेर ल्याएको,तर कस्तो दिने रहेछ भने घुस दिनेलाई समात्ने,घुस लिने चाहिँ छाडिने रहेछ ।
देशभरबाट आएका कांग्रेसनिकट पत्रकारहरूलाई कोइरालाले सरकारविरुद्ध खबरदारी गर्न आह्वान समेत सोही भेलामा गरे । सोही भेलामा कांग्रेसका अर्का नेता एनपी साउद, वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाललगायतले सरकार लोकतन्त्रको विपरीत दिशामा हिँडेको आरोप गलाए ।
प्रकाशित : २०८१ फागुन ६ गते १२:२२
Facebook Comment