नवलपुरमा नेकपाले बनायो भुर्तेल र महतोलाई उम्मेदवार

नवलपुरमा नेकपाले बनायो भुर्तेल र महतोलाई उम्मेदवार

कावासोती । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नवलपुर जिल्लाका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंगो लगाएको छ। पार्टीको निर्णयअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट लोकप्रसाद भुर्तेल र क्षेत्र नम्बर २ बाट गणेशमान महतोलाई उम्मेदवार बनाइएको हो।

उम्मेदवार भुर्तेल र महतो दुवै जना नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्। क्षेत्र नम्बर १ का उम्मेदवार लोकप्रसाद भुर्तेल नवलपुरको देवचुली नगरपालिका निवासी हुन् भने क्षेत्र नम्बर २ का उम्मेदवार गणेशमान महतो कावासोती नगरपालिका निवासी हुन्।

नेकपाले अनुभवी र संगठनमा लामो समयदेखि क्रियाशील नेताहरूलाई उम्मेदवार बनाइएको बताउँदै आगामी निर्वाचनमा जनताको विश्वास जित्ने दाबी गरेको छ। पार्टीका अनुसार दुवै उम्मेदवारले जिल्लाको विकास, सुशासन र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राख्दै चुनावी अभियान अगाडि बढाउने जिल्ला ईन्चार्ज धन प्रसाद सापकाेटाले बताए

यसअघि लोकप्रसाद भुर्तेल गण्डकी प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार रोशन गाहा मगरसँग पराजित भएका थिए। पार्टीभित्र भुर्तेलको संगठनात्मक पकड बलियो रहेको र यसपटक प्रतिनिधि सभा निर्वाचनमा मजबुत तयारीका साथ मैदानमा उत्रिएको नेकपाले जनाएको छ।

त्यस्तै, क्षेत्र नम्बर २ का उम्मेदवार गणेशमान महतो कावासोती क्षेत्रमा परिचित राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन्। लामो समयदेखि पार्टी संगठन र जनसम्पर्कमा सक्रिय रहँदै आएका महतो एमाले, समाजवादी पार्टी हुँदै पार्टी एकतापछि नेकपामा आवद्ध भएका हुन्। उनले स्थानीय मुद्दा र जनचासोलाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology