फिफा वरीयतामा नेपाली महिला टोलीको ऐतिहासिक फड्को,१३ स्थान माथि उक्लियो

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन २२ गते १९:५१
फिफा वरीयतामा नेपाली महिला टोलीको ऐतिहासिक फड्को,१३ स्थान माथि उक्लियो

कावासोती । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ऐतिहासिक फड्को मारेको छ । नेपाल १३ स्थान माथि उक्लँदै ८७औँ स्थानमा पुगेको हो, जुन हालसम्मकै सर्वोच्च वरीयता हो । अघिल्लो महिना सम्पन्न एएफसी महिला एसिया कप छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको नेपालले उज्बेकिस्तानसँगको खेल ३–३ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । यिनै नतिजाहरूले नेपालको वरीयता उच्च बनाउन ठूलो भूमिका खेलेका हुन् ।

यसअघि नेपालको सर्वश्रेष्ठ वरीयता सन् २०१७ मा ९१औँ स्थान थियो । यसपटक त्यो कीर्तिमानसमेत तोड्दै नेपाल ८७औँ स्थानमा पुगेको हो ।

दक्षिण एसियामा दोस्रो

फिफा वरीयतामा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भारत शीर्ष स्थानमा छ । सात स्थान उक्लँदै भारत ६३औँ स्थानमा पुगेको छ । नेपाल दोस्रो स्थानमा रहँदा बंगलादेश तेस्रो स्थानमा छ । बंगलादेश सबैभन्दा ठूलो फड्को मार्दै २४ स्थान सुधार गर्दै १०४औँ स्थानमा पुगेको छ । यसबाहेक पाकिस्तान १५४औँ, श्रीलंका १६१औँ, भुटान १६३औँ र माल्दिभ्स १६५औँ स्थानमा छन् ।

फिफा विश्व वरीयताको शीर्ष स्थानमा स्पेन कायम छ । दोस्रो स्थानमा अमेरिका, तेस्रोमा स्वीडेन, चौथोमा इंग्ल्यान्ड र पाँचौँमा जर्मनी छन् । एसियाली वरीयतामा जापान शीर्ष स्थानमा छ । उत्तर कोरिया दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा छन् । एसियामा नेपाल १६औँ स्थानमा उक्लिएको छ भने भारत १२औँ स्थानमा छ ।

प्रकाशित : २०८२ साउन २२ गते १९:५१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI