कावासोती । नवलपुर जिल्लामा प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।
आइतबार राति सार्वजनिक गरिएको अन्तिम नतिजाअनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अन्य दललाई धेरै पछि पार्दै पहिलो बनेको छ । नेपाली कांग्रेस र एमालेले प्राप्त गरेको मत भन्दा रास्वपा एक्लैले प्राप्त गरेको मत तेब्बर बढी छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लामा कुल ९२ हजार ३ सय ५८ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २९ हजार २७ मत, नेकपा एमालेले २४ हजार ७ सय ७३ मत, श्रम संस्कृति पार्टीले ४ हजार २ सय २९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ९ सय ८७ मत तथा नेपाल कम्युनिष्ट पार्टीले ३ हजार १ सय ५३ मत प्राप्त गरेका छन् ।
क्षेत्रगत परिणाम हेर्दा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८ सय ४६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १५ हजार ९०, नेकपा एमालेले ८ हजार ८ सय ६६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४ सय २, श्रम संस्कृति पार्टीले २ हजार २ सय ५३ तथा नेपाल कम्युनिष्ट पार्टीले १ हजार ६ सय ३० मत प्राप्त गरेका छन् ।
यस्तै निर्वाचन क्षेत्र नं. २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी ४१ हजार ५ सय १२ मतका साथ पहिलो पार्टी बनेको छ । सो क्षेत्रमा नेकपा एमालेले १५ हजार ९ सय ७, नेपाली कांग्रेसले १३ हजार ९ सय ३७, श्रम संस्कृति पार्टीले १ हजार ९ सय ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ५ सय ८५ तथा नेपाल कम्युनिष्ट पार्टीले १ हजार ५ सय २३ मत प्राप्त गरेका छन् ।
यसअघि नै प्रत्यक्षतर्फ पनि नवलपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भइसकेका छन् । निर्वाचन क्षेत्र नं. १ मा राजन गौतम र निर्वाचन क्षेत्र नं. २ मा मनिष खनाल विजयी भएका हुन् ।
Facebook Comment