मर्स्याङ्दी जलविद्युत् केन्द्र जोगाउन पृथ्वीराजमार्ग सडक परिवर्तन गरिने

नारायण शर्मा
प्रकाशित : २०८२ जेठ १२ गते १२:३१
मर्स्याङ्दी जलविद्युत् केन्द्र जोगाउन पृथ्वीराजमार्ग सडक परिवर्तन गरिने

पोखरा — मुग्लिन पोखरा पृथ्वी राजमार्ग अन्तर्गत मर्स्याङ्दी जलविद्युत् केन्द्र भन्दा केही माथिबाट करिब ७ किलोमिटर सडक घुमाएर मुग्लिन लगिने भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरातर्फ जाँदा बाटोमा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको सुरक्षाका लागि त्यहाँ सडकको डिजाइन र स्थान परिवर्तन गर्नुपरेको हो ।

भुवनटारवाट मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पूर्वतर्फको गोर्खाको पहाडमा राजमार्ग निर्माण हुने छ । पुल पार गरेर फेरि सडक मुग्लिन बजारमा जोडिने छ ।

सडक आयोजनाका निर्देशक चुडाराज ढकालका अनुसार मुग्लिनदेखि ४ किलोमिटर उत्तर (पोखरा जाने सडकमा पर्ने)मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको सुरक्षाका लागि राजमार्गको करिब ७ किलोमिटर क्षेत्र पल्लो डाँडाबाट नयाँ सडक निर्माणको काम सुरु हुने भएको छ । जल विद्युत्‌को सुरक्षाका लागि त्यहाँ राजमार्ग घुमाउनु परेको हो ।

जलविद्युत् केन्द्र छल्न त्यहाँ वाटो परिवर्तन गर्न परेको ढकालले जानकारी दिए । अहिले चालु बाटोभन्दा पूर्वतर्फको डाँडैडाँडा नयाँ सडक निर्माणको काम सुरु हुने भएको हो । जलविद्युत् केन्द्र भन्दा ४/५ सय मिटर उत्तर (आँबुखैरेनी तर्फबाट) मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पल्लो डाँडामा ४ लेनको (दुई/दुई लेनको) सडक निर्माण हुने छ ।

‘त्यो सडक मुग्लिनमा आएर जोडिन्छ’, ढकालले भने, ‘दुबै स्थानमा आर्क डिजाइनका २ वटा नयाँ पुल निर्माण गरिने छ ।’ ४ अर्ब लागतमा करिब ७ किलोमिटर राजमार्ग र २ वटा पुल निर्माण हुने छ । मुग्लिनमा हाल रहेको पक्की पुल भन्दा केही उत्तर पूर्वबाट मुग्लिन बजारमा त्यो सडक सञ्जाल जोडिने छ ।

जलविद्युत् केन्द्र हुँदै हाल सञ्चालनमा रहेको राजमार्ग फराकिलो पार्न नमिल्ने भएका कारण त्यहाँ करिब ७ किलोमिटर सडक पूर्वतर्फको डाँडाबाट लैजान परेको हो । जलविद्युत् केन्द्रको क्षेत्रमा सडक विस्तार गर्दा विद्युत् गृहलाई असर पर्न सक्ने जोखिम भएकाले त्यो क्षेत्रमा सडक घुमाएर मुग्लिन लैजान परेको ढकालले बताए । मुग्लिन पोखरा सडक ९० किलोमिटर लामो छ ।

प्रकाशित : २०८२ जेठ १२ गते १२:३१

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI