साफ यू-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग भिड्दै नेपाल

NAWALPUR TIMES

साफ यू-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग भिड्दै नेपाल

कावासोती । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज (आइतबार) नेपाल बंगलादेशसँग भिड्दै छ।

नेपालले आज खेल्न लागेको तेस्रो खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा अहिलेसम्म नेपाल एक खेलमा विजयी र एकमा पराजित भएको छ।

पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित नेपालले दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले हराएको हो।

प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोली सहभागी छन्।

चार टोलीबीच डबल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।

आजको खेलपछि नेपाल अगस्ट २७ मा पुनः बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग भिड्नेछ।

यसअघि नेपाल यो प्रतियोगितामा सातपटक सहभागी भइसकेको छ। जसमध्ये नेपाल सन् २०२२ मा उपाधि जित्न सफल भएको छ।

भारत र बंगलादेशले भने दुई-दुईपटक उपाधि जितिसकेका छन्।

यस्तो छ, नेपाली टिम

झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दीक्षा रायमाझी, सम्झना चन्द, अलिजाकुमारी विक, ज्ञान्सु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मीनमाया श्रेष्ठ, अंशु विक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रविना विक, सहारा लिम्बू, बब्तिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यमकुमारी विक, अनिता राना मगर र दीक्षा रनपाल।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology