मध्यविन्दुको महोत्सव विवादमा: वैकल्पिक स्थान खोज्न विद्यालयको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन १७ गते १७:१६
मध्यविन्दुको महोत्सव विवादमा: वैकल्पिक स्थान खोज्न विद्यालयको आग्रह

कावासोती । मध्यविन्दु नगरपालिकाको आयोजनामा नवजागरण माध्यमिक विद्यालयको रंगशालामा फागुन २२ देखि २४ गते सम्म आयोजना गरिएको प्रथम मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव विवादमा परेको छ।

विद्यालय व्यवस्थापन समितिले महोत्सवले विद्यार्थीको अध्ययनमा बाधा पार्ने भन्दै स्थान परिवर्तन गर्न या वार्षिक परीक्षा पछि महोत्सव आयोजना गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको भए पनि नगरपालिकाले बेवास्ता गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्दु काफ्लेले बताए ।

विद्यालयका अध्यक्ष  काफ्लेका अनुसार विद्यालय व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म चल्ने महोत्सवले विद्यार्थीको पठनपाठन प्रभावित गर्ने भएकाले वैकल्पिक स्थान खोज्न अनुरोध गरिएकाे थियो । गत फागुन १२ गते बसेको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ संयुक्त बैठकले महोत्सवलाई अर्को स्थानमा सार्न वा एसइइ परीक्षा सकिए पछि गर्न नगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको थियो ।

यसरी विद्यालयको रंगशाला भित्र महोत्सव आयोजना गर्दा विद्यालय शान्ति क्षेत्रको अवधारणा पालना नहुने तथा भविष्यमा जुनसुकै नाममा महोत्सव सन्चालन हुन सक्ने जसले गर्दा विद्यालयको पठनपाठनमा गम्भीर असर पुग्ने भएकाले महोत्सवलाई सारेर परीक्षा पछाडी गर्ने या अर्को स्थानमा आयोजना गर्न नगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

Messenger creation AC6E9953 5CCD 43BB 880E BF7A6B45AE41

यस बाहेक नगरपालिकाले फागुन ११ गते सूचना जारी गर्दै महोत्सवमा विद्यार्थीलाई अनिवार्य रूपमा सहभागी गराउन निर्देशन दिएको छ। यो निर्णयले व्यवस्थापन समितिलाई झन् असन्तुष्ट बनाएको छ। परीक्षा तयारीमा रहेका विद्यार्थीलाई विद्यालय बन्द गरेर महोत्सवमा सहभागी गराउँदा उनीहरूको अध्ययनमा असर पर्ने भन्दै  विद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक संघ सहित अभिभावकहरुले असन्तुष्टि जनाएका छन्। विद्यालय व्यवस्थापन समितिले नगरपालिकालाई पुनः निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै विद्यार्थीको शैक्षिक हितलाई ध्यान दिन अनुरोध गरेको छ। तर, अहिलेसम्म नगरपालिकाले आफ्नो अडानमा यथावत रहेको अध्यक्ष काफ्लेले बताए ।

यसै बीच नेपाल विद्यार्थी संघ नवलपुरले पनि विद्यालयको रंगशालामा पठन पाठनमा असर पर्ने गरि महोत्सवको आयोजना गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरि सुवेदीले जारी गरेको विज्ञप्तिमा परीक्षा नजिक आएको समयमा आयोजना गरिएको महोत्सवले पठन पाठनमा असर पार्ने भएकाले नेविसंघको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । नेविसंघले महोत्सवलाई अन्य स्थानमा सार्न या एसइइ परीक्षा पछि गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

1740820035708

मध्यविन्दु नगरपालिकामा चैत ८ देखि कक्षा ८ को आधारभुत तह परीक्षा तथा चैत ७ गते बाट देशै भर एसइइ परीक्षा सुरु हुदै छ ।

 

कार्यपालिका बैठकबाट आवश्यक निर्णय गर्छौ : नगर प्रमुख अधिकारी

यस विषयमा नगरपालिकाका प्रमुख भिमलालाल अधिकारीले महोत्सव नगरको महत्वपूर्ण कार्यक्रम भएकाले विद्यार्थीलाई स्थानीय सम्पदा र कृषि प्रविधिबारे अवगत गराउन सहज हुने भएकाले विद्यालयसँग सल्लाह गरेर आयोजना गरेको दाबी गरे । “सुरुमा विद्यालयसँगको सहमतिमा आयोजना गर्ने निर्णय गरिएको हो, अहिले अरु कुराहरु आएका छन, हामी छलफलमै छौँ”, नगर प्रमुख अधिकारीले भने । “विद्यालय व्यवस्थापन समिति र अभिभावकको चासोलाई पनि सम्बोधन गर्ने गरि भोलीको कार्यपालिका बैठकबाट निर्णय गर्छौं”, अधिकारीले भने, “विकल्पमा छलफल गर्दै छौं, सार्ने अथवा अन्य स्थानमा गर्ने भोलीको कार्यपालिका बैठकबाट निर्णय गर्छौ ।”

महोत्सवका विषयमा सामाजिक संजालमा समेत तातेको छ । महोत्सवको पक्ष विपक्षमा धारणहरु व्यक्त भएका छ्न भने विद्यालय व्यवस्थापन र अभिभावकहरूले नगरपालिकाको यो निर्णय नसच्चाए कडा विरोधका कार्यक्रम अगाडि बढाउने बताएका छन् ।

प्रकाशित : २०८१ फागुन १७ गते १७:१६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI