नवलपुरमा वार्षिक झन्डै २३ करोडको माछा उत्पादन, किसान अझै समस्यामै

NAWALPUR TIMES
प्रकाशित : २०८२ भदौ १९ गते २०:५०
नवलपुरमा वार्षिक झन्डै २३ करोडको माछा उत्पादन, किसान अझै समस्यामै

नवलपुर ।  नवलपुर जिल्लामा माछा उत्पादनले आत्मनिर्भरता हासिल गर्न थालेको छ। जिल्लामा मात्रै वर्षेनी करिब २३ करोड रुपैयाँ बराबरको माछा उत्पादन हुँदै आएको छ। तर, यति ठूलो आम्दानी हुँदाहुँदै पनि किसानहरू अझै समस्याबाट मुक्त हुन नसकेको माछा व्यवसायीहरूले गुनासो गरेका छन्।

बिहिबार कावासोतीको अमलटारीमा सम्पन्न भएको नवलपुर मत्स्य व्यवसायी संघको प्रथम वार्षिक साधारण सभामा माछा पालक किसानहरुले बजार व्यवस्थापन, जीवित माछा ढुवानी, सहुलियतपूर्ण ऋण र व्यवसायिक सीप अभावका कारण धेरै कठिनाइ भोग्नुपरेको अनुभव साझा गरे।

संघका अध्यक्ष इन्द्रमणि भुसालले माछा पालक किसानहरूको जीवनस्तर उकास्न राज्यबाट पर्याप्त सहयोग नभएकै कारण समस्या समाधानमा ढिलाइ भएको बताए। उनले भने, “हामीसँग उत्पादन गर्ने क्षमता छ, तर पूँजीको कमी र व्यवसायिक सीपको अभावले पूर्ण लाभ लिन सकिरहेका छैनौं। जीवित माछा ढुवानीमा समस्या छ, सहुलियत ब्याजमा ऋण पाउन गाह्रो छ, बजारमा बिक्री–वितरणमै किसानहरू समस्यामा परेकाे उनले बताए

भेटनरी अस्पताल तथा पशु सेवा सेवा केन्द्र नवलपुरकी प्रमुख डा. शर्मिला कुमालका अनुसार जिल्लामा वार्षिक ९ हजार ६० मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। उनले किसानहरूका लागि तालिम तथा राहत वितरण हुँदै आएको र आगामी दिनमा क्वारेन्टाइन व्यवस्थापन र बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन कार्यालय लागि परेको बताइन्।

संघको तथ्याङ्कअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये कावासोती, देवचुली, मध्यविन्दु, गैडाकोट र विनयी त्रिवेणीमा व्यवसायिक माछा पालन बढी हुने गरेको छ। यी क्षेत्रमा उत्पादित माछा जिल्लाभित्र मात्र नभई चितवन, रुपन्देही हुँदै काठमाडौं उपत्यकासम्म आपूर्ति हुदै आईरहेकाे छ

हाल नवलपुरमा करिब २ सय बिगाहा क्षेत्रफलमा ३ सय भन्दा बढी पोखरीमार्फत व्यवसायिक रुपमा माछा पालन हुँदै आएको छ। यसबाट वार्षिक करिब २३ करोड रुपैयाँ बराबरको माछा उत्पादन हुने गरेको संघले जनाएको छ।

Messenger creation 02FD2DCC 5B21 4E01 91A1 4853C8157657
कार्यक्रममा सहभागी किसानहरूले तालिम, प्रविधि, अनुदान र सहुलियत ऋणको सहज पहुँच भए नवलपुर नेपालकै प्रमुख मत्स्य उत्पादन केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे।

देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्याल, खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, देवचुली–१३ का वडा अध्यक्ष एकदेव पौडेललगायतले माछा पालन व्यवसायलाई राज्यले प्राथमिकतामा राखेर किसानको समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

साधारणसभामा अध्यक्ष भुसालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण गुरौले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ।

प्रकाशित : २०८२ भदौ १९ गते २०:५०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI