सुन्तला रुटेसी परिवार अर्न्गत पर्दछ। यसको वैज्ञानिक नाम सिट्रस रेटिकुलेटा हो। सुन्तला विश्वकै महत्वपूर्ण फल हो। नेपालको मध्य-पहाडी क्षेत्रमा यसको विशेष खेती हुने गर्दछ। यसमा कार्वोहाइड्रेट, भिटामिन, प्रोटिन, लवण र चिल्लो पदार्थहरु प्रशस्त मात्रामा पाइन्छ। यसलाई ताजै खाने गरिन्छ। सुन्तला नेपालको राष्ट्रिय फल पनि हो। धेरै उत्पादन हुने प्रदेश गण्डकी हो र जिल्ला स्याङजा हो। यसबाट सर्वत वास्नादार तेल, साईट्रिक एसिड आदि पदार्थ पनि तयार गरिन्छ। हाल तराईमा पनि खेति गर्ने जात पनि विकास भएको छ। नेपालमा सुन्तला खेति १००० देखि १४०० मिटर उच्चाईसम्म समशितोष्ण हावापानी भएका स्थानहरुमा गर्न सकिन्छ। नेपालमा ४५ जिल्लामा ब्यवसायिक रुपमा सुन्तलाजात खेती भइरहेको छ। सुन्तलालाई घाम मन पर्ने बाली भनेर चिनिन्छ। सुन्तलालाई लुज स्किन अरेन्ज पनि भनिन्छ। सुन्तला खेतीको लागि उतर- पुर्व मोहडा उपयुक्त हुन्छ। राम्रो फल उत्पादनको लागि २१-२५ डि. सेल्सियस तापक्रम र ६०-८० प्रतिशत आद्रर्ता उपयुक्त हुन्छ। त्यस्तै वार्षिक वर्षा ५००-७०० मि. मि. उपयुक्त हुन्छ। प्रशस्त प्राङगारिक पदार्थ भएको दोमट माटो तथा माटो पि .एच. ५.५ देखि ६.५ सम्म राम्रो हुन्छ।
वैशाख-जेठ मा फल झर्ने प्रकृयालाई जुन ड्रप भनिन्छ। खास गरेर लामो समयसम्म सुख्खा खडेरी परेमा जुन ड्रप हुन्छ। फल झर्ने सुन्तलाको एउटा जल्दो बल्दो समस्या हो। विभिन्न कारणहरुले हुन सक्दछ। ति कारणहरु निम्नअनुसार छन्।
- फलको विकास भैरहेको बेलामा सुख्खा हुनु,
- माटोमा चिस्यान कम हुनु,
- बोटमा विभिन्न हर्मोन तत्वहरुको असन्तुलन हुनु,
- फल फलिराखेको बोटमा रोग जरा कुहिने, कीरा पतेरो र फल कुहाउने झिँगा लाग्नु,
- फल फलिरहेको मौसममा हुरी वतास र असिना पर्नु,
फल झर्ने अवस्थाहरु:
- फलको कोपिला अवस्था
- केराउका दाना अवस्था
- गुच्चा आकार अवस्था
- लोकल कुखुराको अण्डाकार अवस्था
- फल परिपक्व अवस्था
- फल परिपक्क तथा पाकेको अवस्था
फल झर्ने समय:
- चैत्र अन्तिम-बैशाख दोस्रो हप्ता
- बैशाख तेस्रो हप्ता-जेठ तेस्रो हप्ता
- असार महिना
- असार अन्तिम-साउन अन्तिम
- असोज-कार्तिक
- मंसिर-पौष
ब्यवस्थापनका उपायहरु:
- माथि उल्लेख भए अनुसार विभिन्न कारणले सुन्तलाजात फलफुल बालीमा फल झर्ने गर्ने गर्दछ। त्यसैले यसको सामाधानका लागि कुन कारणले फल झरेको हो। त्यसको सर्वप्रथम एकिन गर्नु पर्दछ।
- सिंचाईको ब्यवस्था गर्ने ।
- वर्षा याममा पानीको निकासको ब्यवस्था गर्ने।
- कम्तिमा १५ दिनको फरकमा २ पटक विरुवा वर्धक रसायनहरु बिरुवामा छर्ने।
- सम्भव भएमा कम्तिमा पनि फुल खेल्ने फललाग्ने वेलामा फाल्गुन देखि जेठ सम्म दुई पटक सिंचाई दिनु पर्छ। सिंचाईको ब्यवस्था नभएको अवस्थामा बोटको वरिपरि छापो दिई माटोको चिस्यान जोगाउनु पर्छ।
- समयमै फलको औंसा, पतेरो लगायतका कीराहरुको ब्यवस्थापन गर्ने।
- सिफारिस अनुसार मलजल र खाद्यतत्व प्रयोग गर्ने।
अन्तमा, माथि उल्लेखित ब्यवस्थापनका विधिहरु समयमा गर्न सकियो भने फल झर्ने समस्यामा कमी आउँदछ र उत्पादन बढदछ।
लेखक प्रधानमन्त्री कषि आधुनिकीकरण परियोजना कार्यालय एकाई नवलपुरकी नायव प्राविधिक सहायक हुन ।
प्रकाशित : २०८२ असार २७ गते १२:४८
Facebook Comment