नेपाल सरकारले यस वर्ष देखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेको छ । गत असार २३ गते बसेको मन्त्रीपरिषद् बैंठकले अब देखि हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।
यस वर्ष प्रथम कोदो दिवस को कार्यक्रम “कोदोजन्य परिकारको आहार; खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलको अध्यक्षयतामा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९, ताथलीमा एक भब्य मूल समारोह बीच आयोजना भएको थियो ।
कोदो बालीको प्रवर्द्धन, खाद्य सुरक्षा, पोषण र स्वास्थ्य प्रति जनचेतना जगाउने उद्देश्य सहित नेपाल सरकार कृषि तथा पशुपछीं विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, एफएओ(संयूक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन), राष्ट्रिय कृषक समूह महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट्स(अनाज)को संयूक्त आयोजनामा कृषि तथा पशुपछीं विकास मन्त्रालयका मन्त्री माननीय रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा, एफएओ(संयूक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन) नेपालका प्रतिनिधि केन शिमिजु, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख, किसान, सञ्चारकर्मी तथा सरोकारवालाहरु आदिको उपस्थितिमा सम्पन्न भएको हो ।
सरकारले पछिल्लो वर्षहरुमा कोदोजन्य बालीहरुको आयात परिमाणमा देखिएको बृद्धिका कारण आयातलाई विस्थापन गरी उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्य लिएको छ । कृषि विभागले दिएको सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा रु.७६ करोड ६३ लााख ८६ हजार बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात भएको छ ।
दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न, जलवायू परिवर्तनबाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य सुरक्षा प्रणालीको विकास मार्फत् कृषिको विकास तथा खाद्य संकटका चुनौतीलाई समाधान गर्ने भएकोले यसको महत्व उजागर गर्न यो दिवस मनाउन लागिएको हो ।
नेपालको भौगोलिक अवस्थिति अनुसार ७७ जिल्ला मै कृषि उत्पादन गर्न सकिने कोदो खेती ६० मिटर देखि ३६५० मिटर समुन्द्री उचाईसम्म हुन्छ । बहुगुणी अन्नका रुपमा रहेको कोदो खेतीका लागि मल, सिँचाइ तथा बीउबिजन पनि धेरै आवश्यक नपर्ने भएको हुँदा यसको उत्दान र बजारीकरणमा विशेष जोड दिनु पर्ने देखिन्छ । यसमा पर्यापत मात्रामा पोषक तत्वहरु पाइने भएकाले गर्भवती महिला, बढ्दो उमेरका केटाकेटी, मधुमेह र उच्च रक्तचाप भएका बिरामीहरुका लागि उत्तम खानाको परिकार हो । कोदोको मुख्यतः ढिंडो, रोटी खाने चलन छ भने पछिल्लो समयमा होटल रेष्टुरेन्टहरुमा यसको विविधिकरणका धेरै परिकारहरु पाइने गरेको छ । गाउँघरमा यसको नल र दाना दुवै पशु आहारका रुपमा प्रयोग गरिन्छ । यसका अलवा कोदोको रक्सी तथा जाँड उत्पादन कार्यमा समेत प्रयोग भएको पाइन्छ । आदिवासी तथा सीमान्तकृत समुदायमा यसको आफ्नै विशिष्ट मौलिक तथा साँस्कृति पहिचान र महत्व रहेको छ ।
सीमान्तकृत जमिन तथा बन्जर पहाडका डाँडाहरुमा पनि सहजै उत्पादन गर्न सकिने र पौष्टिक तत्वले भरिपूर्ण यस बालीले खाद्य तथा पोषण सुरक्षामा पनि प्रमुख भूमिका निर्वाह गरेको छ ।
मानवीय स्वास्थ्यका लागि अति बहुउपयोगी हुने यसको उत्पादनमा आत्मनिर्भरता बढाउन व्यवसायिक कोदो खेती प्रतिको आकर्षण बढाउन सबै तहका सरकारहरु बीच समन्वय, कार्यगत एकता र सामञ्जस्यता कायम गर्नु आवश्यक देखिन्छ ।
प्रकाशित : २०८२ साउन १७ गते १८:४२
Facebook Comment