कतारलाई हात्ती उपहार : चार्टर विमानबाट पठाइँदै छन् खगेन्द्रप्रसाद र रुद्रकली

कतारलाई हात्ती उपहार : चार्टर विमानबाट पठाइँदै छन् खगेन्द्रप्रसाद र रुद्रकली

कावासोती । सरकारले कतारलाई उपहार दिने भनिएका चितवन राष्ट्रिय निकुन्जमा रहेका दुई वटा हात्तीलाई आउँदो पुस २ गते चार्टर विमानबाट पठाउने तयारी भएको छ ।

पुस १ गते बिहान चितवन निकुन्जमा निर्माण गरिएका दुई वटा फलामे खोरमा राखेर ६ वर्षको खगेन्द्रप्रसाद (भाले) र ७ वर्षकी रुद्रकली (पोथी) लाई चितवन, नवलपरासी हुँदै महेन्द्रराजमार्गबाट भैरहवा विमानस्थलमा लगिने छ ।

त्यहाँ एक रात राखेर पुस २ गते चार्टर विमानमार्फत दुवै हात्तीलाई कतार लगिने छ । कतारको अल्खोरमा रहेको चिडियाखानामा अवलोकनका लागि राख्न नेपाल सरकारले सद्भावना स्वरुप कतारलाई दुई वटा हात्ती निःशुल्क दिएको हो ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलजिस्ट हरिभद्र आचार्यका अनुसार हात्तीसँगै पशु सहायक दिनेश ढकाल, दुई जना हेरालु (माहुत) पनि सँगै जाने छन् । दुईवटै हात्तीको आनीबानी सिकाउन यहाँ हेरचाह गर्दै आएका माहुतहरु बुद्धिलाल श्रेष्ठ र पछुखान थारु पनि सँगै जाने छन् ।

उनीहरु कम्तीमा एक महिना कतारको चिडियाखानामा त्यहाँका माहुतलाई हात्तीको आनीबानी सिकाएर फर्किने गरी सम्झौता भएको आचार्यले जानकारी दिए ।

कतारको अल्खोरमा रहेको चिडियाखानमा पहिलोपटक हात्ती राख्न लागिएको हो । चिडियाखानामा चितवन निकुन्जको तापक्रमसँग मिल्दोजुल्दो वातावरणमा हात्तीलाई बस्नका लागि एसीसहितको व्यवस्था गरिएको छ ।

हात्तीको साइज अनुसार निर्माण गरिएका दुई वटा खोरमा राखेर हात्ती लैजाने समेत सबै खर्च कतार सरकारले ब्यहोरेको हो । पुस २ गते वन र परराष्ट्र मन्त्रालयका सचिवले भैरहवा विमानस्थलमा नेपालस्थित कतार दुतावासका कर्मचारीलाई हात्ती हस्तान्तरण र बिदाई कार्यत्रम समेत तय भएको छ ।

चितवन निकुन्जबाट ट्रकमा राखेर नारायणगढ, गैंडाकोट कावासोती, दाउन्ने परासीहुँदै महेन्द्र राजमार्गको बाटोबाट भैरहवा विमानस्थलमा पुर्याइने छ । दाउन्नेमा भत्किएको सडकको समेत प्राविधिक अवलोकन गरेर ट्रकमा राखेर लैजाने तयारी भएको हात्ती प्रजनन् केन्द्रका प्रमुख अधिकृत मणिपुरन चौधरीले बताए ।

१२ वैशाख २०८१ मा नेपाल भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीले फर्कंदा खगेन्द्रप्रसाद र रुद्रकलीलाई पनि साथै लैजाने घोषणा गरिएको थियो ।

निकुञ्जमा जन्मेका हात्तीको बच्चाको न्वारन गरी पोथी भएमा नामका पछाडि कली या माला र भाले भए प्रसाद या गज लेख्ने चलन छ । रुद्रकली पूजाकलीको र खगेन्द्रप्रसाद कोशीकलीको सन्तान भएको चितवन निकुञ्जले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology