कावासोती । आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको २४ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।
राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । भनिन्छ–दरबार हत्याकान्डमा षडयन्त्र भएको छ । तर यो षणयन्त्र कसले गर्यो ? अहिलेसम्म रहस्य भने बाहिर आउन सकेको छैन ।
पूर्वराजा वीरेन्द्रगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रमगरी दिवस मनाउन लागिएको हो । यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ ।
हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो । छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिए पनि आम नेपालीले यसलाई स्वीकार गर्न सकेका छैनन् ।
यो २४ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य खुलेन । राजसंस्था अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा पनि छानबिन भएको छैन ।
प्रकाशित : २०८२ जेठ २० गते ८:०६
Facebook Comment