कता गायब भयो नमुना सदरमुकाम निर्माण स्थलबाट ६५ बण्डल फलामको रड ?

NAWALPUR TIMES

कता गायब भयो नमुना सदरमुकाम निर्माण स्थलबाट ६५ बण्डल फलामको रड ?

कावासोती । नवलपुरको कावासोतीमा निर्माणाधिन नमूना सदरमुकामबाट ६५ बण्डल फलामको रड गायब भएको छ । रौतहटको चौधरी कन्ट्रक्सनले भवन निर्माण गरिरहेको स्थलबाट फलामको रड गायब भएको हो ।

कन्ट्रक्सनका ठेकेदार उपेन्द्र चौधरीले आफू नभएको बेलामा आफ्नै कर्मचारीले रड हिनामिना गरेको आरोप लगाएका छन् । ‘‘म तीन/चार महिनाका लागि जुम्लाका इन्जिनियर सुवास शाहीलाई जिम्मेवारी दिएर भारत गएको थिए, त्यही मौकामा ६५ बण्डल रड गायब भएको छ,’’ चौधरीले भने, ‘‘अहिले शाही फरार छन्, फोन गर्दा फोन पनि उठ्दैन ।’’  शाहीले कावासोतीका केही हाडवेयर पसलहरुमा रड बेचेको हुन सक्ने भन्दै अनुसन्धान गरिदिन चौधरीले आग्रह गरेका छन । । तर उनले रड हराएको बारेमा अनुन्धान गर्नका लागि कतै निवेदन भने दिएका छैनन् ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यस विषयमा कार्यालयमा उजुरी नपरेकोले कुनै जानकारी नभएको बताए । ‘‘बरु निर्माणको काम सुस्त भयो भनेर  आयोजनालाई ताकेता गर्न भनेका छौं, रड हराएको बारेमा भने कुनै गुनासो आएको छैन,’’ प्रजिअ पाण्डेले भने ।

चौधरी कन्स्ट्रक्सन प्रा.लि. रौतहट र समानन्तर बुद्ध हिमाली जे.भि. पुरानो वानेश्वर काठमाडौंले पहिलो चरणमा ५ अर्ब २१ करोडमा सदरमुकाममा भवन निर्माणको ठेक्का लिएका छन् ।

चौधरी कन्स्ट्रक्सनले जिल्ला प्रशासन कार्यालय रहने भवनसहित २ वटा एकीकृत भवन बनाईरहेको छ । दुईवटा एकीकृत भवनमा चारवटा कार्यालय रहने छन् । जसका लागि ३४ करोडमा ठेक्का दिइएको हो । पहिलो चरणको निर्माणको काम साढे २ वर्ष भित्र सक्ने गरी सम्झौता भएको छ ।

संघीय सरकार अन्तरगतको जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, सभा हल र ४ वटा एकिकृत भवनको काम अघि बढिरहेको छ ।

देशकै नमुना भनिएको सदरमुकाम स्थलमा संघीय सरकारका २२ र प्रदेश अन्तरगतका ११ कार्यालय रहने छन् । त्यस अतिरिक्त कावासोती नगरपालिकाको भवन, २५ हजार दर्शक अट्ने फुटबल रंगशाला र १५ हजार दर्शक क्षमताको क्रिकेट मैदान पनि बनाइने छ । नमुना सदरमुकामको डिपिआर बमोजिम सबै काम सक्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुैपयाँ लाग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology