परिणाम खोजिरहेको नवलपुर–२, विकल्पका रूपमा घर्तीको दाबी

NAWALPUR TIMES

परिणाम खोजिरहेको नवलपुर–२, विकल्पका रूपमा घर्तीको दाबी

कावासोती । ओम बहादुर घर्ती मगरले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना, मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। नेपाली कांग्रेसका तर्फबाट नवलपुर जिल्ला क्षेत्र नं. २ का उम्मेदवार रहेका घर्ती यतिबेला विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।

नवलपुर–२ का सबै वडामा सम्पर्क कार्यालय स्थापना गर्दै उनले चुनावी अभियानलाई संगठित र प्रभावकारी बनाउने रणनीति अघि सारेका छन्। घरदैलो कार्यक्रममार्फत नागरिकका समस्या, सुझाव र अपेक्षाहरू सुन्दै उनले अब क्षेत्रले आश्वासनभन्दा परिणाम खोजिरहेको बताएका छन्। “अब नवलपुर–२ ले केवल आश्वासन होइन, परिणाम खोजिरहेको छ। हामी सक्छौँ, परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ म जनताको साथ र मत माग्न आएको छु,” उनले भने।

घर्तीले शिक्षा, रोजगारी, कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखेका छन्। विशेषगरी नारायणी नदी तटबन्ध निर्माण तथा सुदृढीकरणमार्फत बाढी र कटानको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्दै आएका समस्या समाधानका लागि उनले संघीय संसदबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली संशोधन गर्न पहल गर्ने घोषणा गरेका छन्। स्थानीयको जीवनयापन, क्षतिपूर्ति, वन्यजन्तुजन्य क्षति तथा जग्गा उपयोगका विषयलाई न्यायोचित ढंगले सम्बोधन गर्ने उनको प्रतिबद्धता छ।

त्यस्तै त्रिवेणी–दुम्किबास जोड्ने नयाँ सडक निर्माणलाई प्राथमिक परियोजनाका रूपमा अघि सार्दै उनले क्षेत्रीय आवागमन, व्यापार र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने बताएका छन्। नमूना सदरमुकाम निर्माणका बाँकी कामहरू शीघ्र सम्पन्न गरी व्यवस्थित प्रशासनिक केन्द्रको विकास गर्ने योजना पनि उनले प्रस्तुत गरेका छन्।

यससँगै उनले युवामुखी ‘जेनजी’ आन्दोलनका मागलाई संस्थागत रूपमा सम्बोधन गर्ने दाबी गरेका छन्। रोजगारी, सुशासन र पारदर्शिताको सवालमा उठेका आवाजलाई नेपाली कांग्रेसकै नेतृत्वमा नीति र कार्यक्रममार्फत समाधान गर्न सकिने उनको भनाइ छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता दोहोर्‍याउँदै उनले पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन्। घरदैलो अभियानमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ।आगामी दिनहरूमा पनि क्षेत्रका सबै गाउँ–बस्तीमा पुगेर प्रत्यक्ष संवादलाई निरन्तरता दिने घर्तीले बताएका छन्। नवलपुर–२ को आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई नयाँ गति दिन सक्षम, इमानदार र प्रतिबद्ध नेतृत्वको विकल्प आफू नै भएको उनको दाबी छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology