कावासोती । साउन १४ गते नै कार्यकाल सकिएका चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयन हुन सकेको छैन ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुर, चितवन र मकवानपुर जिल्लामा गरेर २२ वटा मध्यवर्ती उपभोक्ता समिती रहेका भए पनि कार्यकाल सकिएको ५ महिना बितिसक्दा सम्म ८ वटा उपभोक्ता समितिले मात्रै नयाँ नेतृत्व पाएका हुन ।
२२ वटा मध्ये उपभोक्ता समितिमध्ये नवलपुरमा पर्ने त्रिवेणी, सिख्रौली र नन्दभाउजु तथा चितवनका खगेन्द्रमल्ली, पटिहानी, केरुङ्गा र निर्मलठोरी उपभोक्ता समितिमा मात्रै नयाँ नेतृत्व चयन भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । थापाका अनुसार नवलपुरमा ५ वटा र चितवन मकवानपुर गरेर ९ गरि जम्मा १४ वटा उपभोक्ता समिति विगत पाँच महिना देखि नेतृत्व बिहिन रहेका हुन । निकुञ्जले गत साउन मसान्तसम्म उपभोक्ता समिति गठन गर्न निर्वाचन अधिकृत तोकेर निर्वाचनको कार्यक्रम अगाडी बढाएको भए पनि निर्वाचन भने हुन सकेको छैन ।
यता उपभोक्ता समितिमा नेतृत्व नहुदा अन्नबालीको क्षतिको राहत ,व्यवसायको सिफारिस लगायतका सेवा प्रवाह रोकिएको छ । मध्यवर्ती क्षेत्रका बासिन्दाले घरगोठ बनाउँदा आवश्यक पर्ने नदीजन्य पदार्थ प्राप्त गर्ने, बालीनालीको क्षतिको राहत प्राप्त गर्ने र मध्यवर्ती क्षेत्रमा सञ्चालन हुने व्यवसायले दर्ता र नवीकरणका लागि सिफारिसका कामहरु प्रभावित भएका लामिचौर उपभोक्ता समितिका निवर्तमान सचिव लेखनाथ दवाडीले बताए । उपभोक्ता समिति नेतृत्व बिहिन हुँदा चालु आ.वमा निकुञ्जबाट प्राप्त हुने बजेट विनियोजन हुन नसकेको र प्राप्त भएका बजेट समेत कार्यान्वयन हुन सकेको छैन । यस्ले गर्दा संरक्षणमा समेत गम्भीर असर पुर्याएको दवाडीले बताए ।
लामो समयसम्म मध्यवर्ती उपभोक्ता समिति नेतृत्वविहीन हुँदा संरक्षणमा समेत असर पुग्ने भन्दै सरोकारवालाले तत्काल विवाद समाधान गरेर निकास निकाल्न आग्रह गर्दै आएका छन् ।
भदौ २३/२४ मा भएको जेनजी आन्दोलनको प्रभावको कारण केहि समय रोकिएको भए पनि स्थानीय स्तरमा विभिन्न मागहरु राख्ने र माग पूरा नहुदा सम्म निर्वाचन हुन नदिने गतिविधि बढे पछि निकुञ्जले निर्वाचन अगाडी बढाउन नसकेको हो ।
समुह भित्रको आन्तरिक विवाद, मध्यवर्ती क्षेत्र भित्रको सुकुम्बासी समस्या, नदि कटानको क्षतिपूर्ति, मानव वन्यजन्तु द्वन्द, वन्यजन्तुका कारण अन्नबाली र मानिसमा पुगेको क्षतिपूर्तिका विषयमा विभिन्न मागहरु राखेर मध्यवर्तीका स्थानीय विभाजित भएपछी नयाँ नेतृत्व चयनको प्रक्रिया रोकिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले बताए । नयाँ नेतृत्व चयनका लागि निकुञ्जले अधिकतम प्रयास गरिरहेको भए पनि स्थानिय बासिन्दा सहमत हुन नसक्दा समिति गठनमा अन्यौल भएको पन्त बताउछ्न ।
“२२ मध्ये ८ वटामा निर्वाचन भएर नयाँ नेतृत्व आईसकेको छ, बाकी १४ वटामा समेत निर्वाचनका लागि अधिकतम प्रयास भएको छ, केही दिनमा थप उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन हुन्छ,” डा.पन्तले भने ।
कतिपय मुद्दा र मागहरु पुरा गर्न ऐन संशोधन हुनु पर्ने भएकाले स्थानीयले उठाएका सबै माग सम्बोधन गर्न निकुञ्जले नसक्ने बताएका डा. पन्तले निर्वाचनका लागि स्थानीय सरकार, संरक्षणकर्मी, सरोकारवालाहरु सँग दैनिक जसो छ्लफल गरिरहेको जानकारी दिए । प्रमुख पन्तका अनुसार नवलपुरको गोसाईबाबा निर्वाचनको मिति तय भैसकेको तथा चितवनको माडी क्षेत्रका ४ वटा उपभोक्ता समितिको निर्वाचनका लागि स्थानीय सँगको छलफल पछि निकुञ्जले प्रक्रिया अगाडी बढाउन लागेको हो ।
Facebook Comment