भिमसेनका विद्यार्थीलाई वन वातावरण र जैविक विविधता सम्बन्धी व्यवहारिक ज्ञान

NAWALPUR TIMES

भिमसेनका विद्यार्थीलाई वन वातावरण र जैविक विविधता सम्बन्धी व्यवहारिक ज्ञान

कावासोती । भविष्यका वातावरणीय संरक्षक तयार पार्ने लक्ष्यसहित भिमसेन आदर्श माध्यमिक विद्यालयमा देबचुलीमा आईतबार विशेष कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरूलाई जैविक विविधता संरक्षण र वातावरणीय सचेतनाबारे व्यवहारिक ज्ञान दिइएको छ।

कार्यक्रम ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाको आयोजनामा तथा डिभिजन वन कार्यालय नवलपुरको सहयोगमा सम्पन्न भएको हो। आ.ब. २०८१/८२ को वार्षिक स्वीकृत वन वातावरण तथा जैविक विविधता संरक्षण कार्यक्रम अन्तर्गत यो गतिविधि सञ्चालन गरिएको थियो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमल प्रसाद वाचे, विद्यालयका शिक्षक कृष्णप्रसाद काफ्ले र जिल्ला वन अधिकृत सुवास अधिकारीले विद्यार्थीहरूलाई सचेतनामूलक कक्षा प्रदान गरेका थिए।

जिल्ला वन अधिकृत सुवास अधिकारीले भने, “हामीले वातावरण जोगाउने अभियान विद्यालयबाटै सुरु गर्नुपर्छ। विद्यार्थीकै सशक्त भूमिका बिना जैविक विविधताको संरक्षण असम्भव छ।” उनले प्रदूषण न्यूनीकरण, वन्यजन्तु संरक्षण र हरियाली विस्तारका उपायबारे जानकारी दिएका थिए।

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमल प्रसाद वाचेको भनाइमा विद्यार्थी नै भविष्यका नीति निर्माता र कार्यकर्ता हुने भएकाले उनीहरूलाई अहिलेबाटै सचेत बनाउन जरुरी रहेको उल्लेख थियो। उनले भने, “सामुदायिक वनले जैविक विविधता जोगाउन ठूलो भूमिका खेलेका छन्, तर अब विद्यार्थी पुस्ताले त्यो अभियानलाई अझ सबल बनाउनुपर्छ।”

कार्यक्रमको अध्यक्षता ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले गरेका थिए। कार्यक्रमको सञ्चालन तथा सहजीकरण ग्रीन फाउन्डेसनकी सचिव दुर्गा बिष्टले गरेकी थिइन्।

कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रतिको उत्तरदायित्व र जैविक विविधताको संरक्षणमा सक्रिय भूमिका खेल्न प्रेरणा जगाएको सहभागीहरूको धारणा थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology