नवलपुरमा हरेक वर्ष औलोका बिरामी थपिँदै, उल्मुलनमा समस्या

NAWALPUR TIMES

नवलपुरमा हरेक वर्ष औलोका बिरामी थपिँदै, उल्मुलनमा समस्या

कावासोती । नेपालमा औलो नियन्त्रण प्रयासको सय वर्ष पुगिसकेको छ । औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार सन् २०२५ सम्म औलोमुक्त हुने नेपालको लक्ष्य छ । तर, भारतसहितका देशबाट भित्रिने औलोको दर कम नहुँदा नेपालका लागि लक्ष्य हासिल गर्न कठिन देखिएको छ । नवलपुरमा पछिल्लो चार वर्षको तथ्यांकले हरेक वर्ष औलोका बिरामी बढिरहेको देखाएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा तीन जना बिरामी भेटिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा ७ जनामा औलोको संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका ल्याव टेक्निसियन निरिक्षक डिल्लीराम तिवारीका अनुसार कावासोती नगरपालिका–३ र ४ मा एक एक जना, हुप्सेकोट–१ मा दुई जना, विनयी त्रिवेणी ३ र ४ मा एक एक जना र बुलिङटार–५ मा एक जना गरी सात जनामा औलोको संक्रमण देखिएको हो ।

फेला परेका सबै औलोका बिरामी पुरष रहेको र सबै आयातित रहेको कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा पछिल्ला केही वर्षमा देखिइरहेको औलो संक्रमणको ९५ प्रतिशतभन्दा बढी भारतलगायतका देशबाट भित्रिने गरेको तथ्यांक छ ।

आर्थिक वर्ष ०७७/७८ मा दुई पुरुष, ०७८/०७९ मा एक महिला र पाँच पुरष, ०७९/८० मा ६ पुरुष, ०८०/०८१ मा चार पुरुषमा औलो देखिएको कार्यालयले जनाएको छ । अहिलेसम्म देखिएका सबै आयातित केश भएको सुवेदीले बताए ।

यस्ता छन् औलोका लक्षण
मध्यविन्दु प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. अविनास पोख्रेलका अनुसार सामान्य विरामीमा दिनहुँ वा एक दिन विराएर ज्वरो आउने, पसिना आउने, टाउको दुख्ने, थकित हुने, जाडो हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, चक्कर लाग्ने, मांशपेशी तथा जोर्नीहरु दुख्ने र वान्ता हुने जस्ता लक्षण देखिएमा औलो लागेको हुन सक्छ ।

यी लक्षण देखिए पनि नियमित अस्पतालमा चेकजाँच गराउने आउने विरामीको संख्या भने निक्कै न्यून रहेको डा. पोख्रेलले बताउनुभयो । भारतसँगको खुल्ला सिमानाका कारण औलो उन्मुलनमा जोखिम रहेको डा. पोख्रेलको भनाइ छ ।

औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट हुने एक प्रकारको सरुवा रोग हो । मानिसमा सर्ने पाँच प्रकारका औलोमध्ये प्लाज्मोडिम फल्सिपारुम कडा खालको औलो हो भने समयमै यसको उपचार नगरे मानिसको ज्यान जान पनि सक्ने चिकित्सकको भनाइ छ ।

बच्ने उपाय

प्रादेशिक स्वास्थ्य कार्यालयका अनुसार औलोबाट बन्च घर वरपर पानी जम्ने खाल्डाखुल्डी भएमा पुर्ने, अनिवार्य रुपमा झुलको प्रयोग गर्ने, मच्छेट धुप वा लामखुट्टे भगाउने विद्युतीय सामाग्रीको प्रयोग गर्ने र लामबाउले कपडाको प्रयोग गर्नु पर्ने चिकित्सकको सुझाव छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology