नौ वर्षदेखि अधुरै कालीगण्डकी गडगडीघाटको पुल

नारायण शर्मा
प्रकाशित : २०८१ फागुन २६ गते १२:१६
नौ वर्षदेखि अधुरै कालीगण्डकी गडगडीघाटको पुल

कावासोती । निर्माण कम्पनीको लापरबाहीले पूर्वी नवलपरासीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन पुल ९ वर्षदेखि अधुरै छ । ठेकेदार सम्पर्कविहीन भएपछि पक्की पुलको काम अलपत्र परेको हो ।

काम अलपत्र पारेका ठेकेदारले १३ करोड भुक्तानी लिइसकेको छ । पूर्वी नवलपरासीको बुलिङ्टार र तनहुँको रिसिङ गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा २०७२ मा पुल निर्माण सुरु गरिएको थियो । पुल निर्माण सुरु गरेको ९ वर्षमा ४५ प्रतिशत मात्र काम भएको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले जनाए ।

ठेकेदार कम्पनीले काम नसक्दै १३ करोड रुपैयाँ भुक्तानी लगिसकेको उनले बताए । पुल निर्माणका लागि पटक–पटक ठेकेदार कम्पनीलाई लिखित रूपमा पत्र पठाउँदासमेत अटेर गरेको सुवेदीको भनाइ छ ।

‘हालसम्म ४५ प्रतिशत काम सकिएको छ । १३ करोड भुक्तानी भने लगिसकेको छ,’ उनले भने, ‘पुल निर्माणका लागि तारन्तार ठेकेदार कम्पनीलाई लिखित पत्राचार गर्दासमेत टेर्दैनन् ।’

पुल निर्माणका लागि संयुक्त रूपमा काम गर्ने गरी ३ कम्पनीले ठेक्का लिएका थिए । जिम्मेवारी पाएका तीन वटै ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले काम पूरा हुन नसकेको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर सुवेदीको भनाइ छ । २६ करोड ८२ लाख रुपैयाँ लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी जिम्मेवारी लिएका हुन् ।

पछिल्लो पटक गत वैशाखमा एक वर्ष समय थपेर निर्माणको जिम्मेवारी दिइए पनि ठेकेदार कम्पनी काम गर्न नआएको इन्जिनियर सुवेदीले जानकारी दिए । काम थालेको ९ वर्षमा कालीगण्डकीमा ४ वटा मात्र खम्बा ठड्याइएको छ । २ सय ९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पुल निर्माण अलपत्र परेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । ‘काम थालेको यतिका वर्ष भइसक्यो ठेकेदार आउँदैनन्,’ स्थानीय सूर्य कँडेलले भने ।

महेन्द्र राजमार्गको कावासोती, दलदले, कोखे सडक हुँदै तनहुँको रिसिङ आउजाउ गर्न यो पुल आवश्यक पर्छ ।

कालीगण्डकी करिडोरअन्तर्गतको बुलिङटार–४ मा पर्ने कोखेमा यो पुल निर्माण सुरु भएको हो । कोखे बजारबाट एक सय मिटर उत्तरमा रहेको कालीगण्डकी नदीको घाट किनारलाई गडगडीघाट भनिन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट अर्खला कोखे हुँदै भिमाद पोखरा पुग्न यो पुल तरेर जाँदा बाटो छोटो हुन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट पोखरा जाने यात्रु हाल कोखेभन्दा १३ किलोमिटर पश्चिम डेढगाउँ हुँदै तनहुँको भिमाद बजार पुग्ने गरेका छन् ।

प्रकाशित : २०८१ फागुन २६ गते १२:१६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI