कावासोती खानेपानीमा झण्डै ५० लाख फजुल खर्च प्रस्ताव

NAWALPUR TIMES

कावासोती खानेपानीमा  झण्डै ५० लाख फजुल खर्च प्रस्ताव

पूर्वी नवलपरासीको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा ग्राहकले तिरेको महसुल मनलाग्दी बजेट बनाएर खर्च गर्दा सालिन्दा फजुल खर्च बढ्दै गएको उपभोक्ताहरूको आरोप छ। यस वर्ष पनि साधारणसभामा झण्डै ५० लाख रकम फजुल खर्च प्रस्ताव गरिएको उनिहरूको गुनासो रहेको छ।

देशको अर्थतन्त्र थिलो,थिलो भएको यस्तो जर्जर अबस्थामा किन फजुल खर्चको प्रस्ताव गरिएको हो भन्ने प्रश्नमा संस्थाका अध्यक्ष दिपक लम्सालले हामीले प्रस्ताव गरेको बजेट सबै खर्च नहुन पनि सक्छ भन्ने जवाफ दिए।खानेपानी संस्थाको २५ औं साधारणसभा शुक्रवार कावासोतीमा आयोजना गरिएको थियो। सभामा ०८२ आषाढ मसान्त सम्मको २९ करोड ६२ लाख ४८ हजार ४ सय ९९ रूपैयाँ ७१ पैसाको वासलात प्रस्तुत गरिएको थियो।

 

संस्थाको बजेटमा प्रस्तावित कार्यक्रमहरू रजत महोत्सव, भ्रमण, पूजा, अतिथि सत्कार जस्ता अनुत्पादक खर्च र शीर्षक मिलाइएका खर्चहरूनै झण्डै ५० लाखको हाराहारीमा रहेको उपभोक्ताहरूको सामुहिक गुनासो रहेको छ। वर्षैपिच्छे यस्ता खर्च कटौतीका कुरा साधारणसभामा उठाउँदा कुनै सुनुवाइ नभएका कारण अब खबरदारी गर्ने बेला आएको उनिहरूहरूको भनाइ रहेको छ। उनुत्पादक खर्च बढ्दै जानु र अत्यावश्यकीय कार्यमा बजेट व्यवस्था नगर्नु समितिको उपभोक्ताप्रतिको लापरवाही भएको सेवाग्राहीको दु:खेसो रहेको छ।

 

२०५७ सालमा स्थापना भएको संस्थाले कावासोती नगरपालिकाको वडा नं १ को केही र २, ३, ५, ६, ८ र ९ नं वडामा गरि जम्मा ९ हजार ५ सय ९६ धारा वितरण गरेको छ। कमान एरियाको ६० हजार जनसंख्यालाइ १५ वर्षसम्म शुद्ध खानेपानी उपलव्ध गराउने लक्ष्य लिएको योजनाको २ सय १३ लिटर प्रति सेकेण्ड पानी वितरण क्षमता रहेको छ। पूर्वी नवलपरासीको सदरमुकाम यसै क्षेत्रमा पर्ने भएका कारण अनियन्त्रित बसाइँ सराइँ खानेपानी संस्थाको प्रमुख चुनौतीको विषय बनेको छ।

 

कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका लेखा समिति संयोजक दिपेन्द्र न्यौपानेलाइ संस्थाको आगामी बजेट कति हो भनेर प्रश्न गर्दा उनले एक्चुवल बजेट आफुलाइ थाहा नभएको बताए। अनुत्पादक र फजुल खर्चको बजेट किन प्रस्ताव गरिएको हो भन्ने प्रश्नमा उनले कटौतीको प्रयास त गरिएको हो तर रहेछ भने सुधार गर्दै लगिने जवाफ दिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology