कावासोती । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको सुख्खा पहिरो हटाउन शुरू भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार बिहान सात बजेदेखि चार वटा मेसिन प्रयोग गरेर काम थालिएको छ । तर पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने अवस्था छ । सकेसम्म बेलुकासम्म खुलाउने योजनाका साथ काम थालिएको जिल्ला प्रहरी कार्यलय चितवनका सूचना अधिकारी खनालले जनाकारी दिनुभयो ।
पहिरोले सडक बन्द हुँदा यात्रु र चालकलाई वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुर, चितवनले अनुरोध गरेको छ । तुइन खोला पुल नजिकै हिजो बेलुका ठूलो पहिरो खसेपछि गाडीको आवतजावत पूर्णरूपमा बन्द छ । हिजो दिउँसोदेखि नै सडक बन्द भएकोमा बेलुका थप पहिरो खसेपछि यो सडक खुलाउन समय लाग्ने भएको हो । सडक तत्काल नखुल्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि हिजो नै वैकल्पिक सडक प्रयोग गर्न सूचित गरेको थियो ।
वैकल्पिक सडकका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो । चितवनबाट काठमाण्डौ आउजाउ गर्नका लागि (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ ।
प्रकाशित : २०८२ असोज ८ गते ९:४६
Facebook Comment