हाम्रो खुसी पाठयक्रमले देखाएको खुसीको बाटो

सन्जय भट्टराई
प्रकाशित : २०८२ असार १० गते २०:४०
हाम्रो खुसी पाठयक्रमले देखाएको खुसीको बाटो

कावासोती । ६ कक्षा मा पढने आफ्नो सानो छोराले आमा मुख हेर्ने दिन दिएको उपहारले देउमाया बाह्रघरेलाई निक्कै भावुक बनायो, उनी भावुक मात्रै भैन्न, जब छोराले आफ्नो खाजा खर्चमा दैनिक रुपमा केही पैसा घटाएर जम्मा गरेको र आमाको लागि उपहार किनेको बताउछन, देउमायाको आँखामा खुसीको आँसु मात्रै बग्दैन आफ्नो सन्तानमा आएको परिवर्तनले उनी निक्कै प्रफुल्लित भईन ।

यस्तै साना साना कुराले मध्यविन्दु नगरपालिकाका विद्यार्थी मात्रै होइन अभिभावक पनि खुसी भएका छन । मध्यविन्दु नगरपालिकाले हाम्रो खुसी पाठयक्रम लागू गरेको एक वर्षको अन्तरालमा देउमाया बाह्रघरे जस्तै अधिकांश अभिभावक बालबालिका मा आएका साना साना तर महत्त्वपूर्ण परिवर्तनले खुसी बन्दै गएका हुन ।

पहिले आफैलाई बुझ्ने, त्यसपछि परिवारसँगको सम्बन्ध बुझ्ने, समाज बुझ्ने र प्रकृतिलाई बुझ्ने र गरी हाम्रो खुसी पाठ्यक्रम तयार पारेर नगरपालिकाले लागू गरेको एक वर्षको अन्तरालमा अधिकांश बालबालिकाको व्यवहारमा आएको परिवर्तनले हाम्रो खुसी पाठयक्रमले देखाएको खुसीको बाटोमा अभिभावक समेत तानिदै गएका हुन ।

IMG 20250624 WA0014

सामाजिक संजाल चलाईरहदा आफ्नी छोरीले संजालको प्रयोग र त्यसबाट हुन सक्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा सचेत गराए पछि आफू सामाजिक संजाल चलाउने क्रममा निक्कै सचेत हुँदै गएको बताएकी मध्यविन्दु–१२ कि चन्नु तामाङले भनिन, “पहिले नानी स्कुलबाट घर आउन साथ मोबाइल खोज्थिन अहिले मलाईनै सचेत र सजग गराउने भएकी छिन, यो खुसी कक्षा सुरु भए पछिको प्रभाव हो ।”

हरेक दिन को पहिलो पिरियडको ३० मिनेट समय खुसी कक्षाका लागि विद्यालयहरुले व्यवस्थापन गर्दै आएका छ्न । माईन्डफुलनेस बाट सुरु हुने खुसी कक्षाले विद्यार्थीलाई वर्तमानमा सजग मात्रै बनाएको छैन, उनिहरुले माईन्ड्फुलनेसको विधि घरमा गएर अभिभावकलाई समेत सिकाउने भएका छ्न । जनता माध्यमिक विद्यालय अरुणखोला टाडीको कक्षा ५ मा पढने समीर बि.कले घरमा गएर माईन्डफुलनेस गराएको सम्झ्दै मध्यविन्दु–१२ कि जसमती बि.कले भनिन, “साना साना कुरा ख्याल राख्ने मात्रै होइन आजकल विद्यालय सिकेको ध्यान विधि पनि बाबु सिकाउने भएको छ ।” आफ्नो छोरामा मोबाइल प्रयोग गर्ने बानीमा निक्कै कमि आएको, घरमा आउने पाहुनालाई सत्कार गर्ने देखि लिएर घरको काम सहयोग गर्ने मात्रै होइन सँगसँगै पढाईको स्तरको सुधार हुँदै गएको बताएकी जसमतिले यो परिवर्तनको श्रेय विद्यालयमा सुरु भएको खुसी कक्षालाई दिन्छिन ।

IMG 20250624 WA0018

अभिभावक मात्रै होइन विद्यालयमा खुसी कक्षा सन्चालनमा आए सँगै आफुहरुमा आएको परिवर्तनका विषयमा विद्यार्थीहरु धक नमानी बताउने भएका छ्न । विगतका दिनहरुमा दोहोरो संवाद गर्न अप्ठ्यारो मान्ने विद्यार्थीहरु विद्यालयमा आउने पाहुनासँग आफुहरुमा खुसी कक्षाले ल्याएको खुसीलाई मन खोलेर बताउने भएका हुन । जनता माध्यमिक विद्यालय अरुणखोला टाँडीको कक्षा ६ बाट खुसी कक्षा सुरु गरेका अमन सुनार अहिले कक्षा ७ मा पढछ्न । खुसी कक्षाको सुरुवात सँगै दैनिक गरिने माईन्डफुलनेसले आफुमा एकाग्रता बढेको मात्रै नभएर पुरै दिन खुसी भएर पढन सहयोग गरेको बताए । खुसी सरले  ले माइन्डफुलनेस सँगै गराउने क्रियाकलापले आफुमा पढाईको तनाव र चिन्ता हटने गरेको कक्षा ७ कि अर्कि विद्यार्थी स्वर्णिमा काफ्लेले बताईन । खुसी कक्षाले मन शान्त बनाएको, मनमा भएको चिन्तालाई हटाएको र पढाइमा पनि धेरै ध्यान जाने गरेको छ बताएकी काफ्लेले भनिन “आजकल घरको काममा आमालाई पनि सहयोग गर्छु ।”

के खुसी पाठयक्रम र खुसी कक्षा ?

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार मध्यविन्दु नगरपालिकाले रूपमा ‘हाम्रो खुसी पाठ्यक्रम’ निर्माण गरेर नगर भित्रका ४५ वटा सामुदायिक विद्यालय र २० वटा संस्थागत विद्यालय गरी ६५ वटा विद्यालयमा यो पाठयक्रम लागु गरेको हो । पहिले आफैलाई बुझ्ने, त्यसपछि परिवारसँगको सम्बन्ध बुझ्ने, समाज बुझ्ने र प्रकृतिलाई बुझ्ने र गरी हाम्रो खुसी पाठ्यक्रम तयार गरेर प्रयोगमा ल्याईएको हो ।
खुसी पाठयक्रमले समाजमा नकरात्मक चिन्तन, असहयोग, तृष्णा, निराशा बढ्दै गइरहेको अवस्थामा बालबालिकाहरुलार्ई मानव हुनुको मूल्य सिकाउने, खुसीको लक्ष्य पहिल्याउन सिकाउने, खुसी भएर पढ्न सहज बनाउने बाटो तर्फ डोर्‍याउने मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारी बताउछन । नगरप्रमुख अधिकारीका अनुसार हाम्रो खुसी पाठयक्रमले बालबालिका खुसी भएर पढुन भन्ने उद्धेश्य बोकेको छ । यो पाठयक्रमले बालबालिकाहरुको छवि, असल संस्कार, चरित्र राम्रो र असल बनाउने तर्फ दिशा निर्देश गर्ने बताउदै नगर प्रमुख अधिकारीले भने “कुनै पनि सामाजिक विषयवस्तुमा अन्वेषण गर्ने, अनुभव गर्ने र अभिव्यक्त गर्ने कलाको विकास गराउन खुसी पाठ्यक्रमले सहयोग गरिरहेको छ ।” भौतिक पूर्वाधारमा मात्रै खुसी होइन, मानव मूल्यको ज्ञान प्राप्त गर्न, समाजमा घुलमिल हुन, असल समाज निर्माणमा सक्रिय सहभागिता गराउन, प्रकृतिसँग बालबालिकालाई जोड्न खुसी कक्षाले मद्दत गरिरहेको नगर प्रमुख अधिकारीको दाबी थियो ।

खुसी कक्षा

मध्यविन्दु नगरपालिकाको विद्यालयमा हरेक दिन पहिलो घण्टी खुसी कक्षा सञ्चालन हुन्छ । खुसी कक्षामा विद्यार्थीको हातमा खुसी विषयको किताब भने हुँदैन तर शिक्षकका लागी भने हाते पुस्तिका तयार पारिएको छ । खुसी कक्षामा विद्यार्थीहरु ध्यानका क्रियाकलापबाट आफ्नो कक्षा सुरु गर्दछन् । यसलाई पाठयक्रमले माइण्डफूलनेस विधि भनेको छ । ५ मिनेट सम्म माईन्डफूलनेस प्रक्रिया गरे पछि विद्यार्थीहरु खुसी शिक्षकको सहयोगमा ध्यानपूर्वक कसरी सुन्ने, कसरी बोल्ने, कसरी हेर्ने, कसरी हिँड्ने, कसरी सजगता अपनाउने जस्ता गतिविधिमाथि चर्चा गर्दछन् । १५ मिनेटसम्म यो प्रक्रिया चले पछि शिक्षक र विद्याथीले एक आपसमा अनुभव आदानप्रदान गर्दछन् । यस कक्षामा विशेषगरि जीवन जिउने कला सिकाइन्छ । मानविय मूल्यको स्थापनाका लागि प्रेरणादायी कथाहरुपनि शिक्षकले सुनाउने गर्दछन् । खुसी कक्षा सुरु भए पछि परिवर्तन विद्यार्थी र अभिभावकमा मात्रै होईन स्व–परिवर्तनको महसुस स्वंय शिक्षकहरुले पनि गर्ने गरेका छन ।

IMG 20250624 WA0017
खुसी पाठयक्रम लागु भए सँगै तालीममा सहभागी भएर जनता माध्यमिक विद्यालय अरुणखोला टाँडीमा विद्यालय खुसी स्रोत शिक्षकको रुपमा काम गर्दै आएकी शिक्षक विष्णु थापा कार्कीले दैनिक रुपमा विद्यालयमा सन्चालन गरिने खुसी कक्षाले आफुमा पनि परिर्वतन आएको स्वीकार गरिन । “दिन भरिको थकानले विद्यालयबाट घर पुग्दा परिवारका सदस्य सँग झर्किने रिसाउने मेरो बानी अहिले परिवर्तन भएको छ, जतिनै थाकेर घर पुगे पनि आजकल परिवारका सदस्यसँग रिसाउने झर्किने कुरा मेरो मष्तिस्कबाट नै हराएर गयो, यसको श्रेय खुसी पाठयक्रम र खुसी कक्षालै नै दिन्छु ,” शिक्षक थापाले बताईन ।

कसरी सुरु गरियो खुसी बनाउने पाठयक्रम ?

भारतको दिल्लीमा लागू गरिएको खुसी पाठ्यक्रम नेपालका विद्यालयमा पनि लागू गर्ने  मध्यविन्दु नेपालकै पहिलो नगरपालिका बनेको हो ।  पाठ्यक्रम तयार गर्नका लागि विभिन्न चरणमा काम गरिएको नगरपालिकाले जनाएको छ। सुरुमा भारत सरकार, शिक्षा मन्त्रालय अन्तर्गतको भारतीय शिक्षा बोर्डका सल्लाहकार तथा मानव मूल्य र रूपान्तरण सिकाइ सेल, दिल्लीका सदस्य, जीवनविद्यताका प्रबोधनका श्रवणकुमार शुक्लसहितको टोलीले नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण तालिम दियो । त्यसपछि नगरप्रमुखसहित ३५ जनाको टोलीले दिल्ली भ्रमण गरेर त्यहाँ पाठ्यक्रम लागू भएका विद्यालयको अवलोकन गर्‍यो । लगत्तै नगरपालिकाले पाठ्यक्रम तयार गर्नका लागि नवजागरण मावि चोरमाराका प्रधानाध्यापक हरिप्रसाद देवकोटाको संयोजकत्वमा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र (करिकुलम स्टडी एण्ड रिसर्च सेन्टर–सीएसआरसी) गठन गर्‍यो । त्यसपछि टोलीले सात दिनसम्म आवासीय कार्यशाला गर्‍यो । जसले आधारभूत तहको (एकदेखि आठसम्म) पाठ्यक्रम ढाँचा तयार गरेको हो । पाठयक्रमलाई अन्तिम रुप दिन सम्पादन मण्डललाई ९९ दिन लागेको थियो ।

IMG 20250624 WA0016

नगरपालिकाले पाठ्यक्रम कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्न पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रसमेत स्थापना गरेको छ । कक्षा १ देखि ८ सम्मका बालबालिकामा सकारात्मक प्रभाव परेको भन्दै कक्षा ९–१० मा पनि लागू गर्न विद्यार्थी र अभिभावकले माग गरेका ‘हाम्रो खुसी पाठ्यक्रम’ कार्यक्रम संयोजक लक्ष्मी पाण्डेले बताइन् ।  पाठयक्रमलाई कार्यान्वयन गर्न प्रत्येक विद्यालयको कक्षा १ देखि ८ सम्म पहिलो घण्टीमा खुसी कक्षा सन्चालन गर्ने कक्षा खुसी शिक्षक, प्रत्येक विद्यालयमा एक जना विद्यालय खुसी स्रोत शिक्षक, नगरपालिकामा ९ जना नगरस्तरिय खुसी स्रोत शिक्षक र पाठयक्रम अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरेको छ । मध्यविन्दुले सो पाठ्यक्रम लागू गरेपछि कास्की, स्याङ्जालगायत जिल्लाका स्थानीय तहहरूले पनि ‘हाम्रो खुसी पाठ्यक्रम’प्रति चासो देखाएका छन् ।

प्रकाशित : २०८२ असार १० गते २०:४०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI