ओझेलमा परेको नवलपुरको पर्यटन: अबको यात्रा र आवश्यक पहल

ओझेलमा परेको नवलपुरको पर्यटन: अबको यात्रा र आवश्यक पहल

नवलपुर जिल्ला अथाह पर्यटकीय संभावना बोकेको जिल्ला हो । अथाह पर्यटकीय संभावना बोकेर पनि ओझेलमा परेको जिल्लामा पर्दछ नवलपुर जिल्ला , भित्री मधेश, तराई  र पहाडको अत्यन्त रमणीय भुभाग रहेको , प्रचुर पर्यटकीय संभावना बोकेको पर्यटनको विकास तिव्रतर रुपमा गर्न सकिने भएपनि खासै चासोका रुपमा नहेरिएको र हेपिएको जिल्लामा पर्दछ नवलपुर ।

तिन तले जिल्लाको रुपमा परिचित भएर पनि संघ र प्रदेश सरकारले उति चासो नदिएको जिल्लाको पर्यटन यसको संभावना र चुनौतीका बिषयमा यो आलेख मार्फत् केहि प्रष्ट पार्ने कोसिस गरेको छु ।
नवलपुर जिल्ला जहाँ प्राकृतिक विविधता, सांस्कृतिक सम्पदा, धार्मिक केन्द्र, जैविक सम्पदा र ग्रामीण जीवनशैलीको अद्वितीय मिश्रण पाइन्छ ।

यिनै विशेषताले नवलपुर जिल्लालाई पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रको रुपमा लिन सकिन्छ । बि.स. २०७२ सालमा संबिधान जारी भएसंगै साविकको नवलपरासी जिल्ला बिभाजन भई बनेको यो जिल्लाको पर्यटनको प्रचार प्रसार कहिल्यै प्रभावकारी रुपमा हुन सकेन फलस्वरुप अथाह संभावना भएर पनि जिल्लामा उलेख्य मात्रामा पर्यटन भित्राउन नसकेको तितो यथार्थ हामी सामु छदैछ  ।

 

यो कटु यथार्थलाई कसैले नकार्न सक्दैन , मिल्दैन । नवलपुर जिल्लाको तराई देखि भित्री मधेष हुँदै  पहाड सम्म फैलिएका भू–भाग, चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, दक्षीण भएर वग्ने पवित्र कृष्णागण्डकी (नारायणी ) नदि , थारु र मगर समुदायको मौलिक संस्कृति तथा विभिन्न महत्वपुर्ण धार्मिकस्थलहरूले भरिपुर्ण नवलपुर जिल्लाले जो कोहि पर्यटकलाई सजिलै आकर्षित गर्न सक्छ ।

Shashwat dham

नवलपुर घुमेर फर्किएको पर्यटक पटक पटक यहाँ आउन चाहान्छ , उसले अन्य पर्यटकहरुलाई समेत नवलपुर घुम्न सिफारिस गर्दछ । तर हामीले त्यो अनुसारको तयारी गरेका छैनौं , त्यो अनुसारको प्रचार प्रसार हाम्रो तर्फबाट भएको छैन , त्यो अनुसार पर्यटकलाई आकर्षित गर्ने पुर्ण पर्यटकीय योजना अहिले सम्म हामीेले तयार पार्न सकेका छैनौं ।

हामी संग हिरा भएर पनि त्यसको सदुपयोग हामीले पुर्ण रुपमा गर्न सकिरहेका छैनौं । यसलाई सरोकारवाला सबैले एक पटक मनन गरे अब अघि बढ्ने बेला आएको छ । नवलपुरको पर्यटन क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसक्नुका पछाडी  केहि अवरोधहरु छन् । केहि समस्याहरु छन् जसलाई  पहिचान गरेर अघि बढ्न सकियो भने नवलपुर जिल्लालाई पर्यटनको एउटा हवको रुपमा विकास गर्न सकिन्छ ।

देशी बिदेशी पर्यटकहरुलाई यो जिल्लामा अकर्षित गर्न सकिन्छ । नवलपुरको पर्यटनकको दिगो विकासका उपायहरु  अवलम्बन गर्दै एउटा पुर्ण पर्यटकीय योजना बनाएर अघि बढ्न सकियो भने  यी चुनौती समाधान गर्न सकिन्छ । अन्य पर्यटकीय जिल्ला चितवन , कास्की या अरु कुनै जिल्लाले जस्तै हामीले पर्यटकलाई घुम्नका लागि पुर्ण एकिकृत प्याकेज अहिले सम्म दिन सकिरहेका छैनौं ।

hq720

यहाँका होटल र पर्यटन व्यवसायीहरुले आफ्नै तालमा दिएका प्याकेजहरुले मात्र नवलपुरको पर्यटन दिगो विकास हुन सक्दैन । यसका लागि एििकृत रुपमा पुर्ण एकिकृत प्याकेज निर्माण गरेर अघि बढ्न आवश्यक छ । यसो गर्न सकिएमा नवलपुर केवल आन्तरिक पर्यटनको प्रमुख गन्तव्य मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा चिनिने सम्भावना अत्यन्तै प्रबल छ ।

प्रस्तुत लेखमा नवलपुरको पर्यटनका प्रमुख सम्भावना, विद्यमान चुनौती तथा दीर्घकालीन र दिगो विकासका उपायहरू प्रस्तुत गर्ने कोसिश गरेको छु ।

नवलपुरको पर्यटनका सम्भावना

माथीनै उल्लेख गरेको छु , नवलपुर जिल्ला भौगोलिक दृष्टिले अत्यन्त विविध छ , दक्षिणतिर तराईको समथर भू–भाग, उत्तरतिर पाखा , पखेरा , जंगल सहितका पहाडी भू–भाग र बीचमा नदी,चितवन राष्टीय निकुन्ज ,   जंगल तथा मानवस्ती रहेको सुन्दर क्षेत्र , सास्कृतिक बिबिधता , धार्मिक सहिष्णुता यि सबै कुराहरुको निकै सुन्दर संयोजन छ यो जिल्लामा । विविध प्रकारका पर्यटकहरुलाई आकर्षित गर्ने क्षमता नवलपुर जिल्लाले राख्दछ ।

नवलपुर जिल्लाको सबैभन्दा ठूलो प्राकृतिक सम्पदा भनेको चितवन राष्ट्रिय निकुञ्ज हो। नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जको पश्चिम भाग नवलपुर जिल्लामा पर्दछ ।

यहाँ पाइने एकसिँगे गैंडा, बाघ, हरिण, घडियाल मगर गोही तथा सयौँ प्रजातिका चराहरूले नवलपुर जिल्लालाई वन्यजन्तु अवलोकनका लागि अद्वितीय बनाएका छन् । निकुन्ज मात्र नभई यहाँका सामुदायिक र मध्यवर्ती क्षेत्रका वनहरुमा समेत जंग छिरेको केहि क्षणमानै गैडा , हरिण , मृग लगायतको बथान देख्न सकिन्छ । बाघ अवलोकनका लागि समेत नवलपुर क्षेत्र चर्चित छ । गैडा हेर्न नवलपुर जाऔं भन्ने नारालाई प्रचार मात्र गर्न सकियो भने पनि यसले यहाँको पर्यटन विकासमा ठुलो टेवा पुर्याउछ ।   प्राकृतिक रुपमा दोस्रो ठूलो सम्भावनाको क्षेत्र देवचुली डाँडा हो ।

पैदलयात्रा गर्न रुचाउने पर्यटकका लागि यो स्थान स्वर्ग समान छ ।  देवचुली डाँडा पुगेपछि देखिने हिमाल ,पर्वत, मधेश, तराई क्षेत्र, पहाडी भेगको अद्भुत दृश्यहरूले यसलाई पदयात्रा तथा ट्रेकिङका लागि निकै महत्वपुर्ण गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । जति भएको छ त्यो ठिक छ , तर गर्नुपर्ने जती अझै गर्न सकिएको छैन ।  सूर्योदय तथा सूर्यास्त हेर्न सकिने प्रमुख स्थानहरु मध्ये देबचुली डाँडालाई  अग्रपङ्क्तिमा विकास गर्न सकिन्छ ।

sddefault

यस जिल्लाका पहाडी क्षेत्रमा रहेका गुफा, झरना, नदी र शुद्ध प्राकृतिक वातावरणले साहसिक पर्यटन (एड्भेन्चर टुरिज्म) को सम्भावना देखिन्छ । यहाँका प्राकृतिक स्थलहरू हालसम्म पूर्ण रूपमा परिचित बन्न सकेका छैनन्, तर व्यवस्थित प्रचार–प्रसार र पूर्वाधार विकासमार्फत यसलाई गन्तव्यको एउटा प्रुख थलोको रुपमा विकास गर्न सकिन्छ । नवलपुरको कावासोतीमा रहेको टरुवातालालई एउटा प्रुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।

संरक्षणको अभावमा यो तालको अस्तित्व मेटिने हाकी भन्ने खतरा पनि उतिकै छ । सदरमुका नजिकै रहेको यो ताललाई व्यवस्थित गरेर संचालन गर्न सकियो भने आन्तरिक तथा विदेशी पर्यटकहरुको यहाँ घुँईचो लाग्ने कुरामाा दुई मत छैन । स्थानीय , प्रदेश र संघ सरकारले यो तालको व्यवस्थापनका लागि बजेट विनियोजन त गरेका छौं भनेपनि त्यो पर्याप्त छैन । यसका लागि एकिकृत योजना बनाएर विकास गर्न आवश्यक छ ।

triveni dham and valmiki ashram tour23

अर्को तर्फ नवलपुरमा धार्मिक आस्थाका धेरै प्रमुख केन्द्र छन् । त्यसमा पनि मुख्य आकर्षणको धाम हो त्रिवेणी गजेन्द्रमोक्ष धाम । भारतसँग सीमा जोडिएको यो स्थान पुर्णभद्रा , स्वर्णभद्रा र ( कृष्णा गण्डकी ) नारायणी  नदीको संगमस्थल भएकाले अत्यन्त पवित्र मानिन्छ । कार्तिक पूर्णिमादेखि महाशिवरात्रीसम्म यहाँ लाखौँ तीर्थयात्रीहरू आउँछन् । यसको सहि व्यवस्थापन र प्रचार गर्न सकियो भने नवलपुरमा धार्मिक पर्यटनको बाढीनै लाग्दछ ।

यस बाहेक मौलाकाली मन्दिर (गैडाकोट ), शाश्वतधाम ( देबचुली ) पश्चिममा अवस्थित दाउन्नेदेवी, उत्तरमा अवस्थित अकलादेवी, घुमाउरीघाट , मदारवावा , वाल्मिकी आश्रम सहित कावासोतीको महाराजस्थान, देवचुली डाडाँको कुमारवर्ती माई लगायत धार्मिक पर्यटकीय गन्तव्यहरु हुन् ।

90

नवलपुरमा उल्लेख्य मात्रमा बसोबास गर्ने थारु र मगर समुदायको मौलिक संस्कृति, परम्परागत नाचगान, उत्सव, खाना, घर वास्तुकलाले यस क्षेत्रलाई सामुदायिक पर्यटनको केन्द्र बनाएको छ। अमलटारी सामुदायिक होमस्टे नेपालकै उत्कृष्ट होमस्टे मध्य एक मानिन्छ। यहाँ त्यस्ता अन्य ११ वटा सामुदायिक होमस्टे हरु संचानमा छन् । पर्यटकले थारु नृत्य मगर नाच, झुम्रा, लाठी नाच परम्परागत खाना र गाउँजीवन नजिकबाट अनुभव गर्न पाउने भएकाले सास्कृतिक र साुदायिक पर्यटनका हिसावले पनि नवलपुर उतिकै प्रचुर संभावना बोकेको जिल्ला हो ।
यस प्रकारको सामुदायिक पर्यटनले स्थानीयलाई आत्मनिर्भर बनाउनुका साथै पर्यटकलाई पनि मौलिक अनुभव दिन मद्दत गर्छ।

bardia gaida camp resort

नवलपुरका पर्यटनका चुनौतीहरू :

अथाह संभावना बोकेको जिल्ला भएपनि वास्तविकतामा नवलपुरको पर्यटन क्षेत्रले अपेक्षित प्रगति गर्न सकेको छैन । यस जिल्लाको पर्यटन विकासका चुनौतीहरुलाई संक्षेपमा तल चर्चा गरिएको छ ।
(क)  प्रचार–प्रसारको अभाव
देश–विदेशमा नवलपुरका पर्यटकीय सम्भावना परिचित छैनन् । यो सत्य कुरा हो । अमलटारी होमस्टे , त्रिवेणीधा वा चितवन राष्ट्रिय निकुञ्ज मात्र थोरै परिचित छन्, जबकि अन्य प्राकृतिक , धार्मिक , सास्कृतक पर्यटन ,  पहाडी ट्रेकिङ मार्ग तथा प्राकृतिक सम्पदाहरुबारे पर्यटकलाई पर्याप्त जानकारी छैन ।

डिजिटल मार्केटिङको कमजोरी, पर्यटन वेबसाइट तथा सूचना केन्द्रको न्यूनता र समन्वयको कमीले पर्यटनको वृद्धि रोकिएको कुरालाई नकार्न मिल्दैन ।

(ख) तालिमप्राप्त जनशक्तिको अभाव

अन्य पर्यटीय केन्द्रहरुमा जस्तै नवलपुरमा व्यावसायिक र प्रशिक्षित गाइडहरूको कमी देखिन्छ । होमस्टे सञ्चालक, स्थानीय पर्यटन व्यवसायी, होटल लज सञ्चालकहरूमा पर्यटक व्यवस्थापन, स्वच्छता, आतिथ्य सेवा र भाषा सीपसम्बन्धी तालिमको आवश्यकता छ । यहाँका पयैटन व्यवसायीहरुले यस्तो प्रकारको तालिम नलिएकै भन्ने त होईन तर जिल्लालाइ एउटा पर्यटकीय केन्द्रका रुपमा विकास गर्न जति हुन पर्ने हो त्यो भएको छैन । अर्थात त्यो पर्याप्त भएको छैन । यसकारण तालिम तथा प्रशिक्षहरुा बृद्धी गर्न आवश्यक देखिएको छ ।

(ग) मानव–वन्यजन्तु द्वन्द्व

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका ठाउँहरुमा वन्यजन्तु (विशेष गरी बँदेल, हात्ती, गैंडा) द्वारा खेतबारी नष्ट हुने, घरमा आक्रमण हुने, जनधन क्षति हुने समस्या वर्षौंदेखि विद्यमान छ ।
पर्यटन विकास गर्न वन्यजन्तुसँग सहअस्तित्व आवश्यक पर्छ, । स्थानीय बासिन्दामै असुरक्षा भए पर्यटनलाई दयो रुपमा अगाडी बढाउन सकिंदैन । त्यसकारण मानव वन्य जन्तु दन्द व्यवस्थापनका लागि राज्यले वातावरण बनाउन आवश्यक छ । यसका लागि राज्यले लगानी बढाएर स्थानीय पर्यटन व्यवसायीहरुलाई सुरक्षीत महसुस गराउन सक्यो भने जिल्लाको पर्यटन व्यवसायमा यसले टेवा पुर्याउछ ।

(घ)  वातावरणीय समस्या

जिल्लामा पछिल्लो समय अव्यवस्थित  निर्माण, फोहोर व्यवस्थापनको कमजोरी, नदी किनारको अतिक्रमण, र प्लास्टिक प्रदूषणको समस्या बढ्दै गइरहेको छ। दिगो पर्यटनका लागि वातावरणीय संरक्षण अनिवार्य छ, । वातावरणीय प्रदुषणले पर्यटन विकासमा बाधा पुर्याउछ । यसकारण यस तर्फ सरोकारवालाहरुको ध्यान जना आवश्यक देखिन्छ ।

दिगो पर्यटन विकासका उपायहरू :

दिगो पर्यटनका तिन वटा स्तभहरु हुन्छन् । े वातावरण संरक्षण, आर्थिक लाभ र सामाजिक–सांस्कृतिक सम्मान एवं संरक्षण , यी तीन  नवलपुरमा दिगो पर्यटन विकासका लागि के गर्न सकिएला त , केहि सुझावहरु प्रस्तुत गरेको छु ।
दिगो पर्यटन विकासका लागि पहिलो र प्रमुख आवश्यकता पूर्वाधार नै हो । पर्यटकीय स्थलसम्म पुग्ने सडक कालोपत्रे वा ग्राभेल छैनन् भने त्यस तर्फ सरोकाररवालाहरुको ध्यान जान आबश्यक छ । तराई र भित्री मधेषमा सडक मार्ग केहि सहज भएपनि पहाडी पर्यटकीय गन्तव्यहरु सम्म पुग्ने पहुँच मार्गहरु सहज छैनन् । पदयात्रामा जाने पर्यटकका लागि पनि सहज र सुरक्षीत मार्ग निर्माण भएका छैनन् । यसकारण पहिले पुर्वाधार विकासमा जोड दिन आवश्यक छ ।
पर्यटकका लागि आवश्यक संकेत ,बोर्ड, नक्सा, दिशानिर्देश, सूचना केन्द्रहरु पर्याप्त मात्रमा पर्यटकीय स्थहरुमा देखिदैन । यसको व्यवस्थानमा जोड दिन आवश्यक छ । स्वच्छ पानी, सार्वजनिक शौचालय, सफाइ केन्द्र र विश्रामस्थल  निर्माण आवश्यक छ ।पूर्वाधार बनेपछि मात्र पर्यटकको आगमन वृद्धि हुन्छ भन्ने सत्यलाई हामीले भुल्नु हुँदैन ।

अर्को कुरा पर्यटनबाट हुने आय स्थानीय समुदायमा प्रत्यक्ष लाभ हुने गरि  पुग्नुपर्छ ।  यसका लागि होमस्टे सञ्चालकलाई आतिथ्य, स्वच्छता, भाषा सीप  सम्बन्धी तालिम दिने , स्थानीय उत्पादन को प्रवद्र्धन गर्ने ,वातावरणमैत्री पर्यटनका लागि समुदायलाई फोहोर व्यवस्थापन, रिसाइकल, प्लास्टिक न्यूनिकरण सम्बन्धी तालिम दिने लगायतका काम गर्न आवश्यक छ । जति भएका छन् त्यो राम्रो भयो तर त्यो पर्याप्त छैन यसलाई अगाडी उल्लेख्य मात्रामा  अगाडी बढाउन आबश्यक छ ।
नवलपुर जिल्लाको पर्यटन पछाडी पर्नुको एउटा मुख्य कारण हो । डिजिटल प्रचार प्रसारको कमी , अहिलेको  युगमा पर्यटन वृद्धि गर्न डिजिटल प्रवद्र्धन अत्यावश्यक छ । माथीनै उल्लेख गरेको छु , हामी कहाँ एकिकृत पर्यटन योजना छैन  , त्यसैको अभावले हाम्रो पर्यटन अथाह संभावना हुँदा हुँदै पनि ओझेलमा परेको छ ।

अब हामीले एकीकृत डिजिटल पर्यटन पोर्टल विकास गर्न आवश्यक छ । , जहाँ नवलपुरका सबै पर्यटकीय स्थल, होटल, गाइड, यात्रा मार्ग, भाडा, होमस्टे विवरण उपलब्ध होस् । हामीले सामाजिक संजालको अधिकतम उपयोग जिल्लाको पर्यटन विकासमा गरेका छैनौं । अब यसलाई बढोत्तरी गर्न आवश्यक छ ।
जिल्लालाई  अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउन यी उपायहरू अत्यन्त प्रभावकारी हुनेछन् ।

नवलपुरमा  होटल, रिसोर्ट, भ्यू–टावर, मनोरञ्जन पार्क, एड्भेन्चर स्पोट्र्स जिपलाइन, प्याराग्लाइडिङ जस्ता परियोजनामा निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक देखिन्छ । यसमा स्थानीय सरकार, पर्यटन व्यवसायी , निकुञ्ज, र व्यवसायीबीच सहकार्य हुन आवश्यक छ ।

अन्त्यमा ,

नवलपुर जिल्ला पर्यटनका दृष्टिले नेपालको धेरै संभावना बोकेको जिल्ला मध्यको एक हो ।  यहाँको प्राकृतिक सौन्दर्य, धार्मिक केन्द्र, सांस्कृतिक विविधता,जैविक सम्पदा र सामुदायिक पर्यटनले नवलपुरलाई  विशिष्ट पहिचान दिएको छ । हामी संग प्रचुर पर्यटकीय  संभावना छ , तर हामी त्यसै अलमल परिरहेका छौं । अब अलमल गर्ने बेला छैन । जिल्लाको पर्यटकीय केन्द्रहरुलाई व्यापक प्रचार प्रसार गरि एकिकृत योजना बनाएर सबै सरोकारवालाहरु बिच सहकार्य बढाएर अघि बढौं ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology