चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए

NAWALPUR TIMES

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ वटा छावा जन्मिएका छन् । विसं २०४४ मा भारत, थाइल्याण्ड र मेनमारबाट २० वटा हात्ती ल्याएर केन्द्र सुरु गरिएको थियो । केन्द्रमा ती देशबाट छ वटा भाले र १४ वटा पोथी हात्ती ल्याइएको थियो । विसं २०४९ चैतमा पहिलोपटक यहाँका हात्तीले छावा जन्माएका केन्द्रका प्रमुख मणिपुरण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसयता हालसम्म ६८ वटा छावा जन्मिएकामा सात वटाको मृत्यु भइसकेको छ ।

चौधरीले हालसम्म जन्मिएकामध्ये ३९ भाले र २९ वटा पोथी रहेका जनाउँदै हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ५८ वटा हात्ती रहेका उल्लेख गर्नुभयो । “प्रजनन केन्द्रमा २२ वटा हात्ती छन् । तीमध्ये नौ वटा माउ र १३ वटा बच्चामध्ये छ वटालाई तालिम दिएर राखिएको छ । केही दिनमा तिनीहरूलाई पनि पोष्टमा पठाइँदै छ”, उहाँले भन्नुभयो । पछिल्लो समय जन्मिएका सात वटा छावा केन्द्रमा रहेका चौधरीले बताउनुभयो । यहाँ जन्मिएर तालिम दिएपछि निकुञ्ज सुरक्षार्थ विभिन्न ठाउँमा रहेका पोष्टहरूमा पठाउने गरिएको जनाउँदै उहाँले यहाँ जन्मिएका छावाको विभिन्न प्रतिष्ठित व्यक्तिको सम्मानस्वरुप नामाकरण गर्ने गरिएको बताउनुभयो । “पहिलेपहिले राजा र राजपरिवारका सदस्यको नाममा नामाकरण गरिन्थ्यो । पछिल्लो पटक निकुञ्जमा कार्यरत रहेर हालै निधन हुनुभएका संरक्षण अधिकृत वेदबहादुर खड्काको सम्मानमा नयाँ छावाको नामाकरण गरिएकोे छ”, केन्द्रका प्रमुख चौधरीले भन्नुभयो ।

लामो समयसम्म निकुञ्जको संरक्षणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका खड्काको सम्मानमा केन्द्रमा जन्मिएको छावाको यही साउन ७ गते न्वारन गरेर वेदगज नाम राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको छावा जन्मिएको १२औँ दिनमा न्वारन गर्ने प्रचलन छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेशप्रसाद पन्तले वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा धेरै चुनौतीको सामना गर्दै काम गरेकाले उहाँको सम्मानमा छावाको नामाकरण गरिएको बताउनुभयो । उहाँका अनुसार नयाँ नाम राखिएको वेदगज लोकतन्त्रकलीको तेस्रो सन्तान हो । बाइस वर्षीया लोकतन्त्रकलीले आठ वर्षअघि बुधगज र चार वर्षअघि स्वर्णकलीलाई जन्म दिइसकेकी छिन् ।

तीन वर्षअघि हात्ती चराउने क्रममा बाघले आक्रमण गरेर मरेका हात्ती सुसारे रमेश चौधरीका नाममा रमेशगज, निकुञ्जभित्र तस्करसँगको भिडन्तमा ११ वर्षअघि मारिएका सिनियर गेम स्काउट शेषचन्द्र चौधरीका नाममा शेषचन्द्रगज नामाकरण गरिएको संरक्षण अधिकृत पन्तले जानकारी दिनुभयो । “प्रजनन केन्द्रमा जङ्गली हात्ती नानापाटेघर, ध्रुवे, गोविन्दे, रोनाल्डो, कृष्णेलगायत आएर संसर्ग गर्दछन् । यहाँ जन्मिएका छावाहरू तिनैका सन्तान भएको अनुमान छ”, उहाँले भन्नुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology