नवलपुरमा देउसी भैलो खेल्ने क्रममा कुटपिटबाट एक जनाको मृत्यु, ३ जना पक्राउ

NAWALPUR TIMES

नवलपुरमा देउसी भैलो खेल्ने क्रममा कुटपिटबाट एक जनाको मृत्यु, ३ जना पक्राउ

कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका–४, गोग्दीस्थित दुमकट्टामा देउसी भैलो खेल्ने क्रममा भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार गएराति देउसी भैलो टोलीका सदस्यबीच विवाद हुँदा ४४ वर्षीय सन्तबहादुर ठाडा मगरमाथि कुटपिट भएको थियो। घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि स्थानीय  लुम्बिनी मेडिकलमा लगिएकोमा राति करिब ११:१५ बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सर्दीबाट प्रहरी नायब निरीक्षक कुमार बस्नेतको कमाण्डमा पाँच जनाको टोली र इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमनसिंह रानाको कमाण्डमा सात जनाको टोली खटिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा बिनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टाका १९ वर्षीय रिङकु गुरुङ, १७ वर्षीय बिक्रम हिजा र २० वर्षीया धरन पाईजा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतकको शवलाई पोस्टमार्टमका लागी मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology