कावासोती । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नवलपुर आउन लागेका छन्। पार्टीको तराई–मधेश केन्द्रित जागरण अभियानमा सहभागी हुन उनी आज गैडाकोट आउने कार्यक्रम रहेको छ।
यसअघि स्थगित गरिएको अभियानलाई पुनः सुरु गर्दै पार्टीले यसपटक नवलपुरबाट औपचारिक रूपमा अभियानको शुभारम्भ गर्न लागेको हो। वैशाख २ गते बिहान गैडाकोटबाट अभियान सुरु हुनेछ भने नेतृत्व स्वयं अध्यक्ष प्रचण्डले गर्ने छन्।
पार्टीका केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इञ्चार्ज धनप्रसाद सापकोटाका अनुसार प्रचण्ड आइतबार नै चितवन आइपुगेका छन् र आज दिउँसो ३ बजे गैडाकोटमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको छ।
उक्त अवसरमा प्रचण्डले सहिद तथा बेपत्ताका परिवारसँग भेटघाट गर्ने, कार्यकर्तासँग अन्तरक्रिया गर्ने, रजहरस्थित प्राकृतिक चिकित्सालयको अवलोकन गर्ने, थारू समुदायसँग संवाद गर्ने तथा कावासोतीमा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको सापकोटाले जानकारी दिए।
प्रचण्डसँगै माओवादी केन्द्रका शीर्ष नेताहरू पनि अभियानमा सहभागी हुनेछन्। उनीहरूको आवास व्यवस्थापन पार्टी कार्यकर्ताको घरमा गरिएको छ।
अभियानलाई सफल बनाउन केन्द्रीय, प्रदेश र स्थानीय तहका नेता तथा कार्यकर्ताहरू नवलपुरमा भेला भई तयारीमा जुटेका छन्। स्वागत, प्रचारप्रसार, यातायात तथा आवास व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै प्राप्त परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्ने क्रममा विभिन्न शक्तिहरूबाट प्रतिगमनको खतरा बढ्दो छ। यस सन्दर्भमा, पार्टीले परिवर्तनका एजेन्डाहरूको संरक्षण, जनसंपर्कको सुदृढीकरण, संगठनको पुनर्संरचना तथा विस्तार, र प्रतिगमनविरुद्ध जनस्तरीय चेतना निर्माण गर्न विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।माओबादी केन्द्रले यस अभियानलाई “जनताको बीचमा पार्टी, परिवर्तनको एजेन्डा र प्रतिगमन विरुद्धको अभियान” को रूपमा परिभाषित गरेको छ।
प्रकाशित : २०८२ वैशाख १ गते ७:१६
Facebook Comment