प्रधानमन्त्री ओली भन्छन् : धौवादी फलाम खानीबाट सय वर्षलाई पुग्ने फलाम र स्टिल उत्पादन गर्छौं

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार ६ गते २०:४०
प्रधानमन्त्री ओली भन्छन् : धौवादी फलाम खानीबाट सय वर्षलाई पुग्ने फलाम र स्टिल उत्पादन गर्छौं
Oli 1735213607

कावासोती ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सय वर्षलाई पुग्ने फलाम र स्टिल उत्पादन गर्ने बताएका छन् । शुक्रबार ग्वार्को ओभरपास उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले छिट्टै नवलपरासी पूर्वमा रहेको धौवादी फलाम कारखाना सञ्चालनमा ल्याइने बताएका हुन् ।

‘हामी धौवादी फलाम कारखाना अघि बढाउँदैछौँ । धौवादी फलाम कारखाना सम्पन्न हुनेबित्तिकै हामीले नेपाललाई सय वर्षलाई पुग्ने फलाम, स्टिल आदि कारखानाहरु यहाँ स्थापना गर्नेछौँ । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ । त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ । वार्षिक ठूलो आम्दानी त्यहाँबाट हुनेछ । धेरैले रोजगारी नेपालभित्र पाउनेछन् । अरु खनिजको उत्खनन हुन्छ,’ ओलीले भने ।

खानी तथा भूगर्भ विभागका विज्ञहरुले २०६९ देखि २०७५ सम्म विभिन्न समयमा धौवादीमा ड्रिलिङ गरेर नमुना संकलन गरी परीक्षण गर्दा फलामखानी रहेको यकिन भएको थियो । उद्योग मन्त्रालयले २०७६ असोजमा धौवादी फलामखानी कम्पनी लिमिटेड गठन गरेर काम अघि बढाएको थियो ।

कम्पनीले नै गरेको एक अध्ययनअनुसार नेपालमा वार्षिक २७ लाख टन फलामजन्य वस्तुको आयात हुने गर्छ । धौवादीमा ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फलामखानीबाट दैनिक १ हजार ५ सय टन फलाम उत्पादन गर्न सकिने विशेष सम्भाव्यता अध्ययन प्रतिवेदनले देखाएको छ । मुलुकमै फलाम उत्पादन भए अहिले भइरहेको आयातको एक चौथाइ फलाम आयातलाई कम गर्न सकिने कम्पनीको अनुमान छ ।

प्रकाशित : २०८२ असार ६ गते २०:४०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI