आत्मरक्षाका लागि सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु

सन्जय भट्टराई
प्रकाशित : २०८१ माघ २४ गते ०:४८
आत्मरक्षाका लागि सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु

कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधबार दिउसो  गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

गत असोज देखि मकुना मानव बस्तीमा पसेर स्थानीयलाई आतंकित बनाउदै आएको थियो । पटक पटक मकुनालाई बस्तीमा पसेको बेला निकुञ्जका हात्तीको सहयोगमा लखेटेर जंगल पठाउदै आईएको थियो ।

बुधबार दिउसो मानव बस्ती प्रवेश गर्न लागेको सुचना पाए पछि लखेटेर कोर एरियामा पठाउनका गएको नयाँ गोरख गण (क) गुल्म सौराहाका नेपाली सेना र निकुञ्जका हात्ती गस्ती टोलिलाईनै आक्रमण गर्न आउने क्रममा चुरेगज हात्तीलाई मकुनाले आक्रमणको प्रयास गरेको सूचना अधिकारी थापाले बताए ।

चुरे गज सहितको गस्ती टोलीलाई आक्रमणको प्रयास गरे पछि नेपाली सेनाले २ राउन्ड हवाई फायर गरेको थापाले बताए । हवाई फाएर गर्दा समेत नभागेर मकुनाले खगेन्द्रप्रसाद हात्तीलाई आक्रमणको प्रयास गर्दा उक्त हात्तीमा सवार निकुञ्जका रेन्जर श्याम तामाङ  खसे पछि सेनाले थप तीन राउन्ड गोली चलाएको थियो । तीन राउन्ड गोली चलाउदा समेत नभागेर मकुनाले गस्ती टोलीलाई आक्रमण गरे पछि नेपाली सेनाको टोलीले थप एक राउन्ड गोली चलाएको र गोली लागेर एक किलोमीटर टाढा पुगेर हात्ती ढलेको सूचना अधिकारी थापाले बताए ।

मकुना ढले पछि पशु चिकित्सकको टोलीले  पुगेर चेकजाँच गरेर पछि मृत घोषण गरेका र पोस्टमार्टम गर्दा हात्तीको घाँटीको दाहिने तर्फ एउटा गोली फेला परेको थापाले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१मा व्यवस्था भए अनुसार आत्मरक्षाका लागि गोली चलाउनु पर्ने बाध्यात्मक अवस्था आएकाले उक्त गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

प्रकाशित : २०८१ माघ २४ गते ०:४८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI