कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) ले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन बजार व्यवस्थापन कडा बनाइने चेतावनी दिएको छ।
प्रशासनले मध्यपूर्व क्षेत्रमा देखिएको असहज अवस्थाका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सूचना जारी गरेको जनाएको छ। सम्भावित आपूर्ति समस्या जिल्लामा पनि देखिन सक्ने भएकाले पेट्रोलियम पदार्थका विक्रेता, ग्यास डिलर तथा उद्योग वाणिज्य संघसँग समन्वय गरी आवश्यक निर्णय गरिएको प्रशासनले जनाएको छ।
जिल्लाभित्र पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित विक्रेता तथा उद्योग वाणिज्य संघलाई सहयोग गर्न प्रशासनले आग्रह गरेको छ। साथै उपभोक्तालाई अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न र सकेसम्म ग्यासको सट्टा विद्युत प्रयोग बढाउन अनुरोध गरिएको छ।
सूचनामा विक्रेताहरूलाई बोतल वा जेरीकेनमा पेट्रोलियम पदार्थ बिक्री नगर्न निर्देशन दिइएको छ। कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले इन्धन वा ग्यास भण्डारण गर्ने, बढी मूल्यमा बिक्री गर्ने वा वितरणमा अवरोध पुर्याउने गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
उपलब्ध ग्यास तथा पेट्रोलियम पदार्थको समुचित वितरण सुनिश्चित गर्न प्रशासनले सम्बन्धित विक्रेतालाई निर्देशन दिएको छ। बजार अनुगमनलाई थप प्रभावकारी बनाइने र नियमविपरीत कार्य गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासकीय अधिकृत ज्योति राज अर्यालको हस्ताक्षरसहित उक्त सूचना आज जारी गरिएको हो।
Facebook Comment