कावासोती । नेपाल निजामती कर्मचारी युनियन नवलपुरले आगामी गण्डकी प्रदेश अधिवेशनमा नेतृत्व गर्ने तयारी थालेको छ। यसअघि कास्की जिल्लाले प्रदेश नेतृत्व गर्दै आए पनि अब हुने प्रदेश अधिवेशनमा नवलपुरले नेतृत्व लिन सक्रिय भूमिका खेल्ने भएका हुन ।
जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठका अनुसार तीन वर्षको अन्तरालमा हुने कर्मचारी युनियनको अधिवेशनका लागि नवलपुरबाट प्रतिनिधित्व गर्ने कर्मचारीहरूकै नेतृत्वमा प्रदेशस्तरीय नेतृत्व लिन व्यापक तयारी भइरहेको छ। उनले नवलपुरका कर्मचारीहरू सक्रिय रहेको भन्दै अबको नेतृत्व नवलपुरबाट चयन गर्नुपर्नेमा जोड दिए।
प्रदेश अधिवेशनका लागि हालसम्म नवलपुरसहित चार जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी जिल्लाहरूको अधिवेशन सकिएपछि प्रदेश अधिवेशनको मिति निर्धारण गरिने युनियनले जनाएको छ। श्रेष्ठका अनुसार यस पटकको प्रदेश अधिवेशनमा नवलपुरबाट अध्यक्षसहित ११ जना प्रतिनिधिहरू सहभागी हुनेछन्।
श्रेष्ठले नवलपुर जिल्लाका निजामती कर्मचारीहरू एकजुट भएर संगठनलाई मजबुत बनाउने उद्देश्यसहित गण्डकी प्रदेश नेतृत्वमा पुर्याउन रणनीतिक छलफल गरिरहेको बताए। उनले भने, “नवलपुरका कर्मचारीहरू सक्षम, इमानदार र संगठनप्रति प्रतिबद्ध छन्। आगामी प्रदेश अधिवेशनमा नेतृत्व लिनका लागि हामी सबै एकजुट भएका छौँ।”
यसअघि कास्की जिल्ला प्रदेश नेतृत्वमा रहँदै आएको भए पनि अब नवलपुरले आगामि नेतृत्व गर्नुपर्नेमा छलफल चलाएकाे हाे ।कर्मचारी युनियनका नेताहरूले संगठनलाई समावेशी बनाउँदै सम्पूर्ण जिल्लालाई समान अवसर दिने पक्षमा ध्यान दिनुपर्ने बताएका छन्।
प्रदेश अधिवेशनको नेतृत्व चयन प्रक्रियामा नवलपुरले कस्तो प्रभाव पार्नेछ भन्ने चासो बढ्दो छ।
प्रकाशित : २०८१ फागुन २६ गते १२:४४
Facebook Comment