आईपीएल: बेंगलुरु र पञ्जाब उपाधि भिडन्तमा आमनेसामने हुने

NAWALPUR TIMES
प्रकाशित : २०८२ जेठ २० गते ९:३२
आईपीएल: बेंगलुरु र पञ्जाब उपाधि भिडन्तमा आमनेसामने हुने

कावासोती । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यसपटक नयाँ च्याम्पियन पाउने पक्का भएको छ । फाइनलमा दुई उपाधिविहीन टोली रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स आमनेसामने हुने पक्का भएको हो ।

आइतबार अबेर राति अहमदाबादमा सम्पन्न क्वालिफायर २ मा पञ्जाबले मुम्बई इण्डियन्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । बेंगलुरुले भने गत बिहीबार पञ्जाबलाई क्वालिफायर १ मा हराएर सोझै फाइनलमा पुगिसकेको छ । फाइनल खेल भोलि मंगलबार अहमदाबादमै हुनेछ ।

बेंगलुरु चौथोपटक फाइनल खेल्दैछ । यसअघि उनीहरू २००९, २०११ र २०१६ मा उपविजेता बनेका थिए। पञ्जाब भने दोस्रोपटक फाइनल पुगेको हो। पहिलोपटक २०१४ मा फाइनल पुग्दा फाइनलमा कोलकातासँग पराजित भएको थियो ।

यता पञ्जाबका कप्तान श्रेयस अय्यरले तीन फरक टिमलाई आईपीएलको फाइनलमा पुर्‍याउने कीर्तिमान पनि बनाएका छन् । उनले सन् २०२० मा दिल्ली क्यापिटल्स, २०२४ मा कोलकाता नाइट राइडर्स (उपाधि विजेता) र अब २०२५ मा पञ्जाब किंग्सलाई फाइनल पुर्‍याएका हुन्।लिग चरणमा दुवै टिमले १४ खेलमध्ये ९ जित निकालेका थिए भने ४ हार बेहोर्दा १ खेल वर्षाका कारण नतिजाविहीन भयो ।

प्रकाशित : २०८२ जेठ २० गते ९:३२

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI