राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेसँगै पछिल्लो वर्षहरुमा यस मौलिक खाद्य परिकार खीरले नेपाली कृषि संस्कृति, परम्परालाई मौलिकताका साथ व्यवसायिक रुपमा प्रवर्द्धन गरेको छ ।
यस उपलक्ष्यमा नेपाली मौलिक खाद्य परिकार खीरको प्रवर्द्धन र दुध तथा दुग्ध पदार्थको खपत बढाउने अभियान अन्तर्गत विभिन्न सरोकारवाला निकायहरुले विविध कार्यक्रमहरु समेत आयोजन गरेको हुन्छ । मुलत् किसान र प्रकृतिसँगको सम्बन्धको रुपमा पनि यो दिनलाई लिन सकिन्छ ।
नेपाल कृषिप्रधान देश हो । असार महिनाभर धान रोपाइँमा किसानहरू माटो, पानी र पसिनामा डुबेर काम गर्छन् । त्यस कठिन परिश्रम पश्चात् जब असार महिना सकिन्छ, तब साउन १५ लाई विश्राम, आनन्द र पारिवारिक उत्सवको दिनका रूपमा मनाउने प्रथा सुरु भएको मानिन्छ । यो दिनले हामीलाई प्रकृतिसँगको सम्बन्ध, मेहनतको मूल्य र फलको सम्मान गर्न पनि सिकाउँछ । असार महिनालाई मानो रोपेर मुरी फलाउने, वर्षभरीका लागि कडा परिश्रम गर्ने कर्मको रुपमा हेरिन्छ र असारमा गरिने दैनिकी कृषि कर्म गरे पश्चात श्रावण महिनाको १५ गते खीर खाने पर्वको रुपमा पनि मनाउने गरिएको देखिन्छ ।
मौलक दुधजन्य खाद्य परिकार खीर खानु हाम्रो संस्कृति हो र यस्ता कार्यक्रमलाई सबैले प्राथमितामा राख्नुपर्छ । किसानले उत्पादन गरेको दूध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउन पनि यस्ता खालका कार्यक्रमले सकारात्मक योगदान गर्ने गर्दछ। यस दिन नेपालको कृषि मौलिक संस्कृतिसँग जोडिएको पर्व समेत हो । हामीले हाम्रो देशको पहिचान जोगाउन पनि यस्ता किसिमका चाड, पर्व, दिवस, रीतिरिवाज, परम्परा जोगाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । कुनै पनि देशको पहिचान भनेकै यस्तै मौलिक किसिमका कुराहरु नै हुन् । यस दिनमा अनिवार्य सबै नेपालीहरुको मौलिक खानाको परिकार खीर खाऔं आफ्ना बालबालिकालाई यसको महत्वको बारेमा जानकारी गराऔं ।
स्वास्थ्यगत फाइदाहरु:
मानव स्वास्थ्य र खीरको सम्बन्ध पनि अत्यन्तै महत्वपूर्ण छ । खीर केवल स्वादका लागि मात्र होइन, स्वास्थ्य लाभका लागि पनि उल्लेखनीय छ । पोषणको खानी दूध र चामलमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, भिटामिन बी–कम्प्लेक्स पाइन्छ । हड्डी र दाँत मजबुत बनाउन क्याल्सियम र भिटामिन डी को कारण शरीरलाई बलियो बनाउँछ । सहज पाचन हुने हुँदा खीर सजिलै पच्ने र पेटलाई आराम दिने परिकार हो । असार साउनमा किसानले हिलो पानीमा काम गरेका कारण पनि खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने हुँदा दूधमा पाइने प्राकृतिक तत्वले शरीरलाई रोगसँग लड्ने क्षमता अझ बढी नै दिन्छ । अझ खीरमा सबै मसलाको मिश्रण गरम मसला राखेर बनाइने हुँदा पनि यो साउनमा किसानका लागि तथा बालबालिका, युवा एवं पाको उमेर समूहका मानिसका लागि एकदमै लाभदायक हुन्छ । खीरको उपभोगले मानसिक शान्ति, मिष्ठान भोजन, परिवारसँग बसेर खीर खाने वातावरणले मनमा खुशी र शान्ति ल्याउँछ ।
सामाजिक फाइदाहरु:
आजको समाजमा यसको महत्व झनै बढेको छ । तेज गतिमा दौडिरहेको आधुनिक जीवनशैलीमा कहिल्यै कसैसँग भेट्नै गाह्रो छ । यस्तै चाडवाडले नै भेटघाट जुराइदिन्छ । साउन १५ ले हामीलाई सम्झाउँछ र सबैलाई भेटघाट गराउन मद्दत गर्दछ । परिवारसँग समय बिताउनु सबैभन्दा ठूलो अवसर, सुख र खुशी हो । संस्कार र मौलिकता हाम्रो पहिचान हो । एकता र सहकार्य जीवनको सबभन्दा ठूलो सम्पत्ति हो । साना–साना हाम्रा सन्तानलाई पनि यस दिनको महत्व बुझाउँदै, परम्पराको निरन्तरता दिने जिम्मेवारी हाम्रो हो । त्यसकारण पनि हामीले मनाउने गरिएका सबै चाडवाड हाम्रा सन्ततिलाई सिकाउनु पर्छ ।
साँस्कृतिक फाइदा:
कुनै पनि देशको पहिचान भनेकै त्यो देशको मौलिक परम्परा र संस्कृती नै हो । जुनसुकै देश जति नै धनी र शक्तिशाली भए पनि आफ्नो मौलिक परम्परा र संस्कृती भने कहिल्यै भुलेको हुँदैन । तर हामी नेपालीले भने यस्ता कुरा बिर्सिदै गएका छौं । यो हाम्रो ठूलो कम्जोरी हो । यसलाई समयमै हामीले भुल सुधार गरेर अगाडि बढ्न सकेनौं भने आउने दिनमा हामीलाई धेरै कठिन हुने निश्चित छ ।
निष्कर्ष
साउन १५ को खीर खाने दिन स्वाद, स्वास्थ्य र संस्कारको संगम हो । यो दिनले हामीलाई प्रकृतिसँग नजिक बनाउँछ । परिवारसँग जोड्छ र संस्कृतिको सुगन्ध सुँघाउँछ । साउन १५ को खीर खाने दिन केवल खानपिनको कुरा होइन । यो हाम्रो मौलिकता, परम्परा र संस्कृती जोडिएको परिवारको प्रेम र सामाजिक एकताको उत्सव हो । यस दिन खीर खाऔं, परम्परा जोगाऔं र प्रेम बाँडौँ । हाम्रो देशको परम्परा र संस्कृतिको सुन्दरता भनेकै यस्ता स–साना तर अर्थपूर्ण दिनहरूमा छ । जसले हामीलाई हाम्रो माटो, संस्कार र प्रेमको स्वाद दिलाउँछ ।
अत् वास्तावमा यी सबै चाड पर्वले पारिवारिक एकता, मिलन, सन्तुलन आहार सबै कुरालाई मिलाएको देखिन्छ । तर पछिल्लो सामय यी सबै कुरा भुलेर हामी आगान्तुक पर्व मनाउन तर्फ लाग्यौं र हाम्रो मौलिक परम्परा सबै बिर्सियौं । यसले हामी नेपाली हौं भन्ने पहिचान नै हराउन जान्छ भन्ने डर र चिन्ता बढेको छ। यसलाई हामीले बचाई हाम्रा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।
प्रकाशित : २०८२ साउन १५ गते १८:४८
Facebook Comment