कावासोती । नवलपुरको कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ६१ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ।
नगर उपप्रमुख फुलकुमारी थनेतले मंगलबार बसेको १७ औं नगरसभामा सार्वजनिक गरेको बजेटमा कृषि, पूर्वाधार, ऊर्जा, बालस्वास्थ्य र सरसफाइ क्षेत्रलाई प्राथमिकता दिइएको छ।
नगरपालिकाका अनुसार आगामी वर्षका लागि कुल अनुमानित आय १ अर्ब ६१ लाख ४४ हजार रहेको छ। यसमा नगरको आन्तरिक स्रोतबाट ६ करोड ५० लाख, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १७ करोड २ लाख, राजस्व बाँडफाँड १४ करोड ८३ लाख, सशर्त अनुदान ४३ करोड ६६ लाख, विशेष अनुदान ४ करोड १८ लाख, सम्पूरक अनुदान ६० लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण २ करोड २८ लाख, सवारी साधन कर २ करोड २८ लाख, विशेष अनुदान ४० लाख, सम्पूरक अनुदान २८ लाख, घरजग्गा रजिष्ट्रेशनबाट ४ करोड २० लाख, विज्ञापन करबाट ५ लाख ५१ हजार, नदीजन्य पदार्थ बिक्रीबाट ३ करोड ३० लाख र लागत सहभागिताबाट १ करोडको आय अनुमान गरिएको छ।
ब्ययतर्फ प्रशासनिक खर्चमा २१ करोड ११ लाख, मर्मतसंभार कोषमा १ करोड, सम्पूरक कोषमा २ करोड ३५ लाख, विवाद व्यवस्थापन कोषमा १ करोड, नगरस्तरीय योजना तथा कार्यक्रममा १२ करोड १० लाख, वडा स्तरिय योजनामा १२ करोड ९२ लाख, सशर्त अनुदानमार्फत ४३ करोड ६६ लाख, विशेष अनुदान ४ करोड ५८ लाख, सम्पूरक अनुदान ८८ लाख ४२ हजार र जनसहभागिता कार्यक्रममा १ करोड बजेट विनियोजन गरिएको छ।
नगर प्रमुख बिण्णु प्रसाद भुसालद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा ‘जमिन बाझो राख्न नपाइने’ नीतिलाई प्रमुख प्राथमिकता दिइएको छ। भूमि उपयोग नीतिअनुसार नगरभित्रका खेतीयोग्य जमिन अनिवार्य रूपमा वर्षमा कम्तीमा दुईपटक उपयोग गर्नुपर्ने प्रावधानसहित कार्यक्रम अघि सारिएको छ।
भुसालले भने, “अब नगर क्षेत्रका कुनै पनि खेतीयोग्य जमिन बाझो राख्न पाइँदैन। कृषिमा यान्त्रिकीकरण, सहकारी, समूह र आधुनिक प्रविधि प्रयोगलाई प्रोत्साहन दिइनेछ।” नीति कार्यक्रममा सिँचाइ, बीउ वितरण, तालिम, अनुदान, र बजार व्यवस्थापनलाई समेत समेटिएको छ।
‘नगर यातायात गुरुयोजना’ अन्तर्गत मुख्य चोकहरूमा साइक्ल लेन निर्माण, विद्यालय आसपास आकाशे पुल स्थापना, र ट्राफिक व्यवस्थापन सुदृढीकरणका योजना नीति तथा कार्यक्रमा समावेश गरिएकाे छ
‘ऊर्जा मैत्री घर निर्माण कार्यक्रम’ ल्याइँदैछ जसअन्तर्गत नविन घरहरूमा सौर्य ऊर्जा, बायोग्यास, वर्षा पानी संकलन प्रणाली र ऊर्जादक्ष प्रविधिको प्रयोग अनिवार्य गरिनेछ। घर नक्सा पास गर्दा ऊर्जा दक्षता मापदण्ड पालना गर्नुपर्ने नीति पनि अघि सारिएको छ।
फोहोरमैला छुट्याएर व्यवस्थापन गर्ने नीतिलाई कानुनीरूपमा लागू गरिने र कुहिने र नकुहिने फोहोर छुट्याउने अभ्यासलाई घरमै कार्यान्वयन गरिनेछ। पुनः प्रयोग गर्न मिल्ने वस्तुहरूका लागि पुनर्चक्रण केन्द्र बनाइनेछ र कम्पोस्ट मल उत्पादनलाई व्यवसायिक स्वरूप दिइने कार्यक्रमा उल्लेख छ
विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ संचालन गरिने छ जसबाट बालबालिकाको स्वास्थ्य परीक्षण, पोषण मूल्यांकन, महिला स्वास्थ्य शिक्षा र आकस्मिक सेवा प्रदान गरिनेछ। साथै, ‘बाल पोषण कार्यक्रम’ अन्तर्गत पोषणयुक्त खाजा वितरण, आमा समूह र शिक्षकको समन्वयमा पोषण अनुगमन योजना अघि सारिएको छ।
यसैगरी नीति तथा कार्यक्रमा डिजिटल सेवा विस्तार, नागरिक एप संचालन, सडक र ढल विकास वडाअनुसार प्राथमिकता तोक्दै स्तरोन्नति, बालउद्यान र सार्वजनिक स्थल संरक्षण,नागरिक सहभागितामा नीति निर्माणदेखि निगरानीसम्मका कार्यक्रम संचालन गरिने उल्लेख गरिएकाे छ
नगर प्रमुख भुसालले नीति तथा कार्यक्रममार्फत “स्वस्थ, समुन्नत र समावेशी नगर” बनाउने दीर्घकालीन लक्ष्य लिएको उल्लेख गरे। बजेट तथा नीति कार्यक्रम नगरसभाबाट पारित भएकाे छ ।
प्रकाशित : २०८२ असार १० गते १६:०६
Facebook Comment