कावासोती । नवलपुरका सबै क्याम्पसमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित भएको छ । जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण चुनाव गराउन नसकिएकाले स्थगित गरिएको नेपाल पब्लिक क्याम्पस संघ, नवलपुरले जनाएको छ ।
संघले आजै बैठक बसि पत्रकार सम्मेलन गर्दै स्ववियु निर्वाचन निर्देशिकाको बुँदा नं. १२ अनुसार निर्वाचन कार्यतालिकाको बुँदा नं. ६ पूर्ण रुपमा प्रभावित भएकाले कानुनी अड्चन सृजना भई यथास्थितिमा निर्वाचन सम्पन्न हुन नसक्ने भन्दै सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको हो ।
कुमारवर्ती बहुमुखी क्याम्पसको प्राङ्गणमा पत्रकार सम्मेलन हुँदै गर्दा नेविसंघ र अखिल क्रान्तिकारीले नारावाजी गरेका थिए । लगत्तै दुई विद्यार्थी संघगठनले पत्रकार सम्मेन गरी निर्वाचन स्थगित गरिएको प्रति असहमति जनाएका छन् । उनीहरुले एमाले निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु र पब्लिक क्याम्पस संघलाई दोष दिएका छन् ।
नेविसंघका जिल्ला अध्यक्ष हरि सुवेदीले अनेरास्ववियुले जिल्लामा कतै पनि चुनाव जित्न नसक्ने देखिएपछि पब्लिक क्याम्पस संघ त्यसको मतियार भएको आरोप लगाए । उहाँले अनेरास्ववियुले सबै क्याम्पसमा लगाएका ताला तोड्ने र आन्दोलन चर्काउने चेतावनी दिए ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष आयुष ढकालले क्याम्पस प्रशासन्ले अनेरास्ववियुलाई हार बाट जोगाउन निर्वाचन स्थगित गरेको आरोप लगाए । जिल्ला भरिनै अनेरास्ववियु हार्ने भएपछि उनिहरुलाई जोगाउन निर्वाचन स्थगित गरिएको उनको आरोप थियो ।
अनेरास्ववियुले भने क्याम्पस प्रशासनका कारण चुनाव हुन नसकेको दावी गरेको छ । क्याम्पस प्रशासनले सङ्गठन दर्ता पश्चात विद्यार्थी सङ्गठनहरलाई आचार संहिता बनाउने विषयमा नबोलाएको, चुनावको पूर्वसन्ध्यामा निर्वाचन प्रकृयालाई प्रभावित गर्ने हेतुले विद्यार्थी भर्नामा व्यापक अनियमितता गरेको र निर्वाचन नगराउने र गराउन परे पनि आफू अनुकूल बनाउन प्रयासरत रहेको अनेरास्ववियुका जिल्ला अध्यक्ष सौगात भुसालले आरोप लगाए ।
प्रकाशित : २०८१ फागुन २८ गते १६:४४
Facebook Comment