कावासोती । लगातारको वर्षाले अवरद्ध भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रा केही सहज भएको छ । पानी रोकिएका कारण बुधबार बिहानदेखि केही सहज रुपमा एकतर्फी गाडी चल्न थालेको नवलपुर प्रहरीले जनाएको छ ।
सोमबार बिहान ७ः३० बजेदेखि चिप्लो भएर गाडी गुड्न नसकी एकतर्फी भएको राजमार्ग दिउँसो १ बजेदेखि पहिरो खसेका कारण र पहिरो पन्छाएपछि गाडी बिग्रेर अवरुद्ध भएको थियो ।
‘‘बिहानदेखि एकतर्फी गाडी चल्न थालेका छन् तर कतिबेला के हुन्छ भन्नै सकिन्न,’’ जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले भन्नुभयो । सोमबारको तुलनामा मङ्गलबार सडक झन बिग्रिएको थियो । बन्जराका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ ।
तीन दिनदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेग्रान बगाएर खाल्टा खुल्टी भएकाले गाडीहरु गुड्न नसकेका हुन् ।
दाउन्नेको १४ किलोमिटर सडक खण्ड केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानीमा पनि बाटो हिलो हुने र घाम लाग्दा धुलाम्य हुने समस्या छ ।
१४ किलोमिटर सडक खण्डमध्ये पश्चिम तर्फ ३ किलोमिटर बाटो कालोपत्रे भएको छ भने पूर्व र पश्चिम खण्डमा गरी करिब २ किलोमिटर सडक एकतर्फी ढलान भएको छ ।
प्रकाशित : २०८२ साउन २१ गते ८:०८
Facebook Comment