मर्यादित रूपमा होली मनाउन नवलपुर प्रशासनको आग्रह,उम्मेदवारको चिन्ह र फोटो अंकित टिसर्ट लगाए कार्वाही हुने

मर्यादित रूपमा होली मनाउन नवलपुर प्रशासनको आग्रह,उम्मेदवारको चिन्ह र फोटो अंकित टिसर्ट लगाए कार्वाही हुने

कावासोती । होली पर्वलाई मर्यादित, सभ्य र सुरक्षित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्लावासीलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनाअनुसार फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव, आपसी सहिष्णुता र सांस्कृतिक मूल्य–मान्यतालाई आत्मसात गर्दै पर्व मनाउन अनुरोध गरिएको छ।

सूचनामा जबरजस्ती रंग दल्ने, केमिकलयुक्त वा फोहोर पदार्थ प्रयोग गर्ने, पानी वा लोला हान्ने, सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति भंग गर्ने तथा सवारी आवागमन अवरुद्ध गर्ने कार्य नगर्न स्पष्ट निर्देशन दिइएको छ।

त्यस्तै, कसैको इच्छा विपरीत अभद्र व्यवहार गर्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, ठूलो आवाजमा डिजे बजाउने, हातहतियार वा नक्कली हतियार प्रयोग गर्ने जस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ।

आगामी प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आचारसंहिता लागू रहेकाले होलीका नाममा राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचार–प्रसार गर्ने, चुनाव चिह्न अंकित कपडा, टोपी, झण्डा, स्टिकर, ब्यानर प्रयोग गर्ने कार्य पनि निषेध गरिएको छ।

प्रशासनले सूचनामा उल्लिखित गतिविधि गरे/गराएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology