कार्की आयोगको प्रतिवेदनमा नवलपुर : सुरक्षा संयन्त्र सक्रिय तर समन्वयमै देखियो कमजोरी

कार्की आयोगको प्रतिवेदनमा नवलपुर : सुरक्षा संयन्त्र सक्रिय तर समन्वयमै देखियो कमजोरी

नवलपुर । नवलपुरमा भएको हिंसात्मक आन्दोलनबारे सार्वजनिक गरिएको कार्की आयोगको प्रतिवेदनले सुरक्षा संयन्त्रको व्यापक परिचालन हुँदाहुँदै पनि समन्वय अभाव, आदेश प्रणालीमा कमजोरी र सामाजिक सञ्जालको प्रभावका कारण अवस्था नियन्त्रण बाहिर गएको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा सुरक्षा समितिका सबै पदाधिकारीहरू सम्मिलित सुरक्षा कमाण्डपोष्ट खडा गरी जिल्ला प्रशासन कार्यालयमा बसी आवश्यक निर्देशन गर्ने कार्य गरिएको उल्लेख गरिएको छ। २४ गतेको सुरक्षा प्रबन्धको लागि जिल्ला प्रहरी कार्यालयको मातहतबाट ३२२ जना, सशस्त्र प्रहरी बल नेपालको जिल्ला इकाइहरूबाट २०० जना र राष्ट्रिय अनुसन्धान विभागबाट १५ जना समन्वयात्मक रूपमा परिचालन भएको देखिन्छ।

प्रतिवेदनमा जिल्लाभरबाट ६ सेल अश्रुग्यास हानिएको उल्लेख छ। नेपाली सेनाको नं. २ वन तथा वातावरण सुरक्षा गणबाट रातको १०:०० बजेदेखि नेपाली सेना परिचालन भएको उल्लेख गरिएको छ। आन्दोलन उग्र रूप लिँदै गएपछि २४ गते दिउँसो २:३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको तर त्यसपश्चात पनि आफ्नो विभागीय माथिल्लो निकायबाट आदेश नआएको भनी नेपाली सेना परिचालन नभएको जिकिर गरिएको छ। जिल्लास्तरमा प्रदर्शनको समयमा र प्रदर्शन पश्चात जिल्ला सुरक्षा समितिको बैठक बसी स्थानीय प्रशासन ऐन, २०२५ को दफा ६क, ६ख बमोजिमका आदेश र सूचना जारी गरिएको उल्लेख छ।

जिनजेड समूहको प्रदर्शनबाट यस जिल्लामा हुन सक्ने क्षति रोकथामका लागि जिल्ला स्थित राजनीतिक दलका प्रमुख/प्रतिनिधिहरू, सरकारी कार्यालयहरू, वित्तीय संस्थाहरू लगायत सरोकारवालासँग नियमित सम्पर्क/समन्वय गरिएको उल्लेख गरिएको छ।

साथै २४ गतेको घटना पश्चात जिल्लाको स्थितिलाई सामान्यीकरण गर्दै सेवाप्रवाहलाई पूर्ववत् रूपमा सञ्चालन गर्न जिल्ला स्थित कार्यालय प्रमुखहरूको बैठक बसी समन्वय गरिएको देखिन्छ। प्रतिवेदनमा १५ देखि ४० वर्ष उमेर समूहका विभिन्न व्यक्तिहरू सहभागी भएको पाइएकाले कुनै विशेष समूहको मात्र संलग्नता नभएको उल्लेख गरिएको हो ।

हुप्सेकोटमा रहेको प्रहरी चौकी तथा चौकी परिसरमा रहेका सवारी साधन तोडफोड र आगजनीमा संलग्न विभिन्न ७ जना व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाइएको उल्लेख गरिएको छ।

सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनीमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी कार्य तथा प्रमाण संकलनको कार्य जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय वरिपरि जम्मा भएका आन्दोलनकारीका माग र गुनासाहरूका सम्बन्धमा छलफल गर्न केही प्रतिनिधिहरूलाई प्र.जि.अ. को कार्यकक्षमा बोलाई छलफल गर्दा प्रशासनको सेवा प्रवाह बन्द गरी आन्दोलनलाई साथ दिनुपर्ने माग राखिएकोमा सम्झाइ बुझाइ गरी फर्काइएको उल्लेख गरिएको छ।

त्यसपश्चात उक्त समूह कावासोती नगरपालिकातर्फ गई नगरपालिका भवनमा तोडफोड तथा आगजनीमा उत्रिएको देखिन्छ।
सुरक्षा व्यवस्थापनका लागि परिचालित सुरक्षा टोलीले त्यहाँबाट हटाएको उक्त समूह र सो समूहमा जिल्लाका गैँडाकोट, देवचुली लगायत क्षेत्रबाट आएका अन्य व्यक्तिहरू सहितको समूहले जिल्लाका विभिन्न स्थानहरूमा गई नगरपालिका वडा कार्यालय, राजनीतिक दलका कार्यालयहरू, नगर प्रमुख तथा अन्य नेताका निजी निवास, व्यवसायिक प्रतिष्ठान सहितका ४३ वटा संरचनाहरूमा तथा निजी तथा सरकारी गरी ४० वटा सवारी साधनहरूमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको उल्लेख गरिएको छ।

२०८२ भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शन, तोडफोड र त्यस क्रममा भएको प्रदर्शनकारीको मृत्युको कारण उत्तेजित भएको भिडले सोको प्रतिक्रिया स्वरूप काठमाडौं लगायत मुलुकका विभिन्न स्थान जस्तै कास्की, चितवन लगायतका ठाउँमा भएको तोडफोड र प्रदर्शनका घटनाहरू सामाजिक सञ्जालमार्फत छिटो रूपमा प्रसार भएको देखिन्छ।

त्यसको प्रभावस्वरूप नवलपुरमा पनि त्यस्ता घटना घट्न गएको उल्लेख गरिएको छ।
सुरक्षाकर्मीले एक स्थानमा तोडफोड आगजनीमा उत्रिएको समूहलाई रोक्दा अर्को समूहले अन्य ठाउँमा गई तोडफोड र आगजनी गर्ने गरेको उल्लेख छ।

२४ गतेको प्रदर्शनमा अधिक बल प्रयोग नगर्न केन्द्रीय सुरक्षा निकायका नेतृत्वबाट अनौपचारिक सन्देश प्रवाह भएको भन्ने कारणले आन्दोलनकारीहरूमा त्यसले मनोवैज्ञानिक बल पुगेको देखिन्छ।

जिल्ला भित्रको सुरक्षा व्यवस्थाका सम्बन्धमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई दिइने आदेशमा एकरूपता नभएको देखिन्छ।
प्र.जि.अ. को आदेश र जिल्ला सुरक्षा समितिको निर्णय पश्चात पनि आ–आफ्नो तालुक निकायको आदेश पर्खिने खालको व्यवहार प्रदर्शनमा भएको उल्लेख गरिएको छ।
मिति २०८२ भदौ २३ र २४ गतेको जेन्जी समूहको प्रदर्शनको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय (नवलपरासी बर्दघाट सुस्ता पूर्व) मा कुनै पनि व्यक्ति वा समूहबाट निवेदन प्राप्त नभएको उल्लेख गरिएको छ।

आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय घेराउमा आएका प्रदर्शनकारीका प्रतिनिधिहरूसँग छलफल गरी आन्दोलनलाई शान्तिपूर्ण बनाउन अनुरोध गरिएको उल्लेख गरिएको छ। जेन्जी युवा पुस्ताद्वारा आयोजना गरिएको भनिएको प्रदर्शन तथा मोटरसाइकल र्‍यालीमा १५–४० वर्ष उमेर समूहका व्यक्तिहरू सहभागी भएको देखिन्छ।

२४ गते बिहान १०:३० बजेको समयमा करिब २५००–३००० जनाको समूह नारा जुलुस सहित जिल्ला प्रशासन कार्यालय रहेको स्थान (कावासोती न.पा.–३, सभापति चोक) मा आई धर्ना दिएका थिए। उक्त समयमा जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीहरू जिल्ला प्रशासन कार्यालयमै कमाण्ड पोस्ट खडा गरी छलफलमा रहेका थिए।

निष्कर्ष
कार्की आयोगको प्रतिवेदनले नवलपुरमा भएको आन्दोलनका क्रममा सुरक्षा संयन्त्र परिचालन भए पनि समन्वय अभाव, आदेश प्रणाली कमजोर, सामाजिक सञ्जालको प्रभाव र भीड नियन्त्रण रणनीति कमजोर हुँदा घटना हिंसात्मक बनेको स्पष्ट संकेत गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology