कावासोती । नारायणगढ-बुटवल सडकखण्डको विस्तार अब आउँदो बर्खाअघि सम्पन्न हुने विश्वासिलो आधार देखिएको अधिकारीहरूले जनाएका छन्।
उक्त खण्ड विस्तार र स्तरोन्नतिको काम साढे तीन वर्षमा अर्थात् २०७९ सालको साउनसम्म सक्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो। तर अघिल्ला तीन पटक म्याद थपिएको समयभित्र पनि काम नसकिएपछि चौथो पटक २०८३ साल साउन ७ गतेसम्म म्याद थप गरिएको हो।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकाल अब भने निर्धारित समयभित्रै काम पूरा हुनेमा विश्वस्त देखिए। उनले महिनौँदेखि उक्त खण्डमा यात्रा गर्दा निकै सकस सृजना हुने गरेको दाउन्ने सडकखण्डको काम करिब तीन महिनाभित्रै सम्पन्न हुने बताए।”कतिपय ठाउँमा एकतर्फी यातायात सञ्चालन गरिरहेका बेला त्यही गाडी बिग्रिँदा चार घण्टासम्म पनि यातायात प्रभावित हुने गरेको छ,” ढकाल भन्छन्, “अब तीन महिनाभित्र दाउन्ने खण्डको काम सकिन्छ।”
दाउन्ने : जटिल किन, काम कति बाँकी?
पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक योजनाले करिब ११४ किलोमिटर समेट्छ। भएको पिच बाटो भत्काएर काम थालिएकाले त्यो बाटोको यात्रा निकै सकसपूर्ण बनेको करिब छ वर्ष भयो। दाउन्नेबाट पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा बाँडेर सडक विस्तारको काम भइरहेको छ।
नारायणगढ-बुटवल सडक योजना पूर्वी खण्डमा नवलपरासी बर्दघाट-सुस्तापूर्व जिल्लाको गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्छ । पश्चिमी खण्डमा नवलपरासी बर्दघाट-सुस्तापश्चिम जिल्लाको दाउन्नेदेखि रूपन्देही जिल्लाको बुटवलसम्म करिब ४९ किमि लामो सडक पर्छ।ती दुवै खण्डको समथर भूभागमा दुई लेन बाटो कालोपत्रे बनाएपछि केही सहज बनेको थियो। तर दाउन्नेमा काम थालिएसँगै यात्रा कष्टपूर्ण बन्न पुगेको देखिन्छ। पूर्वी खण्डअन्तर्गत दाउन्नेमा पर्ने चार किमिमध्ये दुई किमि र पश्चिमी खण्डअन्तर्गत पर्ने दाउन्नेको १० किमिमध्ये ५ किमिको काम सम्पन्न भइसकेको अधिकारीहरूले जनाएका छन्।
“दाउन्नेको पहाडमा नरम खालको भूबनोट, धेरै घुम्ती, पानी जम्ने, पिच भत्किने र उकाली-ओरालीले गर्दा यातायात सञ्चालन गर्दै काम गर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको हो,” आयोजना निर्देशक ढकाल भन्छन्, “अहिले कामलाई बाधा परेको छैन।”नारायणगढ-बुटवल सडक योजना पश्चिम खण्डका आयोजना प्रमुख पशुपति ज्ञवालीका अनुसार दाउन्नेस्थित दुवै खण्डको सिमानामा पर्ने विश्वकर्मा मन्दिरआसपासको क्षेत्रमा समस्या देखिएको हो। “दुबैतर्फ ७ किमिको काम बाँकी छ, काम चलिरहेको छ, निर्धारित समयमा सकिने देखिन्छ,” ज्ञवालीले बताए।
खराब अभ्यासको ‘आसन्न अन्त्य’
उक्त सडक खण्ड निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ। एशियाली विकास बैङ्कको ८५ प्रतिशत र बाँकी नेपाल सरकारको गरेर करिब १७ अर्ब रुपियाँ लागत निर्धारण गरिएको अधिकारीहरूले जनाएका छन्।
अधिकारीहरूका अनुसार महँगी लगायतका कारणले सम्पन्न हुँदासम्म लागत १९ अर्ब पुग्ने अनुमान गरिएको छ। पूर्वी खण्डमा तीन दर्जन ठूला-साना पुल तथा दुई सयभन्दा बढी कल्भर्टहरू तथा पश्चिम खण्डमा करिब ३० वटा साना-ठूला पुल बनाउने गरी ठेक्का सम्झौता भएको हो।
दुम्कीबासस्थित विनयी खोलामा बनाइएको डाइभर्शन करिब एक दर्जन पटक बगाउँदा आकस्मिक रूपमा घण्टौँसम्म यातायात अवरुद्ध हुन पुगेको थियो। बेलाबखत अहिले पनि कैयौँ किमि लामो जाम परेको खबरहरू पनि आउने गर्छन्। “हुन त कोभिड महामारी, स्थानीय क्षेत्रमा पाइने निर्माण सामग्री आपूर्ति र रुख कटानलगायतमा सरकारी प्रक्रियागत ढिलाइ पनि जिम्मेवार छन्,” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले भने, “झन्डै मेलम्ची खानेपानी आयोजनाको विफलताको नयाँ संस्करण बन्ने जोखिम थियो, निकै आलोच्य बनेको यो अभ्यासको अब छिट्टै अन्त्य हुने छ।”यो सडकखण्डमा भएको ढिलाइ र सर्वसाधारणले पाएको कष्ट राष्ट्रिय मुद्दाजस्तै बन्दै आएको थियो। सडक विभागको आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकाल भन्छन्, “सामान्य काम र रङ्गरोगन बाँकी रहे मात्रै, नत्र सबै काम तोकिएकै समयभित्र सकिन्छ, म्याद थप्नुपर्ने अवस्था आउँदैन।”-बिबिसी
Facebook Comment