नवलपुर, ७ असोज
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको नेतृत्वमा तथा नवलपुर जिल्लास्थित विभिन्न नगर उद्योग वाणिज्य संघहरूको संयुक्त पहलमा सोमबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाइएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपुरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनको नेतृत्वमा देवचुली उद्योग वाणिज्य संघ, नवलपुर उद्योग वाणिज्य संघ र मध्यबिन्दु उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी भबेश्वर पाण्डेलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।
ज्ञापनपत्रमार्फत हालै भएका सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ। साथै जिल्लामा शान्ति–सुरक्षाको प्रत्याभूति गर्न राज्य संयन्त्रलाई अझ प्रभावकारी बनाउन ध्यानाकर्षण गराइएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष भट्टचनले व्यवसायी तथा उद्यमशील वातावरणमा असुरक्षा बढ्दा व्यापार–व्यवसाय प्रभावित भएको उल्लेख गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि शान्ति–सुरक्षा सुनिश्चित हुनु अपरिहार्य रहेकोमा जोड दिएका थिए।
प्रमुख जिल्ला अधिकारी पाण्डेले बुझाइएको ज्ञापनपत्र तत्काल उच्च तहमा पठाइने र आवश्यक सुरक्षा व्यवस्थाबारे सम्बद्ध निकायलाई निर्देशन दिइने आश्वासन दिएका छन्।
प्रकाशित : २०८२ असोज ७ गते १९:१९
Facebook Comment