मध्यविन्दुको बजेट एक अरब पाँच करोड बढी : पूर्वाधार, शिक्षा र स्वास्थ्यमा प्राथमिकता

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार १० गते १९:०३
मध्यविन्दुको बजेट एक अरब पाँच करोड बढी : पूर्वाधार, शिक्षा र स्वास्थ्यमा प्राथमिकता

चोरमारा । मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्षका २०८२/८३ का लागि एक अरब पाँच करोड बढीको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सत्रौं नगरसभामा नगर उपप्रमुख पूर्णकला चौधरीले प्रस्तुत गर्नु भएको एक अर्ब पाँच करोड ३४ लाख ३९ हजार बराबरको बजेट प्रस्तुत नगरसभाले स्वीकृत गरेको हो । जसमध्ये चालु खर्च तर्फ ६६ करोड २९ लाख ३६ हजार रुपैया र पुँजीगत खर्च तर्फ ३९ करोड पाँच लाख ३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट वक्तव्यमार्फत नगरपालिकाले विगत वर्षमा देखिएका चुनौतीलाई सामना गर्दै आगामी वर्षलाई अझ बढी जनमुखी, समावेशी र दिगो विकासतर्फ डोहोर्याउने प्रतिवद्धता जनाएको छ।

आर्थिक वृद्धि र रोजगारी सिर्जनामा ध्यान
बजेटमा आर्थिक क्षेत्र अन्तर्गत कृषिलाई यान्त्रिकीकरण, व्यावसायिकरण तथा जैविक प्रविधि अपनाइ आत्मनिर्भर बनाउने उद्देश्य राखिएको छ। ‘कृषिः मेरो पेशा, मेरो आवश्यकता कार्यक्रम’ अन्तर्गत सिंचाइ पूर्वाधारमा लगानी बढाइने भएको छ। कम्बाइन हर्वेस्टर खरिद, फूल–फलफूल खेती, जैविक विषादी वितरण, बाली रोग नियन्त्रणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ । पशु बिकास तर्फ उत्पादनमा आधारित उत्पादनमा जोड दिदै दुध उत्पादकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिएकोछ । कृषि तथा पशुपंछि तर्फ यस वर्ष २ करोड ११ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, सहकारी संस्थाको सुदृढीकरण, लघु उद्यम प्रवद्र्धन, सीप विकास तालिम, श्रम बजार जानकारी र वैदेशिक रोजगारका लागि वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ। यस क्षेत्रमा मात्र २ करोड ९७ लाख रुपैयाँ छुट्याइएको छ।

शिक्षा र स्वास्थ्यमा उच्च प्राथमिकता
नगरपालिकाले शिक्षा क्षेत्रमा सर्सत तर्फ बाहेक ५ करोड ७ लाख ७४ हजार रुपैयाँको बजेट छुट्याएको छ। विद्यालय कर्मचारी र शिक्षण सहयोगीहरूका लागि पारिश्रमिक, अंग्रेजी माध्यमका पाठ्यपुस्तक, विपन्न विद्यार्थीलाई पोशाक, झोला, स्टेशनरी, छात्रवृत्ति, विद्यालय स्तरोन्नति, मानव मूल्य र संस्कारयुक्त शिक्षा, र विद्यालयस्तरीय नमुना प्रयोगशालाको विकास प्राथमिकतामा छन्।

स्वास्थ्य क्षेत्रमा २ करोड २० लाख रुपैयाँ विनियोजन गर्दै मातृत्व स्वास्थ्य, विशेषज्ञ शिविर, मानसिक स्वास्थ्य तालिम, महामारी नियन्त्रण, स्वास्थ्य बीमा, र नगर अस्पताल स्तरोन्नतिका कार्यक्रमहरू अघि सारिएको छ। माझी, बोटे, मुसहरजस्ता समुदायलाई स्वास्थ्य पहुँच सुनिश्चित गर्ने कार्यलाई विशेष प्राथमिकता दिइएको छ।

पूर्वाधार निर्माण र स्तरोन्नतिमा ठूलो लगानी
नगरपालिकाले आगामी वर्षका लागि ४० करोड ७७ लाख रुपैयाँ पूर्वाधार विकासका लागि विनियोजन गरेको छ। मुख्य पूर्वाधारमध्ये सडक स्तरोन्नति, शौचालय निर्माण, बसपार्क, क्याम्पस भवन, सभाहल निर्माण, खानेपानी योजना, खेलमैदान, विद्युत विस्तार, र सामुदायिक पूर्वाधारहरू समावेश छन्।

नगरस्तरीय आयोजनाहरूमा गिरुवारी करिडोर निर्माण, चौरङ्गीदेखि धारापानी हुदै बाहुनीकुना सडक, नगर अस्पताल उपकरण खरिद, फोहोरमैला केन्द्र तटबन्ध, र बसपार्क सुधार जस्ता महत्त्वपूर्ण योजना राखिएको छ।
सामाजिक न्याय र समावेशी कार्यक्रम
समावेशी विकासलाई आधार मानेर महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाति, ज्येष्ठ नागरिक, द्वन्द्वपीडित र सुकुम्बासीहरूका लागि लक्षित कार्यक्रम ल्याइएको छ। ‘उपप्रमुखसँग महिला उद्यमशीलता कार्यक्रम‘ अन्तर्गत २२ लाख बजेट छुट्याइएको छ।

बालमैत्री वडा निर्माण, सीप विकास तालिम, अपाङ्गता भएका बालबालिकाको शिक्षामा विशेष ध्यान, दिवा स्याहार केन्द्रको निरन्तरता, र लैङ्गिक हिंसा विरुद्धका अभियान सञ्चालन गरिनेछ। सामाजिक क्षेत्रमा मात्र वडास्तर बाहेक ७ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ।

सुशासन र डिजिटल सेवा प्रवाह
नगर कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धिका लागि सार्वजनिक सुनुवाइ, खर्च सार्वजनिकीकरण, सामाजिक लेखापरीक्षण, ’जनतासँग नगर प्रमुख‘, ’बालबालिकासँग नगर प्रमुख‘ कार्यक्रम सञ्चालन गरिनेछ।

साथै, सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई प्रवद्र्धन गर्न डिजिटल सुशासन, साइबर सुरक्षा, सीसी क्यामेरा जडान, सूचना प्रवाह प्रणालीका लागि छुट्टै बजेट व्यवस्था गरिएको छ। राजस्व प्रणाली सुधार गर्न योजना बनाईएको छ, जसअन्तर्गत कर दायरा विस्तार र दर परिमार्जन गरी आन्तरिक आम्दानीमा वृद्धि गर्ने नीति लिइएको छ ।

बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख पूर्णकला चौधरीले समृद्ध नगर निर्माणको यात्रामा सबै नगरवासी, जनप्रतिनिधि, कर्मचारी, संघीय र प्रदेश सरकार लगायत सबै सरोकारवालाको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। उहाँले विगतका कमजोरीहरूमाथि गहिरो समीक्षा गर्दै अबको वर्ष योजनाबद्ध, समन्वययुक्त र परिणाममुखी बजेट कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो।

नगरसमाभा नगर प्रमुख भिमलाल अधिकारीले आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । उहाँले नगरपालिकाले तिन वर्षमा प्राप्त गरेका मुख्य उपलब्धीहरु प्रस्तुत गर्नु भएको थियो ।
गत तीन वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, समाज कल्याण, आर्थिक सशक्तीकरण र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको नगरपालिकाले अबको वर्षलाई परिणाममुखी कार्यान्वयन र समावेशी विकासको दिशामा अगाडि बढाउने उद्घोष गरेको छ।

शिक्षा र बालमैत्री नगरको परिकल्पना
नगरपालिकाले “गुणस्तरीय शिक्षा, समृद्ध मध्यविन्दुको प्रतिज्ञा” भन्ने दृष्टिकोणसहित शिक्षा क्षेत्रमा व्यापक सुधारको घोषणा गरेको छ। विशेषगरी ‘हाम्रो खुसी पाठ्यक्रम’, खुसी शुक्रवार कार्यक्रम, मानव मूल्य र संस्कार समावेशी शिक्षा, अंग्रेजी माध्यम पाठ्यपुस्तक निःशुल्क वितरण, सीप र नेतृत्व विकास तथा गणित÷विज्ञान प्रयोगशाला मार्फत सिकाइलाई अर्थपूर्ण बनाउने योजना अघि सारेको छ।
२०८४ सम्म मध्यविन्दुलाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्यसहित बाल अधिकार, बाल स्वास्थ्य, अभिभावक सहभागिता, यौन शिक्षालगायतका विषयमा काम गर्ने नीति तथा कार्यक्रम मार्फत नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा पहुँच र गुणस्तर दुबैको प्रतिबद्धता
नगरपालिकाले सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा दिने गरी ‘स्वस्थ नगर’ अभियानलाई गहन बनाउने घोषणा गरेको छ। नगर अस्पतालमा विशेषज्ञ सेवा, ब्लड बैंक, ज्येष्ठ नागरिक कक्ष, फिजियोथेरापी, दन्त सेवा, आँखा उपचार केन्द्र विस्तारको लक्ष्य नगरपालिकाले राखेको छ ।

बाल, मातृ, वृद्ध र अपांगमैत्री सेवामा जोड दिँदै पोषण, मानसिक स्वास्थ्य, सिकलसेल एनिमिया, यौनरोग नियन्त्रण, सरसफाइ प्रवद्र्धनका कार्यक्रमहरू प्राथमिकतामा छन् ।
कृषि आधुनिकीकरण र उत्पादन अभिवृद्धिमा विशेष योजना “कृषि मेरो पेशा, मेरो आवश्यकता” भन्ने नाराका साथ २०८२/८३ लाई कृषि यान्त्रीकरण वर्ष घोषणा गरिएको छ। कृषकलाई खेतमै सेवा दिने, माटो परीक्षण, सिँचाइ सुधार, बीउ, मल वितरण, उत्पादनको ब्रान्डिङ र बजारीकरण, पशु सेवा शिविर, बाँझोपन निवारण, रेबिज नियन्त्रण, बाख्राखोर र माछा पोखरी सुधारजस्ता कार्यक्रम कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।
नगर क्षेत्रका हरेक वडामा “एक वडा एक उत्पादन” कार्यक्रमलाई निरन्तरता दिइनेछ। जैविक वडा, कृषकसँग संवाद, बीमा कार्यक्रम तथा प्राङ्गारिक मल केन्द्र विस्तार गरिने लक्ष्य नगरपालिकाले राखेको छ ।

महिला, युवायुवती र समावेशी समृद्धिमा जोड
महिला सशक्तीकरणका लागि “उपप्रमुखसँग महिला उद्यमशीलता कार्यक्रम” सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाले तय गरेको छ । बालविवाह, घरेलु हिंसा, जातीय विभेद विरुद्ध शून्य सहनशीलता नीतिमा आधारित सामाजिक सचेतना अभियान सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको छ ।
युवाका लागि सीप विकास, उद्यम प्रवद्र्धन, मनोपरामर्श, स्वास्थ्य अभियान, खेलकुद तालिम, “युवा सम्मेलन”, “विदेशको अनुभव, स्वदेशमा पौरख” जस्ता कार्यक्रम नगरपालिकाले अगाडी सारेको छ ।

पूर्वाधार विकासमा ठूला आयोजना
सडक, पुल, तटबन्ध, र पार्क निर्माणमा ठूलो लगानी हुने भएको छ। नगरका मुख्य सडकलाई न्क्ष्क् नक्साङ्कन, नामकरण, रोलर कन्क्रिट प्रविधि, सडक बत्ती जडान, ई–रिक्सा रुट प्रणाली, र औद्योगिक पूर्वाधार विकास योजनासहित कार्यान्वयन गर्ने नगरप्रमुख अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नूभयो ।

सुशासन र डिजिटल सेवा प्रवाह
नागरिक सेवा केन्द्र, सेवा सहजिकरण, सूचना प्रणाली सुधार, इलेक्ट्रोनिक हाजिरी, अनलाइन भवन नक्सा प्रक्रिया, विपद् व्यवस्थापन योजना, र समाज कल्याण कार्यक्रम पारदर्शी बनाउने नीति नगरको छ । साथै, नगरवासीको प्रत्यक्ष सहभागिता, सामाजिक लेखापरीक्षण, बजेट सार्वजनिक सुनुवाइजस्ता सुशासन प्रवद्र्धन कार्यक्रमहरूलाई निरन्तरता दिइने बताइएको छ।

प्रकाशित : २०८२ असार १० गते १९:०३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI